पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा प्रवेश अस्वीकार्य : एमाले प्रचार प्रमुख गौतम
साउन १०, २०८२, शनिबार | दिउँसो १२:०० बजे | 105
भक्तपुर — नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनः प्रवेश अस्वीकार्य हुने स्पष्ट पारेका छन्। शनिबार नेपाल प्रेस सोसाइटीले भक्तपुरमा गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले भण्डारीको एमाले सदस्यता र राजनीतिक पुनः सक्रियता ‘गौण विषय’ भएको दाबी गरे।
गौतमले भने, “हामी एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीको हैसियतको कुरा गरिरहेका छैनौं। उहाँ राष्ट्रपतिको पदमा निर्वाचित भएपछि स्वाभाविक रूपमा पार्टी सदस्यता नवीकरण नगरिएको हो। त्यसैले अहिलेको विवाद केवल प्रचारको विषय हो।”
उनका अनुसार एमालेको केन्द्रिय कमिटी बैठकले ७० वर्षे उमेर सीमा, कार्यकारी पदमा दुई कार्यकालको सीमा र पूर्वराष्ट्रपतिको सक्रियता निषेध गर्ने गरी तीन विषयमा विधिवत छलफलपछि निर्णय गरेको हो। “केपी ओलीले कसैलाई बोल्न नदिएको भन्ने आरोपहरू निराधार छन्,” गौतमले भने, “बैठक सर्वसहमतिको वातावरणमा सम्पन्न भएको हो।”
गौतमले पूर्वराष्ट्रपति भण्डारीले सार्वजनिकरूपमा दिएको चुनौतीलाई पार्टी भित्रको गम्भीर संकटको रुपमा नलिइने संकेत दिए। तर भण्डारीको पत्रकार सम्मेलनपछि एमालेको आन्तरिक राजनीति भने थप जटिल बन्दै गएको छ।
कार्यक्रमको सभापतित्व नेपाल प्रेस सोसाइटीका अध्यक्ष उपेन्द्र केसीले गरेका थिए।
