विपदमा खट्न तयारी अवस्थामा रहन निर्देशन
साउन ८, २०८२, बिहीबार | राति ०८:३३ बजे | 155
भक्तपुर । जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ । जिल्लामा मनसुनजन्य विपद् डुवान, पहिरो, बाढी, भूकम्प, आगलागी, महामारी, आँधीबेहरी र हवाहुरी, चट्यांङ जस्ता क्षेत्र विपदको जोखिमयुक्त क्षेत्र भएकाले भइपरी आउने विपद्को समयमा तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।
जिल्लाका चारवटै स्थानीय तहहरू भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि, राजनितिक दल र सुरक्षाकर्मी तथा विभिन्न सरकारी कार्यालयलाई विपद् व्यवस्थापनका लागि २४ घण्टा तयारी अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्देशन दिनुभएको हो । यस्तै विपद्को समयमा धनजनको क्षति हुनै नदिन र माहामारीजन्य रोगहरू फैलिन नदिन सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायले जोड दिए । विपदको समयमा खेती वाली, अन्न तथा भण्डारण गरिएको बीउ नस्ट भई अर्को बाली उत्पादनमा बीउको अभाव, लगानीका लागि पूँजीको अभाव भई खाद्य संकट हुन सक्ने बताए । भुमिहीन, साना कृषक र विपन्न समुदाय बढी प्रभावित हुन सक्ने, उर्वरा जमिन कटानीबाट अनुत्पादक हुन सक्ने, पशु, चौपाया र ग्रामीण जिविकोपार्जनमा नोक्सानी हुन सक्ने बाढीबाट शहरी तथा ग्रामीण पुर्वाधार संरचना भत्कीन गई तत्कालिन सेवाबाट समुदाय बञ्चित हुन सक्ने,आवातजावत अवरूद्ध हुने, सञ्चार, पुल, सिंचाई र खानेपानी सरसफाई आदी पूर्वाधारका अवस्था विग्रन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन समेत दिइएको छ ।
