कौशलटारस्थित कुशल भैरव मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न
साउन ३, २०८२, शनिबार | दिउँसो ०२:४९ बजे | 280
भक्तपुर, २०८२ साउन ३ – हिन्दु जनजागरण अभियानको आयोजनामा आज भक्तपुरको कौशलटारस्थित कुशल भैरव मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ। बिहान ७ बजे सुरु भएको कार्यक्रममा स्थानीय युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको क्रममा हिन्दु जनजागरण अभियानको औपचारिक गठन समेत गरिएको छ। श्याम बस्नेतको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको हो। समितिमा विभिन्न युवा प्रतिनिधिहरू समावेश गरिएका छन्, जसले सामाजिक र धार्मिक चेतनाका गतिविधिहरू सञ्चालन गर्ने बताइएको छ। सफाई कार्यक्रममा सहभागी युवाहरुले हरेक शनिवार सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आयोजकका अनुसार यस किसिमका कार्यक्रमले धार्मिक स्थलहरूको संरक्षण र सामाजिक उत्तरदायित्वप्रति युवाहरूलाई प्रेरित गर्ने लक्ष्य लिएको छ। स्थानीय बासिन्दाले पनि कार्यक्रमको प्रशंसा गर्दै यस्ता पहलले समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास व्यक्त गरेका छन्।
