नीलबाराही संरक्षणको प्रक्रिया ढिलाई गर्नु हुँदैन : उपप्रमुख श्रेष्ठ
भदौ ५, २०८२, बिहीबार | साँझ ०६:१७ बजे | 350
भक्तपुर, भदौ ५ । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले नीलबाराही संरक्षणको प्रक्रियामा ढिलाइ गर्न नहुने बताएका छन्।
बिहीबार नेपाल प्रेस सोसाइटीले सूर्यविनायकमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नीलबाराही संरक्षण केवल आस्था र विश्वासको विषय मात्र नभई नेतृत्वको दायित्व र जिम्मेवारी पनि भएको उल्लेख गरे।
उनले भने, “सुरुमा डीपिआर बनाउन माटो परीक्षण फिल्डमै गर्नुपर्ने भएकाले केही समय लागेको हो। तर, अब यो वा त्यो कारण देखाएर काम रोकिने स्थिति आउँदा बजेट कार्यान्वयनमा समस्या पर्न सक्छ। दश महिना मात्रै बाँकी छ, ढिलाइ भए यो बजेट फिर्ता हुने हो कि भन्ने चिन्ता छ।”
श्रेष्ठले संरक्षण कार्यलाई अब कुनै बहानामा रोक्न नहुने भन्दै योजनालाई समयमा सम्पन्न गर्न सबै पक्षसँग सहयोगको आग्रह गरे।
कार्यक्रमको सभापतित्व नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।
