मानव अधिकारको संरक्षणका लागि शिक्षा र चेतना जरुरी ः महासचिव पोखरेल


असार २९, २०८२, आइतबार | साँझ ०६:५६ बजे | 140


मानव अधिकारको संरक्षणका लागि शिक्षा र चेतना जरुरी ः महासचिव पोखरेल

सागर गुरागाईं
मध्यपुर थिमि – नेकपा एमालेका केन्द्रिय महासचिव शंकर पोखरेलले व्यक्तिमा शिक्षा र सचेतना नभई मानव अधिकारको बारेमा प्रष्ट नहुने बताउनु भएको छ । राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलाइन्स) को २६ औं स्थापना दिवसलाई सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त विचार व्यक्त गर्नुभएको हो । मानव अधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष विदुर सुवेदीको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख वक्ता महासचिव पोखरेलले नागरिकले विगतको यथार्थ इतिहास, वर्तमान परिस्थिति र भविष्यबारे गहन अध्ययन गरेमा वर्तमान लोकतन्त्रको विकल्पमा कसैले पनि आवाज उठाउन नसक्ने बताउनु भयो ।

विगतमा राणा र राजाहरुले जनतामाथि गरेको शोषण र दमनका विरुद्ध जनताहरु सचेत भएर तात्कालिन व्यवस्था विरुद्ध सशक्त आन्दोलन गर्दै आफ्नो मौलिक अधिकारसँगै नागरिक कर्तव्यलाई आत्मसात गरेर नेपालमा लोकतन्त्र संस्थागत भईरहेको बताउनु भयो । महासचिव पोखरेलले अधिकार कर्तव्य सिक्काका दुई पाटा जस्तै भएको तथ्य प्रस्तुत गर्दै नागरिकको मानव अधिकार एवं सामाजिक न्याय नभई आर्थिक एवं सामाजिक विकास अधुरो हुने तर्क गर्नुभयो । मानव अधिकार एलाइन्सका केन्द्रिय महासचिव तिलोत्तम पौडेलले एलाइन्सको हालसम्मका गतिविधिहरु, पूर्वपदाधिकारीहरुले पु¥याउनु भएको योगदान, गतिविधि साथै भावि कार्यक्रमबारे बुदाँगत जानकारी दिनुभयो । मानव अधिकार एलाइन्सका भक्तपुर अध्यक्ष पुरुषोत्तम श्रेष्ठले भक्तपुर शाखाले महिलाहरुको व्यक्तित्व एवं नेतृत्व विकासका लागि विभिन्न तालिमहरु आयोजना गरिएको जानकारी दिदैँ प्रत्येक घरपरिवार र व्यक्तिले मानवअधिकारको बारेमा जानकारी लिने अवस्था सिर्जना गर्न आफूहरुले रणनीति बनाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य विष्णु रिजाल, भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा लगायतका अतिथिवक्ताहरुले मानव अधिकार एलाइन्सका संस्थापक व्यक्तिहरुको योगदानको स्मरण गर्दै सबै व्यक्तिले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकारको सम्मान गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सुरभी प्रजापतिले शान्तिका अग्रदुत शिर्षकको कविता वाचन गर्नुभएको थियो । कार्यक्रमका सभापति विदुर सुवेदीले नेपालका ७७ जिल्लाका प्राय सबै स्थानीय पालिकामा करिब १५ सय व्यक्तिहरु मानव अधिकार एलाइन्समा आवद्ध भएको जानकारी दिदैँ २६ औं स्थापना दिवस आयोजना गरेर भक्तपुर शाखाले सहयोग गरेकोमा विशेष धन्यवाद दिनुभयो । असार २९ गते स्थानीय शंखधर बैंक्वेटमा भएको उक्त स्थापना दिवस कार्यक्रममा १९ जनाले रक्तदान गरेको एलाइन्सका भक्तपुर अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा एलाइन्सका निवर्तमान अध्यक्ष मिनबहादुर शाही लगायतका पदाधिकारी, वर्तमान केन्द्रिय पदाधिकारी, केन्द्रिय सदस्यहरु एवं काठमाडौं उपत्यकका तिन वटै जिल्लाका अध्यक्ष, पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो । मानव अधिकार एलाइन्सको २६ औं स्थापना दिवसको अवसरमा मध्यपुर थिमिको बालकुमारी मन्दिरमा साँझ दिपावली गरिएको एलाइन्सका भक्तपुरका अध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिनुभयो । 

Comments