सिपाडोलमा सार्वजनिक सुनुवाईः नगरपालिका भबन नक्सा पास नभएको पुष्टी
जेठ २९, २०८२, बिहीबार | विहान ०८:३९ बजे | 325
भक्तपुर । सूर्यविनायक नगरपालिका–८, सिपाडोलमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम रूपमा सम्पन्न भएको छ । राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम डोलेश्वर मन्दिर परिषरमा आयोजना भएको थियो । सार्वजनिक रुपमा भएको यो पहिलो सार्वजनिक सुनुवाई थियो । यसअघिसम्म वडा कार्यालयको कोठाभित्रै सुनुवाई हुँंदै आएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष पुष्पराज बस्नेतले वडाले गरेका विकास निर्माणका कामहरु उल्लेख गरे । प्रमुख अतिथिका रुपमा बोल्दै बस्नेतले वडामा हाल ७० करोड बराबरको विकास निर्माणका काम भइरहेको तथ्य सुनाएका थिए । वडा अध्यक्ष बस्नेतले वडाले प्रवाह गर्दै आएका सेवा, राजश्व व्यवस्थापन र पछिल्लो वर्षमा सम्पन्न विकास निर्माणबारे विस्तृत जानकारी प्रस्तुत गरेका थिए । धार्मिक, सांस्कृतिक र कृषि सम्भावनायुक्त डोलेश्वरधाम क्षेत्र समेटिएको सूर्यविनायक–८ लाई शान्त, हरियाली र ऐतिहासिक वडा बनाउने लक्ष्यसहित वडाले अघि सारेका योजना र कार्यान्वयनको प्रगति पनि कार्यक्रममा छलफलको विषय बनेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा वडा सदस्यहरू विश्वराम त्वयनावासु, विक्रम तामाङ, सावित्री मिश्र, सदस्य अन्जना नेपाली तथा वडा सचिव प्रतिभा लामिछाने लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ वडा अध्यक्ष बस्नेत र सूर्यविनायक नगरपालिकाका इञ्जिनियर जनक न्यौपानेले दिएका थिए ।
आयोजक संस्था राष्ट्रिय सञ्चार केन्द्रका उपाध्यक्ष पुष्करराज बुढाथोकीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन केन्द्रका सचिव हेमराज ढकालले गरेका थिए । त्यसैगरी कार्यक्रमको प्रारम्भमा सार्वजनिक सुनुवाईको औचित्य, प्रक्रिया र अपेक्षित परिणामबारे पत्रकार दिवस गुरागाईंले मन्तब्य राखेका थिए । राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको समापन गर्दै अध्यक्ष आचार्यले वडालाई लिखित रुपमा सुझाव–सल्लाह हस्तान्तरण गरेका थिए ।
प्रशाशकीय भबनको नक्सा पास गर्न सकेनौं ः न्यौपाने
भक्तपुरको सूर्यविनायक नगरपालिकाले जग्गा आफनो नाममा नभएकाले आफनो भव्य नयाँं प्रशाशकीय भबनको नक्सा पास गर्न नसकेको स्पष्टीकरण दिएको छ । सूर्यविनायक नगरपालिकाको भव्य नयाँं प्रशाशकीय भबनको नक्सा पास नभएको समाचार सार्वजनिक भएपछि नगरपालिकाले भबन नक्सा पास नगरी तयार भएको पुष्टी गरेको हो ।
सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा बुधबार भएको सार्वजनिक सुनुवाईमा सूर्यविनायक नगरपालिकाका वरिष्ठ इन्जिनियर जनक न्यौपानेल सूर्यविनायक नगरपालिकाको कटुञ्जेमा बनेको भव्य प्रशाशकीय भबनको नक्सा पास नभएको पुष्टी गरेका हुन् । सार्वजनिक कार्यक्रममा उनले भने, नक्सा पास नभएको भन्ने समाचार सत्य हो ।
जग्गा नगरपालिकाको नाममा नभएकाले नक्सा पास गर्न नसकेको उनको भनाई थियो । उनका अनुसार नगरपालिकाको भबनको जग्गा पर्ति जग्गा थियो । यही कारण भबनको नक्सा पास गर्न नसकेको उनको स्पष्टीकरण थियो । उनले नगरपालिका भबनबाहेक पनि विभिन्न समुदायका लागि प्रयोग हुने भबनहरु विना नक्सा वन्ने गरेको पनि बताए ।
सूर्यविनायक नगरपालिका यसअघि भाडामा थियो । हालसालै भव्य प्रशाशकीय भबन निर्माण सम्पन्न गरी अहिले नयाँं प्रशाशकीय भबनबाट काम भइरहेको छ ।
