खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ
साउन २०, २०८२, मङ्गलबार | दिउँसो ०२:५६ बजे | 220
भक्तपुरको चाँगुनारायण नगरपालिका–७, खरिपाटीस्थित एक रिसोर्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सोमबार दिउँसो बाँसबारी रिसोर्टबाट मध्यपुर थिमी नगरपालिका–५ बस्ने ३७ वर्षीय बाबुराजा प्रजापतीसहित चार जनालाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट नगद १ लाख ५ हजार ९ सय ४० रुपैयाँ बरामद गरेको छ। जुवा खेलाउन प्रयोग गरिएको मोबाइल आकारको विशेष डिजिटल डिभाइस १ थान र सोमा प्रयोग हुने १२ बुक डिजिटल तास पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
साथै, उनीहरूले प्रयोग गरिरहेका ६ थान मोबाइल, एउटा मोटरसाइकल र एउटा स्कुटर पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
