चाँगुनारायणका ज्येष्ठ नागरिकहरुबीच भेटघाट
असार ३०, २०८२, सोमबार | राति ०८:३३ बजे | 110
३० असार
दुवाकोट
चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाकोको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित ज्येष्ठ नागरिकहरू लक्षित स्वास्थ्य बुढ्यौलीका लागि सहारा परियोजना अन्तर्गत आज चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा रहेको ज्येष्ठ नागरिक मिलन चौतारीको अगुवाइमा नगरपालिका भित्रका सबै जेष्ठ नागरिक मिलन चौतारीका पदाधिकारीहरू र सदस्यहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ ।
चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न ज्येष्ठ नागरिक भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति श्री परशुराम पाण्डे , समाजसेवी तथा ज्येष्ठ नागरिकको क्षेत्रमा लामो समय योगदान दिनुभएका कृष्णमुरारी गौतम (चट्यांग मास्टर), वडा नम्बर १ का वडा अध्यक्ष श्री सिजन कार्की, वडा नम्बर २ का वडा अध्यक्ष श्री सोमप्रसाद प्रधान, कार्यपालिका सदस्य पुजा वर्देवा, वडा सदस्यहरु मुना गुरुङ्ग, श्रीकृष्ण श्रेष्ठ, रेडक्रस जिल्ला सदस्य सचिला खड्का, १ नं वडाको ज्येष्ठ नागरिक मिलन चौतारीका पूर्व अध्यक्ष शालिकराम न्यौपाने, चाँगुनारायण नगरपालिका विपद व्यवस्थापन इकाई प्रमुख एवं सहारा परियोजना संयोजक दिनेश थापा, नेरेसो भक्तपुर जिल्ला शाखा प्रमुख एवं सहारा परियोजना संयोजक उमा थापा लगायत ज्येष्ठ नागरिक समितिका पदाधिकारी तथा सदस्यहरु, परियोजनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै नगरप्रमुख जीबन खत्रीले चांगुनारायण नगरबासी ज्येष्ठ नागरीकहरुले स्वस्थ्य, सक्रिय, सुरक्षित र मर्यादीत जीवनयापन गर्न सकुन् भन्ने उद्धेशयका साथ नगरपालिकाले सामाजिक बिकास शाखा र सहारा परियोजना मार्फत गतिविधि तथा कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । उहाँले रेडक्रसंगको सहकार्यमा स्वीस रेडक्रसको सहयोगमा २०८१ देखि २०८३ सम्म परियोजना संचालन भइरहेको जानकारी दिनुहुदै अहिलेको समयमा समुदायमा हामी भौतिक रुपमा संगै र नजिक बसे पनि भावनात्मक एकताको कमीका कारण टाढा भइरहेकोले ज्येष्ठ नागरिक मिलन चौतारी मार्फत संचालन भएका गतिविधि र कार्यक्रमले एक आपसमा भातृत्व, भाइचारा र आफ्नोपनाको बिकासमा टेवा पु¥याएको बताउनुभयो ।
नगर प्रमुख खत्रीले ज्येष्ठ नागरिकहरुले पाएको अनुभव र ज्ञानले समाजलाई अगाडी बढाउने भएकोले नकरात्मक भावना हटाएर सकारात्मक कुरा लाई अगाडी बढाउने काममा सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले ज्येष्ठ नागरिकहरुलाई समुदायमा अभिभावकत्व ग्रहण गर्न अनुरोध गर्दै युवाहरुलाई आवश्यक दिशानिर्देश र सल्लाह सुझाब दिन अनुरोध गर्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति परशुराम पाण्डेले चाँगुनारायण नगरपालिका संगको सहकार्य र समन्वयमा प्रभावकारी रुपमा सहारा कार्यक्रम सञ्चालन भएकोले सुर्य विनायक नगरपालिकामा पनि सहारा परियोजना सञ्चालन हुन गइरहेको जानकारी दिनुभयो । उहाँले स्थानीय तहसंग समन्वय, सहकार्य र साझेदारी गर्दै नेपाल रेडक्रसले मानवीय सेवा र सामुदायिक विकासका कार्यहरु गर्दै आएको बताउनुभयो ।
वडा नं १ का वडा अध्यक्ष सिजन कार्कीले सहारा परियोजना संचालन पश्चात् ज्येष्ठ नागरिकहरुमा क्रियाशीलता बढेको र खुशीको संचार भएकोले यसलाई निरन्तरता दिनको लागि नगरपालिका र रेडक्रसलाई अनुरोध गर्नुभयो । साथै उहाँले वडा कार्यालयले पनि ज्येष्ठ नागरिकहरुका लागि वार्षिक रुपमा बजेट विनियोजन गर्दै आएको बताउनुभयो ।
वडा नं २ का वडा अध्यक्ष तथा भक्तपुर जिल्ला रेडक्रसका सदस्य सोम प्रसाद प्रधानले ज्येष्ठ नागरीकहरु बाट समुदायले ज्ञान र शिप सिक्नुपर्ने बताउनुहुदै सामाजिक कार्यमा ज्येष्ठ नागरिकको सहभागिताको लागि आभार ब्यक्त गर्नुभयो । उहाँले ज्येष्ठ नागरिक मिलन चौतारीहरुको उपसमितिहरु गठन गरी वडाका सबै ज्येष्ठ नागकिहरुलाई समेट्ने कार्यमा नगरपालिकाले तयारी गरेको बताउनुभयो ।
एजिङ्ग नेपालका पूर्व अध्यक्ष एवं ज्येष्ठ नागरिक कृष्ण मुरारी गौतमले ज्येष्ठ नागरीकहरु ज्ञानका खानी भएकाले समाजका सकारात्मक कुरालाई पुस्तान्तरणको रुपमा नयाँ पुस्तालाई सिकाउदै जानुपर्ने बताउनुभयो । १ नं वडाको ज्येष्ठ नागरिक मिलन चौतारीको स्थापनाको समय स्मरण गर्नुहुदै गौतमले १ नं वडा ज्येष्ठ नागरिक मिलन चौतारीले नमुनाको काम गरिेहेकोमा प्रशंसा गर्नुभयो ।
चाँगुनारायण नगरपालिकाले निशुल्क रुपमा अक्सिजन र रगत उपलब्ध, बाद्य बादन र कार्यलय सामग्री सहयोग, सहयोगी सामाग्री बितरण, ज्येष्ठ नागरिकहरुलाई धार्मिक भ्रमण, निःशुल्क स्वास्थ्य शिबिर संचालन, सामुदायिक र सार्बजनिक भवनको बिश्लेषण, शीपमुलक तालिम संचालन, मनोसामाजिक प्राथमिक उपचार प्रशिक्षण, स्वास्थ्यक र्मीहरुलाई अभिमुखिकरण, पाठ्यक्रममा ज्येष्ठ नागरीकका बिषय समावेश, अन्तरपुस्ता संबाद कार्यक्रम, सामाजिक सुरक्षा भत्ता लगायतका कामहरु गरिरहेकोछ ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका भित्रका ९ वटै ज्येष्ठ नागरिक मिलन चौतारी का प्रतिनिधिज्यूहरुले आफ्नो मिलन चौतारीले भए गरेका गतिविधिहरू र आगामी आर्थिक वर्ष २०८२÷२०८३ को मिलन चौतारीको योजनाहरु बारेमा प्रकाशपार्दै छलफल गर्नुभएको कार्यक्रम सञ्चालन १ नं वडा कार्यलय ज्येष्ठ नागरिक मिलन चौतारीका सल्लाहकार माधव प्रसाद न्यौपानेले गर्नुभएको थियो ।