सकियो स्काउट मास्टर भेला 


साउन ३१, २०८२, शनिबार | राति ०७:२९ बजे | 335


सकियो स्काउट मास्टर भेला 

भक्तपुर, ३१ साउन
नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय भक्तपुर नगरपालिका, भक्तपुरले शनिवार स्काउट मास्टर भेला आयोजना गरेको छ । 
भक्तपुरको स्काउटिङ्ग गतिविधिमा एकरुपता ल्याउने र स्काउटिङ्गलाई अझ क्रियाशिल बनाउने हेतुले गरिएको भेलामा विभिन्न विद्यालयमा कार्यरत स्काउट मास्टरहरुको सहभागिता रहेको थियो । 
सो भेलालाई सम्वोधन गर्दै स्थानीय स्काउट प्रमुख एवम् भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले स्काउटलाई स्थानीय गतिविधिमा थप परिचालन गरी समाजको अभिन्न अंग बनाउनुपर्ने आवश्यकता बोध गर्नुभयो । स्काउटलाई अनुशासित, कर्तव्यनिष्ठ बनाउनुका साथै स्थानीय विभिन्न पर्व मेला, जात्रा संस्कृतिमा पनि संलग्न गराउन सकेको खण्डमा अझ राम्रो हुने उहाँले स्पष्ट पार्नुभयो । भक्तपुर नगरपालिकाले स्काउटका गतिविधिलाई अगाडि बढाउने उद्देश्यले स्काउटलाई नगरभित्रका सम्पूर्ण विद्यालयहरुमा सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 
नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव तथा स्थानीय सल्लाहकार रामगोपाल कर्माचार्यले प्रत्येक स्काउटलाई समय तालिका बनाइ दैनिक क्रियाकलाप गराइ अहिलेको नयाँ प्रविधि मैत्री पनि बनाउँदै जानुपर्ने धारणा राख्नुभयो । स्काउटले आजका आवश्यक जनशक्तिको विकासमा टेवा पु¥याउने बताउनु भयो । स्काउट शिक्षाले समाजमा वढ्दै गएको उत्शृखल कार्यलाई केहि रुपमा कम गराउने बताउँदै अभिभावक वर्गले आजका बालबालिकालाई स्काउटमा अनिवार्य संलग्न गराउनु पर्नेमा जोड दिनुभयो । 
स्थानीय प्रमुख स्काउट आयुक्त बालकृष्ण बनमालाले प्रत्येक विद्यालयमा स्काउटिङ्ग कक्षा सञ्चालन गर्ने पहल भइरहेको र केही विद्यालयहरुमा विद्यार्थी संख्याको कमी भएका कारण अप्ठेरो भइरहेको बताउनुभयो । उहाँले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले आग्रह गरे लगत्तै स्काउट कक्षा सञ्चालन गर्न सकिने स्पष्ट पार्नुभयो । स्काउट कक्षामा अभिभावक, विद्यालय परिवारले थोरै मात्र ध्यान दिएको खण्डमा बालबालिकालाई जीवन उपयोगी शिक्षा पाउने बताउनु भयो । अग्रज स्काउटहरुको सुझाव अमुल्य रहेको र आजको लागि स्काउटिङ्ग गतिविधिलाई अगाडि बताउनु भक्तपुर नगरपालिकाले गरेको पहललाई आभार व्यक्त गर्दै निरन्तर अघि कार्यसमितिका पदाधिकारीहरु हरदम तत्पर रहेको बताउनु भयो । 
भेलामा स्काउट मास्टरहरुलाई स्काउट कक्षा सञ्चालन गर्न सहज पार्नका लागि राष्ट्रिय प्रशिक्षक पवन कुमार बल्ल र सुचिता सैंजूले पुनर्ताजगी प्रशिक्षण दिनु भएको थियो । सदस्यता वृद्धि आयुक्त पूर्ण दुवालले स्काउटिङ्ग गतिविधिलाई एकरुप बनाउन र स्काउटको संख्या वृद्धि गर्नका लागि चालिनुपर्ने विविध विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा स्काउट मास्टर निरञ्जन बेकोजूले अनलाइन स्काउट दर्ता तथा नविकरणका लागि सहजीकरण गर्नुभएको थियो । कार्यक्रम स्थानीय सामुदायिक आयुक्त पुष्पा प्रजापतिले सञ्चालन गरिएको थियो । 

Comments