नीलबाराहीमा जनश्रमदानः मध्यपुर थिमि नगरपालिकालाई टाउको दुखाइको विषय बन्दै 


साउन ३, २०८२, शनिबार | साँझ ०६:१७ बजे | 7055


नीलबाराहीमा जनश्रमदानः मध्यपुर थिमि नगरपालिकालाई टाउको दुखाइको विषय बन्दै 

मध्यपुर थिमि । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं ९ स्थित ऐतिहासिक नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका लागि भइरहेको उर्लंदो जनश्रमदान मध्यपुर थिमि नगरपालिकाका लागि टाउको दुखाईको विषय बनेको छ । श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यले आफूहरुको अभियानलाई विफल पार्ने योजनामा नगरपालिका लागिपरेको दावी गरे । आफूहरु अभियानकाबारेमा जानकारी दिन जुन टोलमा जाने हुन्छ, त्यही टोलमा राती नगरपालिकाका प्रतिनिधि पुगेर नीलबाराही बचाउनकै लागि नगरपालिकाले करोडौ बजेट ल्याइसकेको भएर अभियानमा आर्थिक लगायतका सहयोग गर्र्नुपर्दैन भनेर नगरपालिकाका प्रतिनिधिहरुले अफबाह फैलाउने गरेको उनले दावी गरे । अभियानमा साथ दिन अहिलेसम्म नगरपालिकाबाट सरोकारवाला नगरपािलका मध्यपुर थिमि नगरपालिका वडा नं ९ का वडा अध्यक्षसम्म नआएको उनले जनाए । उनका दावी अनुसार अभियान असफल पार्न जिल्ला कांग्रस पार्टी नै लागिपरेको छ । अहिलेसम्म औपचारिक रुपमा नेकपा एमाले, नेमकिपाले जनाएको छ, उनले भने । 
यसैवीच अभियानमा हालसम्म एक करोड वढी सहयोग रकम संकलन भएको जनाइएको छ । यो रकम दैनिक वढिरहेकोसमेत श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिले जनाएको छ ।
काठमाडौं उपत्यकाका चार बाराहीमध्येको एक नीलबाराही क्षेत्र सरोकारवाला मध्यपुर थिमि नगरपालिकाले आठ दस वर्षसम्म पनि वास्ता नगरेको भन्दै स्थानीय युवाको अगुवाईमा दस हप्ता अघिबाट नीलबाराही क्षेत्र संरक्षण अभियान थालेको थियो । त्यस अन्तर्गत शनिबार दसौं हप्ताको श्रमदान भएको थियो । श्रमदानमा हजारौं मानिसहरुको सहभागिता थियो । 
श्री नीलबाराही क्षेत्र संरक्षण सरोकार समितिका सचिव अनिश वैद्यले सुरुका हप्तामा केही सयको संख्यामा मात्रै सिमित भएको जनश्रमदान अहिलेसम्म पुग्दा दिनमा तीन चार हजारसम्म पुगेको जानकारी गराए । अहिले दैनिक रुपमा नभई हप्तामा तीन दिन सोमबार, बुधबार र शनिबार श्रमदान हुने गरेको उनले जनाए । 
सुरुमा स्थानीयले अभियानका लागि युवाहरुले छलफल चलाएका थिए । त्यसपछि अभियानको रुपमा श्रमदान थालियो । त्यसमा जनसहभागिता वढ्दै गयो । जनसहभागितासँंगै आर्थिक संकलन पनि वढ्दै गयो । अहिले आफैं खाजा बोकेर जनश्रमदान गर्नेहरुको भीड नै छ । यद्यपि आर्थिक संकलन हुन थालेपछि पछिल्लो समय समितिले नै खाजा खानाको वन्दोवस्त मिलाउँदै आएको छ । 
शनिबार पनि जनश्रमदान गर्न आउनेहरुलाई एकएक लिटरको बोटलको पानी खुवाउन, खाजा खुवाउन, काक्रो, गाजर, विस्कुट, चकलेट सहयोगका रुपमा खुवाउन आउनेहरुको पनि भीड देखिएको थियो । कोही जनश्रमदानमा, भीड भएकोले कोही भीडलाई व्यवस्थित गर्न माइकिंगमा त कोही ठाउँंठाउँंमा हेल्प डेस्क राखेर भीडलाई व्यवस्थित गर्न व्यस्त देखिन्थे ।  
स्थानीय बासिन्दा, स्वयंसेवक, धार्मिक श्रद्धालु र सरोकारवाला नागरिकहरूको उल्लेखनीय सहभागितामा श्रमदान गर्नेहरु ढुङ्गा बिछ्याउने, पानी निकास सुधार गर्ने, पहिरो नियन्त्रणका लागि आवश्यक तटबन्ध निर्माणको काममा जुटिरहेका थिए । कोही भीरमा जरा धेरै फैलिने घाँस रोप्नमा अभ्यस्त थिए । बोराबोरामा माटो भरेर ठाउँंठाउँंमा उनीहरु पहिरो नियन्त्रणमा जुटिरहेका थिए । 
‘श्रमदानमार्फत भइरहेको पहिरो नियन्त्रण प्रयासले देखाएको सामाजिक ऐक्यबद्धता प्रेरणादायी छ । तर स्थानीय सरकार यो प्रयासमा पछि परेको छ, भक्तपुरदेखि सयौंको समूहमा श्रमदानमा जुटन आएको बताउने एकजना शिक्षक सत्यराम कासिछ्वाले भने, हामी मात्रै होइन, हामी जस्तै समूह समूहमा आइ श्रमदान गर्न आउनेहरु आज मात्रै सयौं समूह छन् । स्थानीय सरकार र विभिन्न निकायबाट नीलबाराही क्षेत्रका लागि विनियोजित बजेट र योजना कागजमा सीमित भएकोले असारको भेलसँगै बग्ने चिन्ता भएकोले श्रमदानमा जुटन आएको उनले बताए । 
नीलबाराही क्षेत्र पाँंच सय भन्दा वढी रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँंको मन्दिर थुम्कोमा रहेको छ । मन्दिरको चारैतिर पहिरो जाने खतरा उतिकै छ । त्यसलाई यसअघि प्लाष्टिकले छोपेर जगाउने प्रयास मात्रै थियो । 
नीलबाराही एक धार्मिकस्थल मात्र होइन, यो ऐतिहासिक सम्पदा स्थलसमेत हो । यसले मध्यपुर थिमिको मात्रै होइन, सम्पूर्ण काठमाडौ उपत्यकाबासी नेवार समुदायको आस्थाको पहिचान बोकेको छ । नीलबाराही मन्दिर क्षेत्र धार्मिक, सांस्कृतिक र पर्यावरणीय हिसाबले संवेदनशील मानिन्छ तर पनि पहिरोको जोखिममा छ । 
लगातारको वर्षासँगै पहिरोले मन्दिर क्षेत्रलाई जोगाउन थप चुनौती थपिएपछि स्वयमसेवीहरु जागेका हुन् । त्यही जागरुकताले नीलबाराही बचाउ अभियानमा लागेका अभियन्ताहरूको अगुवाइमा दसौ हप्तासम्म पहिरो रोकथामको लागि जनश्रमदानसहितको कार्य जारी छ । यद्यपि मध्यपुर थिमि नगरपालिकाले करौडौ रकमबाट काम हुने जनाएको छ । नगरपालिकाले योजना अगाडि सारिरहेको बताइरहँदा आठ दस वर्ष कुर्दा पनि केही नभएपछि स्थानीयले अभियान नै थालेका थिए । 

Comments