रेडियो नेपालको अनुसन्धान प्रतिवेदन हस्तान्तरण


असार २२, २०८२, आइतबार | साँझ ०४:२३ बजे | 215


रेडियो नेपालको अनुसन्धान प्रतिवेदन हस्तान्तरण

काठमाडौँ, असार २२ गते । सार्वजनिक सेवा प्रसारण, नेपाल (पीएसबी, नेपाल) का कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टलाई प्राज्ञिक अनुसन्धानकर्ता उपेश महर्जनले आफ्नो अनुसन्धान प्रतिवेदन हस्तान्तरण गर्नुभएको छ ।
    रेडियो नेपालबाट प्रसारण हुने नेपालभाषाका समाचार र कार्यक्रम जीबन दबूले नेवाः समुदायको पहिचान निर्माणमा खेलेका आयामहरुबारे अनुसन्धानकर्ता महर्जनले अनुसन्धान गर्नुभएको थियो ।
    सिंहदरबारस्थित पीएसबी, नेपालका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले अनुसन्धान प्रतिवेदनका निष्कर्षहरुले पत्रकारिताको क्षेत्रमा सरकारी सञ्चारगृहले आदिवासी जनजाति र भाषिक पहिचानमा टेवा पुगेकोे बताउनुभयो ।
    स्वतन्त्र अनुसन्धान नहुनाको कारण सरकारले गरेका राम्रा कार्यहरु जनतासमक्ष नपुगेको अवस्थामो सम्बद्ध पक्षहरुको ध्यानाकर्षण गर्न यस्ता अनुसन्धानले सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
    रेडियो नेपालले नेपालभाषा (नेवारी)को समाचार र कार्यक्रममार्फत् नेवाः समुदायको पहिचान निर्माण गर्न अहम् भूमिका खेलेको निष्कर्ष छ ।
    सरकारका नीति नियम, कार्यक्रम र सन्देश प्रत्यक्ष रुपमा सञ्चार भइरहँदा त्यसले अप्रत्यक्ष रुपमा नेवाः समुदायको पहिचानलाई पनि स्थापित गर्दै हकअधिकारसम्बन्धी वकालत हुने गरेको अनुसन्धानमा उल्लेख छ ।
    यस्तै, भाषा, कला, संस्कृति, संगीतको क्षेत्रको संरक्षण गर्नुको साथै प्रवर्धनमा विशेष योगदान दिएको सार्वजनिक भएका छन् ।
    पहिचान र अधिकारका विषयमा निजी तथा सामुदायिक रेडियोले मात्र आवाज उठाउन सक्छ भन्ने निष्कर्षमाथि नेपालको सन्दर्भमा ७५ वर्षदेखि नै रेडियो नेपालबाट आंशिक अवसर र सुविधा हुने गरिएको पाइएको छ ।    
    विश्वविद्यालय अनुदान आयोग र कीर्तिपुरस्थित मंगल बहुमुखी क्याम्पसको अनुसन्धान अनुदानमा पत्रकारितामा क्रियाशिल अनुसन्धानकर्ता महर्जनले अनुसन्धान गर्नुभएको हो ।
    मात्रात्मक र गुणात्मक मिश्रित अनुसन्धान विधि प्रयोग गर्दै वर्णनात्मक र विश्लेषणबाट निष्कर्ष निकालिएको उहाँको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
    सोही अवसरमा दोश्रो अन्तराष्टिय मातृभाषा पत्रकारिता सम्मेलनमा प्रकाशित स्मारिका पनि उहाँले अध्यक्ष डा. विष्टलाई हस्तान्तरण गर्नुभयो ।
 

Comments