भक्तपुर । यस वर्षको २३औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। यसवर्षको मुख्य कार्यक्रम मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित ऐतिहासिक एवं धार्मिकस्थल कुमारी मन्दिर परिसरमा हुने भएको छ।
‘बहुप्रकोपीय विपद्मा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ दिउँसो साढे १ बजे कार्यक्रमको आयोजना हुने भूकम्प सुरक्षा दिवस प्रचारप्रसार उपसमितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मूल आयोजक समितिले आमन्त्रण गरेको छ। ओलीले ‘भूकम्प सुरक्षा डिजिटल प्रदर्शनी’को उद्घाटन एवं सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यस्तै भूकम्पीय सुरक्षासम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षासम्बन्धी डिजिटल प्रदर्शनीलगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम सञ्चारमाध्यम र अनलाइन प्रविधिमार्फत आयोजना गरिने भएको छ ।
विसं २०५५ देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवको आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता जनाउने उद्देश्यले यो दिवस मनाइँदै आएको हो।
विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा दिवस मनाइने गरिन्छ। यो दिवस मनाउन थालेपछि विसं २०७२ वैशाख १२ गते शनिबार गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्प गएको थियो। जसमा करिब नौ हजार मानिसको ज्यान गएको थियो भनेआठ लाखभन्दा बढी निजी घर ध्वस्त भएका थिए।

...

All Comments.......


Please Login/Register To Comments