अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको जगातीदेखि डोलेश्वर मन्दिर हुँंदै आशापुरीसम्म जाने अटोमोवाइल्स मंगलबारदेखि सञ्चालनमा ल्याइएको छ । यसअघि सुगम तर सिधा यातायात संचालन नभएपछि यस क्षेत्रका स्थानीयले दुःख पाइरहेका थिए । जनगुनासो आएपछि जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले एक समारोहवीच उक्त कार्यक्रमको उदघाटन गरे । डोलेश्वर मन्दिरमा पुजाआजा गर्ने भक्तजनको घुइचोनै लाग्ने गर्दछ । तर सहज यातायात नहुँदा समस्या भोग्नु परेको भक्तालुको पनि गुनासो थियो । साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रेले अटोमोवाइल्स सञ्चालनमा ल्याएको हो । साइनो अटोमोबाइल्स प्रालि बनेपा काभ्रका प्रबन्ध निर्देशक प्रल्हाद दाहालले ग्रामिण भेगका जनताको हितका लागि सेवा सुरु गरेको जनाए । अटोमोवाइल्सको सञ्चालनको लागि भक्तपुरमा जिम्मा पाएका अटोमोवाइल्स भक्तपुरका प्रबन्ध निर्देृशक संगम लामाले थप ठाउँंहरुमा पनि सञ्चालन गर्ने योजना रहेको सुनाए । यसअघि यही अटोमोवाइल्सले आदर्श र सूर्यविनायकबाट गरी दुई ठाउँंहरुबाट सेवा सञ्चालन सुरु गरिएको छ । दुवै ठाउँ पाँच–पाँच वटा गरी दश वटा अटोमोवाइल्स सञ्चालनमा आएको जनाएको छ । विहान पाँच वजेदेखि साँझ सात बजेसम्म सञ्चालन हुने भएकाले यस क्षेत्रकाबासिन्दालाई किनमेल, पुजापाठ र बजार आवतजावतमा सहज हुने अनुमान छ । विहानको समयमा अझ वढी भक्तपुरका कलेजहरुमा आउने विद्यार्थीहरुलाई सहज हुने निश्चित भएको छ । विहान टाढाटाढाबाट भक्तपुर नगरपालिका क्षेत्रका कलेजहरुमा पढ्न आउने विद्यार्थीलाई विशेष सुविधा मिल्ने स्थानीयको विश्वास छ । करिव एक वर्षदेखिको निरन्तरको प्रयासले अटोमोवाइल्स सञ्चालन गर्न सफल भएको सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज वस्नेतले बताए । यसअघि पाँचदेखि १० किलोमिटरको दुरीको वडाबासी भक्तपुर नगरपालिका क्षेत्र आउन पैदल हिड्नुपर्ने बाध्यता थियो । साथै अपर्झट जानुपर्नेलाई पनि ट्याक्सीमा एक हजारबढी रपैयाँ तिरेर जानुपर्ने बाध्यता हटेको छ । अहिले रुट अनुसार अटोमोवाइल्समा जाने यात्रुहरुका लागि सूर्यविनायक नगरपालिकासँगको सहमतिमा सस्तो भाडादर कायम गरिएको संचालकले जनाएको छ ।