भक्तपुर नगरपालिकाको अठारौँ नगरसभा उद्घाटनः कसले केके भने ?
असार ६, २०८२, शुक्रबार | दिउँसो ०२:४५ बजे | 15
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको अठाराँै नगरसभाको आज एक समारोहबीच उद्घाटन भयो ।
कार्यक्रमको उद्घाटन गर्दै सचिव सुवालले जिल्ला समन्वय समिति खारेज गर्नुपर्ने आवश्यकता औंल्याउँदै स्थानीय तहलाई कर्मचारी भर्नाको अधिकार दिनु जरुरी रहेको बताउनुभयो ।
संघ र प्रदेश सरकारले स्थानीय तहलाई आफ्नो मातहतको एकाइ जस्तो व्यवहार गर्नु संविधानको भावनाविपरीत रहेको बताउँदै सांसद सुवालले प्रदूषण फैलाउने औद्योगिक क्षेत्रलाई स्थानान्तरण गर्न नपाले संघ सरकारसँग सहकार्य गर्नुपर्ने बताउनुभयो ।
काठमाडौं उपत्यकालाई पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न सके देशको विकासमा समेत टेवा पुग्ने बताउँदै उहाँले भक्तपुर नगरपालिकाले भक्तपुरलाई सांस्कृतिक घोषणा गर्न पहल गर्नुपर्ने बताउनुभयो ।
अस्पताल र औद्योगिक क्षेत्रबाट निस्कने फोहोर स्वास्थ्यको लागि हानिकारक हुने हुँदा ती फोहोरको व्यवस्थापनमा अलग नीति अपनाउनुपर्ने बताउँदै उहाँले विद्यालयहरुमा बालबालिकाको पोषणबारे आवश्यक कक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
सांसद सुवालले न्यायालयका न्यायाधीश र मुख्य मुख्य अधिकारीहरु सम्बन्धित क्षेत्रबाट चुनाव गराई नियुक्ति नगरेसम्म जनताले निष्पक्ष रुपमा न्याय पाउन मुश्किल हुने बताउँदै भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयलाई शहरी विश्वविद्यालयको रुपमा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।
सांसद सुवालले संसदले सरकारलाई जवाफदेही बनाउनुपर्ने बताउँदै कलेज तथा विद्यालयहरुमा अध्ययन अनुसन्धानको क्षेत्रलाई जोड दिनुपर्छ भन्नुभयो ।
नेमकिपाले विद्यालय शिक्षा अनिवार्य र निःशुल्क गराउनुपर्ने विषयलाई संसदमा निरन्तर जोड दिँदै आएको बताउँदै कक्षा ९ र १० मा इतिहास, भूगोल, राजनीतिशास्त्र, स्वास्थ्य र शारीरिक शिक्षा, कानुनी शिक्षा, नेपालभाषा आदिका विषय अध्ययन गर्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आ.व. २०८२।८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यसहित सांस्कृतिक नगर घोषणा गर्न यस नगरसभाले पहल गर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने, गुणतरीय शिक्षाको पहुँच, सहज स्वास्थ्य उपचारमा पहुँच, देशकै नमुना नगर बनाउने र सार्वजनिक, पर्ति, सरकारी जग्गा संरक्षणलाई जोड दिने नीति लिएको उहाँले बताउनुभयो ।
नेपालमा संविधानको भावनाबमोजिम संघीयता कार्यान्वयनमा आउन नसकेको बताउँदै प्रमुख प्रजापतिले संघ र प्रदेश सरकारहरुले स्थानीय तहलाई आफ्नो मातहतको एकाइजस्तो व्यवहार गर्नु संविधान र संघीयताको भावनाविपरीत भएको बताउनुभयो ।
बागमती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईंले नगरसभा पूर्ण सफलताको कामना गर्दै सरकारले आफ्नो नीति तथा कार्यक्रमको उपलब्धीबारे जनतामाझ प्रस्तुत गरी जवाफदेही र उत्तरदायी हुनुपर्ने बताउनुभयो ।
उहाँले जनताको साथ र सहयोगले प्रस्तुत नीति तथा कार्यक्तम सफल कार्यान्वयन हुने बताउँदै जनसेवक कर्मचारीहरुले जनप्रतिनिधिसँग हातेमालो गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नगरका पोखरी, खुल्ला क्षेत्र, शैक्षिक संस्था तथा सबै कार्यालयहरुमा हरियाली प्रवद्धनमा जोड दिई भक्तपुरलाई सुन्दर नगरको रुपमा परिणत गर्न आवश्यक छ भन्दै उहाँले पुरानो र नयाँ युग झल्काउने राम्रा राम्रा कला संग्रहालय निर्माणतर्फ नपाले जोड दिनुपर्ने बताउनुभयो ।
बागमत प्रदेश सभा सदस्य सृजना सैंजुले नेपाल सरकारको बजेट खोक्रो र परनिर्भर भएको बताउँदै असारे विकास बजेटमा नाममा भ्रष्टाचार र आर्थिक चलखेल हुने गरेको प्रष्ट पार्नुभयो ।
संघीयता लागू भएको ७ वर्ष पूरा भए पनि बजेटको ढाँचामा कुनै भिन्नता नआएको बताउँदै उहाँले भक्तपुर नपाले विकास निर्माणको बेग्लै संस्कृति अपनाएर भक्तपुरको विकास गरिरहेको छ भन्नुभयो ।
भक्तपुर अहिले देशकै लागि आशाको किरण बनिरहेको बताउँदै उहाँले नगरका गल्ली गल्लीमा भुस्याहा कुकुर नियन्त्रण र सडक बत्तीको व्यवस्था गरी नगरलाई पर्यटनमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नगरसभाले २०८२।८३ को नीति तथा कार्यक्रम तयार गरी आवश्यक बजेट निर्माण गरी अगाडि बढ्ने बताउँदै भक्तपुरको लक्ष्मीनरसिंह मन्दिर पुनःनिर्माण आ.व. २०८१।८२ को महत्वपूर्ण उपलब्धीको रुपमा रहेको बताउनुभयो ।
भक्तपुरको गौरवको योजनाअनुसार नगरपालिकाले अरनिको सभाभवन निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको बताउँदै नगरपालिकाको सेवा सुविधालाई चुस्तदुरुस्त बनाउन अनलाइन प्रणालीमार्फत सेवा विस्तार गर्दै लगिने बताउनुभयो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले १२२ बुँदामा प्रस्तुत भक्तपुर नपाको नीति तथा कार्यक्रमलाई नगरसभाले आवश्यक छलफल गरी अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक भएको बताउँदै स्थानीय सरकार जनताको नजिक र उत्तरदायी संस्था भएको बताउनुभयो ।
सडक दुर्घटना, विपद न्युनीकरण, सुरक्षाका पूर्वाधारमा पनि नपाले विशेष जोड दिनुपर्ने बताउँदै नागरिकले राज्यबाट गर्ने अपेक्षालाई सेवा प्रवाहको क्रममा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो ।
ख्वप अस्पतालका निम्ति मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले ख्वप अस्पतालले आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम सञ्चालन गरेको अवगत गराउँदै आ.व. २०८२।८३ मा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याइने जानकारी दिनुभयो । उहाँले नयाँ आर्थिक वर्ष थप जनमुखी र उपलब्धीमूलक बनाउने प्रतिबद्धता जनाउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले ख्वप इ. र ख्वप कलेज अफ इ. ले कलेज स्थापनादेखि हालसम्म ८ हजारभन्दा बढी विद्यार्थीहरुmलाई इन्जिनियरिङ शिक्षा प्रदान गरिसकेको बताउनुभयो । उहाँले ख्वप विश्वविद्यालय स्थापनामा ढिलाइ भए पनि नपाबाट सञ्चालित कलेजहरुले विश्वविद्यालयस्तरको शिक्षा प्रदान गरिरहेको बताउनुभयो ।
नगरसभाको उद्घाटन कार्यक्रममा भ.न.पाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य राख्नुभएको थियो भने भ.न.पा ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।