कुशें औंसीमा जेष्ठ शेयर सदस्यहरुलाई पोषण वितरण
भदौ ८, २०८२, आइतबार | राति ०७:१५ बजे | 190
सागर गुरागाईं
मध्यपुर थिमि – मध्यपुर थिमि नगरपालिका वडा नं. ४ शंखधर चोक स्थित सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जेष्ठ पुरुष शेयर सदस्यहरुलाई सगुन तथा पोषण वितरण गरेको छ । सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा मध्यपुर थिमि नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पोषण वितरण कार्यक्रमको उद्घाटन गर्दै समाजका मार्गदर्शक पुरुष जेष्ठ नागरिकहरुको सम्मान गर्नु हामीसबैको नैतिक कर्तव्य भएको बताउनु भयो । नगरप्रमुख श्रेष्ठले विद्यालय तहमा विद्यार्थीहरुलाई नैतिक एवं व्यवहारिक ज्ञान दिनु जरुरी रहेको बताउदै मध्यपुर थिमि नगरपालिकाले शिक्षा, स्वास्थ्य र रोजगारीका क्षेत्रमा गरिरहेको कार्यको जानकारी दिनुभयो । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पूर्व नगरउपप्रमुख एवं चाणक्य कलेजका अध्यक्ष चन्दन कृष्ण श्रेष्ठले जन्म एवं कर्मदाता मातापिता र समाजका जेष्ठ नागरिकको सम्मान र हेरचाह परिवार कै सदस्यबाट हुनुपर्नेमा जोड दिदैं व्यवहारिक संस्कारयुक्त शिक्षाको महत्व माथि प्रकाश पार्नुभयो । कार्यक्रमका अतिथि श्रेष्ठले बृद्ध मातापिताको हेरचाह र आदरसम्मान गर्ने सन्तानलाई पुरस्कार र बेवास्ता गर्ने सन्तानलाई दण्डजरिवानाको व्यवस्था गर्ने कानुन बनाउन स्थानीय सरकारसँग आग्रह गर्नुभयो । सिद्धार्थ साकोसका अध्यक्ष राजेश श्रेष्ठले संस्थाको ३ करोड ७८ लाख रुपैंया शेयरपुँजी र १६ सय बढी सेयर सदस्य पुगेको जानकारी दिदैं बुवाको र आमाको मुख हेर्ने दिनमा विगत वर्षहरुदेखि नै सगुन एवं पोषण वितरण कार्यक्रम गरेर सामाजिक उत्तरदायित्व बहन गर्ने प्रयास गरेको जानकारी दिनुभयो । संस्थाका सचिव सोहन कायस्थले सिद्धार्थ भवनको सभाहलमा आयोजित कार्यक्रम संचालन गर्नुभएको थियो । संस्थाका कोषाध्यक्ष हिरामान शंखदेवले हालसम्मको वित्तिय विवरणसहित स्वागत मन्तव्य व्यक्त गर्नूभएको उक्त कार्यक्रममा ६५ वर्ष माथिका पुरुष जेष्ठ सदस्यहरुलाई सगुन सहित पोषण वितरण गरिएको थियो ।
