श्रमिक साकोसमा ज्येष्ठ सदस्य सम्मान
भदौ ६, २०८२, शुक्रबार | दिउँसो ०३:३३ बजे | 160
भक्तपुर । कुशे औंशीको संघारमा श्रमिक वचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ज्येष्ठ सदस्य एवं सुभेच्छुक भेटघाट तथा भक्तपुर काण्डको भत्र्सना कार्यक्रम शुक्रबार सम्पन्न भयो । नेमकिपा भक्तपुर नगर समितिका पूर्व अध्यक्ष रविन्द्र खर्बुजाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा ज्येष्ठ सदस्यहरुको सम्मानमा पौष्टिक आहार वितरण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि खर्बुजाले श्रमिक सहकारीले अन्य बचतमा भन्दा ज्येष्ठ सदस्य वचतमा दोब्बर व्याज कायम गरेको प्रशंसनिय छ भन्नुभयो । उहाँले यो कार्यक्रममा १०३ वर्षका व्यक्तिसँग पहिलो पटक भेट्न पाएकोमा खुशी व्यक्त गर्दै २०४५ सालमा भएको भक्तपुर काण्ड राज्यस्तरको कुत्सीत षडयन्त्र भएको प्रष्ट पार्नुभयो । तत्कालीन नेमकिसंगठनको अगुवाईमा भएको किसान आन्दोलन, भ्रष्टाचारविरोधी आन्दोलन, भियतनाममाथिको अमेरिकी आक्रमणको विरोध, भारतीय विस्तारवादको विरोधलगायत कारण पार्टीलाई समूल नश्ट पार्न षडयन्त्र भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेमकिपा सुर्यविनायक नगर समितिका अध्यक्ष सुर्यभक्त त्वातीले सन् १९३३ मा जर्मन संसदमा ९ स्थानमा आगलागी गराई त्यहाँको कम्युनिष्ट पार्टीमाथि षडयन्त्र गरेको स्मरण गर्दै भक्तपुर काण्ड तत्कालीन व्यवस्थाको षडयन्त्र हो भन्नुभयो ।
उहाँले समाजवादी व्यवस्थामा ज्येष्ठ नागरिकरुका लागि आदर निकेतनको व्यवस्था हुने बताउनु हुँदै श्रमिक साकोसले प्रत्येक वर्ष ज्येष्ठ सदस्यहरुलाई विभिन्न ठाउँमा तिर्थयात्रा गराउने तथा सम्मान गर्नु प्रशंसनीय छ भन्नुभयो ।।
कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार लक्ष्मीभक्त कवांले २०४५ सालमा जेलमा भोगेका यातनाबारे सुनाउनुभयो ।
श्रमिक सहकारी संस्था ज्येष्ठ कल्याण उपसमितिका संयोजक विष्णुप्रसाद त्वायनाको अध्यक्षतामा भएको सभामा संस्थाका अध्यक्ष कृष्ण नारायण मचामसी, प्रबन्धक दिनेश ग्वाछा, श्रीप्रसाद तुईतुई, रामगोपाल ब्यांजुलगायतले संस्थाको विभिन्न गतिविधिबारे बोल्नुभएको थियो ।
.jpg)