नीलबाराही विवादः अभियन्ता भनिनेहरु अनावश्वक नाम कमाउने स्वार्थ बोकेका व्यक्ति


भदौ ६, २०८२, शुक्रबार | साँझ ०६:२२ बजे | 3625


नीलबाराही विवादः अभियन्ता भनिनेहरु अनावश्वक नाम कमाउने स्वार्थ बोकेका व्यक्ति

भक्तपुर । विगत केही समय अगाडिदेखि नीलवाराही संरक्षणको नाममा सामाजिक अभियानमा जोडिएका अनावश्यक नाम कमाउने स्वार्थ बोकेका व्यक्तिहरुले चाँगुनारायण नगरपालिका क्षेत्रको माटो लैजाने सन्दर्भमा नगरपालिकासँग भएको सरसल्लाह र छलफलका विषयलाई वेवास्ता गरी समुदायलाई नै गुमराहमा राखी लक्ष्यहीन र आधारहीन कुरा सामाजिक सञ्जालमा सम्प्रेषण गरेको भक्तपुरको चाँंगुनारायण नगरपालिकाले जनाएको छ । नगर प्रमुख जीवन खत्रीले शुक्रबार एक अपिल सार्वजनिक गर्दैै यस विषयमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
हार्दिक अपिल !
सुन्दर संस्कृतिको मनोहरस्थल नीलबाराही मन्दिर हामी सबैको आस्था तथा विश्वासको धरोहर हो । यस मन्दिरलाई संरक्षण र सम्बर्धन गर्नु हामी सबैको मूल कर्तव्य हो । चाँगुनारायण नगरपालिका भ्रमण वर्ष, २०८२ लाई भव्यताका साथ मनाउन तथा भ्रमण वर्षलाई सफलीभूत बनाउनका लागि यो नगरपालिका मात्र नभई भक्तपुर जिल्लाका अन्य तीन वटै नगरपालिकाहरुले संयुक्त प्रयास गर्दै अहोरात्र खटिई रहेका छौं । 
सनातनदेखि नै प्रसिद्ध धार्मिक स्थलको रुपमा नीलवाराही मन्दिरको अस्तित्व जीवित रहेको र यसको सम्वर्धन र प्रवर्धनका लागि हामी कुनै पनि कसर नराखी अघि बढिरहेको अवगत नै छ । यो हाम्रो पुरातात्विक धार्मिक मान्यता बोकेको सुन्दर स्थल हो ।
विगत केही समय अगाडिदेखि नीलवाराही संरक्षणको नाममा सामाजिक अभियानमा जोडिएका अनावश्यक नाम कमाउने स्वार्थ बोकेका व्यक्तिहरुले चाँगुनारायण नगरपालिका क्षेत्रको माटो लैजाने सन्दर्भमा नगरपालिकासँग भएको सरसल्लाह र छलफलका विषयलाई वेवास्ता गरी समुदायलाई नै गुमराहमा राखी लक्ष्यहीन र आधारहीन कुरा सामाजिक सञ्जालमा सम्प्रेषण गरेकोमा यस नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।
सभ्य र सुसंस्कृत समाजको निर्माण गर्नु हामी सबैको उत्तरदायित्व हो भने कुनै पनि धार्मिक धरोहरमाथि गरिएको लापरवाहीपूर्ण, मानहानीपूर्ण व्यवहार हामीलाई स्वीकार्य छैन । नेपाल सरकारले दिएको निर्देशन पालना गर्दै अनधिकृतरुपमा प्रयोग गरिरहेको अवस्थामा स्काईभेटर (जेसिवी) लाई नेपाल प्रहरीले नियन्त्रणमा लिई नगरपालिकामा बुझाएको छ । साथै गैरकानुनी काम गरेकोले स्काईभेटर धनीसँग कानून बमोजिम तोकिएको विगो असुल उपर गर्नु नगरपालिकाको दायित्व हो । यस सम्वन्धमा नगरपालिकाको कुनै पनि कु–भावना नरहेको वेहोरा स्पष्ट पार्दछौं । सामाजिक रुपमा यस विषयलाई लिएर एकताको भावनालाई फुटाउने तथा धार्मिक आस्था माथि प्रहार गर्ने किसिमका कुनै भ्रामक समाचार आइन्दा सम्प्रेषण नगर्न तथा नगरको शान्ति सुव्यवस्थामा खलल नपुरÞ्याउन हामी सवैसंग हार्दिक अपिल गर्दछौं ।
(जीवन खत्री) 
नगर प्रमुख
चाँंगुनारायण नगरपालिका, भक्तपुर । 
 

Comments