खुटाले लेखेर दुई सय ४२ पृष्ठ लामो पुस्तक तयारः आज भक्तपुरमा विमोचन 


असार ७, २०८२, शनिबार | विहान ०७:२२ बजे | 460


खुटाले लेखेर दुई सय ४२ पृष्ठ लामो पुस्तक तयारः आज भक्तपुरमा विमोचन 

भक्तपुर । मष्तिष्क पक्षघात भई शारिरीक अपांगतमा जीवन विताइरहेकी भक्तपुरकी एक छात्राले खुटाले लेखेर पुस्तक तयार पारेकी छिन् । भक्तपुर नगरपालिका वडा नं ३ तेखापुखू निवासी प्रिता बल्लले दुई सय ४२ पृष्ठ लामो पुस्तक खुटाले मोवाइलमा टाइप गरी तयार पारेकी हुन् । पुस्तक शनिबार भक्तपुरमा पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा एक समारोहवीच लोकापर्ण गर्ने कार्यक्रम तय गरिएको छ । 
उनको पुस्तकको नाम अविचलित पाइला रहेको छ । पुस्तकको प्रकाशक अनुशिलन नेपाल सूयविनायक ३ बालकोट भक्तपुर रहेको छ । पुस्तक दुई खण्डमा विभाजित छन् । पहिलो खण्डमा लेखक र दोश्रो खण्डमा लेखक प्रिताको बारेमा लेखिएका विषयहरु छन् । 
पुस्तकमा ९३ वटा विभिन्न विभिन्न शीर्षकहरुमा प्रिताले आफनो मनका कुराहरु लेखेकी छन् । पारिवारिक पृष्ठभूमि, यहाँंबाट सुरु हुन्छ मेरो जिन्दगिको दैनन्दिनी, एभरेस्ट स्कुलमा भर्ना, समुन सरसँंग सामीप्यलगायतका गरी एकदेखि ९३ शीर्षकसम्म उनले आफैंले लेखेका अनुभबहरु पुस्तकमा समावेश छन् । ९४ देखि १०८ सम्मको शीर्षकहरुमा लेखककाबारेमा लेखिएका १५ वटा शीर्षकहरुमा लेखिएका विषयवस्तुहरु छन् । 
पुस्तककी लेखिका प्रिताका पिता पवनकुमारका अनुसार प्रिताको जन्म २०४८ साल असार ३१ गते आफनो पहिलो सन्तानको रुपमा भएको थियो । तर उनी जन्मेको झण्डै दस वर्षसम्म हिड्डुल गर्न सकिनन् । त्यसपछि अलिअलि बांगोबांगो भएर हिड्न पनि सकिन् आफैं वीचमा । तर त्यसपछिदेखि उनी अहिलेसम्म पनि ह्विलचियरमै सिमित रहिन् । तथापि उनले अध्ययन गर्न भने छाडिनन् । उनले २०५२ सालमा सुस्त मनस्थिति कल्याण संस्थाको सहयोगमा भक्तपुर स्काउटबाट सञ्चालित कक्षामा १ वर्ष अध्ययन गरिन् । त्यसपछि २०५३ मा १ गतेदेखि समुदायमा आधारित पुनस्थापना केन्द्र (सिविआर) भक्तपुरबाट सञ्चालित बहुअपांगता विशेष विद्यालय इन्द्रायणी भक्तपुरमा नौ वर्ष अध्ययन गरिन् । २०६२ वैशाख ६ गतेदेखि २०६८ साउन १ गतेसम्म एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासी भक्तपुरमा कक्षा ३ देखि ८ सम्म अध्ययन गरिन् । २०७० सालदेखि २०७३ सालसम्म शान्ति निकेतन मावि राममन्दिर अध्ययन गरी सोही स्कुलबाट २०७३ सालमा एसइई उतीर्ण गरिन् । २०७४ साउन २ गते शारदा उच्च मावि कक्षा ११ मा भर्ना भई ृ२०७६ सालमा कक्षा १२ उतीर्ण गरिन् । त्यसपछि २०७६ भाद्र २९ गतेदेखि २०८१ बैशाखसम्म ख्वप कलेज देकोचा भक्तपुरमा स्नातक तह अध्ययन गरी अध्ययन पूरा गरेकी छिन् । 
प्रितमकी माता रामेश्वरीले आफनै खुटाको सहाराले मौवाइलमा उत्साहपूर्वक दैनिक टाइप गर्ने वानीले छोरीको यो पुस्तक प्रकाशनको अवसर जुरेको बताइन् । पुस्तकको मूल्य ७७७ राखिएको छ । पुस्तकको प्रकाशनका लागि प्रिताका पिता पवनको एसएलसी व्याच २०४१ का पदम मावि भक्तपुरका सहपाठीहरुले आर्थिक सहयोग गरेको जनाइएको छ । प्रिताको परिवारमा मातापिता र बहिनी गरी कुल चार जना रहेका छन् । 
 

Comments