सूर्यविनायकमा पार्किङ खोई ?
असार ३, २०८२, मङ्गलबार | विहान ०७:४८ बजे | 60
भक्तपुर । पछिल्ला वर्षहरुमा भक्तपुर जिल्लाकै जक्सन (सवैजना भेटघाट हुने केन्द्र वा मुख्य ठाउँं) बनेको छ भक्तपुरको सूर्यविनायक । अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको सूयविनायक वस स्टप बजारका हिसावले भक्तपुरकै सवैभन्दा ठूलो बजार पनि बनेको छ । तर यही बजारमा सवारीसाधन तथा मोटरसाइकल पार्किङ गर्ने ठाउँंको व्यवस्था नभएको भन्दै स्थानीयबासीले पीडा पोखेका छन् ।
सूयविनायक नगरपालिका वडा नं ६ सूर्यविनायकले सोमबार गरेको वडास्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा वडाबासीहरुले जिल्लाकै मुख्य सहरको केन्द्र भएकाले सूर्यविनायकमा अत्याधिक मानिसहरुको आवतजावत हुने गरेको तर त्यहाँं निजी सवारीसाधन लिएर आउने मानिसहरुले सडकमै राखेर पार्किङ गरिदिंदा समस्या हुने गरेको बताए । विशेष गरेर सूर्यविनायक बस स्टपबाट दक्षिण सूर्यविनायक गणेश स्थान जाने र सूर्यविनायक बाराहीबाट गुण्डू जाने सडकमा सडकमै सवारी पार्किङ गरिदिंदा आवतजावतमा अवरोध आइ सहर नै अस्तव्यस्त हुने गरेको वडाबासीहरुले बताए ।
स्थानीय मधुसुदन चालिसेले जिल्लाकै जक्सनमै पार्किङ नहुनु ठूलो दुर्भाग्यको विषय भएको बताए । यसले समग्र सूर्यविनायक क्षेत्रलाई नै अस्तव्यस्त पारेको उनको बुझाई थियो । मुख्य सडकमै जथाभाबी हुने पार्किङले स्थानीयबासीलार्इृ मात्रै नभई सडकमा आवतजावत हुने सवैलाई पनि दैनिक समस्यामा पार्नै गर्दै आएको उनले बताए ।
अर्का वडाबासी अमर कार्कीले विशेष गरेर सूयविनायक चोकदेखि उतर थापा पार्टी प्यालेससम्मको झण्डै दुई तीन सय मिटरको सडक छेउमा हुने मोटरसाइकल पार्किङले अस्तव्यस्त भएकाले त्यहाँ हुने पार्किङलाई रोक्नपर्ने आवश्यकता औल्याए । विशेष गरी सूर्यविनायक चोकदेखि गुण्डू जाने सडकमा काठमाडौं वल्र्ड स्कुल गुण्डू जाने ठूलाठूला स्कुल बसहरुले साह्रै अप्ठेरो पार्ने गरेको व्यथा उनले सुनाए ।
सूर्यविनायक नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ईश्वर खडकाले सूयृविनायकका यी दुई सडक छेउमा हुने पार्किङ रोक्न आफनो तीन वर्षको कार्यकालमा चार पटक कोसिस गरेको जानकारी गराए । तथापि पार्किङ हटाउन नसकेको उनले बताए । सडक छेउमा वोर्डहरु राखेर पटकपटक प्रयास गर्दा पनि समस्या समाधान हन नसकेको बाध्यता उनले पोखे । कतिजना वडाबासीहरुले त रातको समयमा रिसले ती वोर्डहरुलाई लाताले हानेर विगार्ने गरेको पाइएको पनि उनले सुनाए ।
भक्तपुरको सूर्यविनायक चोक जिल्लाकै वढी जनघनत्व भएको सवैभन्दा ठूलो बजार हो । यो बजारमा नुनदेखि सुनसम्म पनि पाइन्छ । यही कारण यो ठाउँंमा दैनिक हजारौ सवारीसाधनको पार्किङ हुँदै आएको छ । यो ठाउँं अरनिको राजमार्गलाई सिमानामा राखी उतरमा भक्तपुर नगरपालिका वडा नं ३ र ४ तथा दक्षिणमा सूर्यविनायक नगरपालिका वडा नं ६ र ८ को वीचमा पर्दछ । चर्चित सूर्यविनायकको नामबाटै पूर्वमा साँंगादेखि पश्चिममा पेप्सीकोला काटेश्वरसम्मको अरनिको राजमार्गको दक्षिणतिरको सम्पूण गाउँं विकास समितिहरु मिलाएर पछिल्लो पटक सूर्यविनायक नगरपालिका घोषणा भएको थियो । सूर्यविनायक चोकदेखि दक्षिणमा माथि सूर्यविनायक गणेश मन्दिर रहेको छ । यही नामबाट अहिले सूर्यविनायक चर्चित छ ।
