समृद्ध र विकसित नेपालको लागि उद्यमशिलता जरुरी


असार ११, २०८२, बुधबार | विहान ११:२७ बजे | 60


समृद्ध र विकसित नेपालको लागि उद्यमशिलता जरुरी

कीर्तिपुर, असार ११ गते । 
    नेपालमै उद्यमी बनेर देश विकासको लागि तयारीमा रहन विद्यार्थी र युवालाई जोड दिइएको छ ।
    मंगल बहुमुखी क्याम्पस, कीर्तिपुर नगर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा उद्यमशिलताबारे सकारात्मक सोच निर्माण गर्ने विषयको अभिमुखीकरण कार्यक्रममा वक्ताहरुले सो कुरामा जोड दिनुभएको हो ।
    सकारात्मक सोचका अभियन्ता तथा होटलव्यवसायी कर्ण शाक्यले विदेशमा गएर डलर कमाउनुभन्दा स्वदेशमा रहेर देशको विकास गर्न उद्यमी बन्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
    विश्वका धनी देशहरुमा गएर नारकीय जीवन जिउनुभन्दा असल नागरिक बनेर माता र मातृभूमिको विकास र समृद्धिमा लाग्नु सबैभन्दा उत्तम हो, भन्नुभयो ।
    उहाँले स्वदेशमा रहेर लर्न एण्ड अर्नको व्यवस्थाको लागि उच्च शिक्षामा देशभक्ति, नागरिक शिक्षा र जीवनोपयोगी उद्यमशिल बनाउने पाठ्यपुस्तक र पाठ्यसामग्री निर्माण गर्न नेपाल सरकारसँग माग गर्नुभयो ।
    अमेरिका पत्ता लगाउनुभन्दा अघि संसारको सभ्य, सुसंस्कृत र विकसित नेपालबारे चर्चा गर्नुहुँदै नेपाली माटो सुहाउँदो शिक्षा अहिलेको आवश्यकता भएको सम्पदाप्रेमी शाक्यको भनाइ रहेको छ ।
    अमेरिकालगायतका देशहरुमा गएर निम्तस्तरको रोजगारीमा जानुभन्दा स्वदेशमा केही बजेटको लगानीमा आफ्नै पौरखमा मालिक बनेर सम्मानजनक जीवनस्तर उकास्न सक्नै ताकत स्रोत र साधनमा धनी नेपाल र नेपालीमा मात्र सुरक्षित भएको औँल्याउनुभयो ।
    त्यसको लागि सबैभन्दा पहिला, नकारात्मकताभित्र सकारात्मकता लुकेको हुने भएकाले आफ्नो दिमागलाई सही रुपमा प्रयोग गर्न जरुरी रहेको बताउनुभयो ।
    मृत्य अवश्यभावी रहेकाले सम्पूर्ण नेपालीले चिन्ने गरी देश विकासमा एउटा ईंटा थपेर जानु सच्चा नेपालीको कर्तव्य भएको बताउनुभयो ।
    यस्तै, कीर्तिपुर नगर उद्योग वाणिज्य संघका संयोजक राज्यलक्ष्मी शाक्यले उद्यमशिलताले व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले विदेशी सपनाभन्दा स्वदेशमा विपनामा सफल हुने धारणा राख्नुभयो ।
    यस्तै, प्राडा. लक्ष्मीबहादुर महर्जनले सही बाटो देखाउने पथप्रर्दशकका कारण कुनै पनि व्यक्तिको विकास हुने बताउनुहुँदै मातृभूमिको विकास र समृद्धिमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।
    मंगल बहुमुखी क्याम्पसका प्रमुख प्रदिप महर्जनले देश, समुदाय र विद्यार्थीको आर्थिक समृद्धिको लागि सकारात्मक सोच र अभिमुखिकरण आवश्यक भएको बताउनुभयो ।
    कार्यक्रममा क्याम्पसका शिक्षिका भावना महर्जनले नेपालमा रहेर उद्यमशिल बन्नको लागि विश्वविद्यालय अनुदान आयोगले उद्यमशिलतासम्बन्धी विशेष कार्यक्रम ल्याइसकेकाले विद्यार्थीहरुले मौकाको फाइदा उठाउनुपर्छ, भन्नुभयो ।
    उहाँका अनुसार आयोगले पाँचलाख देखि ४० लाखसम्मको आर्थिक अनुदान दिने जानकारी दिनुहुँदै प्रस्ताव पेश गर्न आह्वना गर्नुभयो ।
    अनुसन्धान व्यवस्थापन सेलका संयोजक उपेश महर्जनले सञ्चालन गर्नुभएको उक्त अभिमुखीकरणमा प्राडा शिवशरण महर्जन, प्राडा धर्मराज डंगोल, नेपाल उद्योग तथा व्यापार महासंघका सविन श्रेष्ठ, वरिष्ठ कन्सुलर मदन केसी, इन्जिनियर दुर्कमान महर्जन, क्याम्पस व्यवस्थापन समितिका सदस्य सन्तोष तिमल्सेना, मगंल माध्यामिक विद्यालयका सहप्रधानाध्यापक निलकण्ठ महर्जन, क्याम्पस सहायक प्रमुख रक्की महर्जनलगायतको उपस्थिति रहेको थियो ।
    

Comments