ढिलाइ भयो भने हामीलाई यो माटोमा बाँच्ने अधिकार रहने छैन


जेठ २०, २०८२, मङ्गलबार | साँझ ०६:४० बजे | 565


ढिलाइ भयो भने हामीलाई यो माटोमा बाँच्ने अधिकार रहने छैन

भक्तपुर । भक्तपुरको गुण्डूका एकजनाले आफूहरुको जीवनको भिक मागेका छन् । वर्खासँंगै आफूहरु भूक्षयमा परेर ज्यान जानसक्ने भन्दै ज्यान जोगाइदिन सरोकारवालाहरुको ध्यानाकर्षण गराएका छन् । सूयविनायक नगरपालिका ७ गुण्डूका कुमार लामाले सार्वजनिक रुपमा चिठी लेखेर सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । आफनो ठाउँंमा गतवर्ष पनि वर्खामा झण्डै बचेको र यो वर्षमा के हुने हो भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले लेखेका छन्, ढिलाइ भयो भने हामीलाई यो माटोमा बाँच्ने अधिकार रहने छैन । बाँंकी जस्ताको तस्तै 
श्रीमान् अध्यक्षज्यू÷प्रमुखज्यू,
संबन्धित स्थानीय तह तथा सरोकारवाला निकायहरू,
विषयः बर्खे पहिरोबाट जोखिममा परेका बस्तीको स्थायी समाधानको लागि ध्यानाकर्षण ।

श्रीमान्,
विनम्र निवेदनसहित जानकारी गराउन चाहन्छौँ कि, गतवर्ष साउन–भदौ महिनामा भएको अविरल वर्षाका कारण साविक वडा नं. १ अन्तर्गतका केही बस्तीहरूमा गम्भीर पहिरो गएको थियो, जसले गर्दा त्यहाँका स्थानीय बासिन्दाहरूको जीवन, बसोबास, तथा भविष्य नै अन्योलमा परेको छ । ती घटनाका बखत यहाँका जनप्रतिनिधि, सरकारी निकायका पदाधिकारीहरू तथा उच्च तहका उम्मेदवारहरू समेत घटनास्थलमा आएर स्थलगत अवलोकन गर्नुभएको थियो ।
त्यसबेला हामीलाई मौखिक तथा सार्वजनिक रूपमा विभिन्न प्रकारका राहत र स्थायी समाधानका आश्वासनहरू प्रदान गरियो–“अब तपाईंहरू विस्थापित हुनुहुन्न“, “सुरक्षित बासको प्रबन्ध हुन्छ“, “स्थायी संरचना निर्माण गरिन्छ“ भन्ने कुराहरूले हामी केही समयका लागि ढुक्क भएका थियौँ । तर विडम्बना, आज फेरि बर्खा सुरु भइसकेको छ – र ती सबै आश्वासनहरू केवल शब्दमै सीमित छन् ।
आज पनि त्यही जोखिम यथावत् छ, त्यो उस्तै भित्तो खसिरहेको छ, र हाम्रा मनमा फेरि उही चिन्ता घरबार गुमाउने डरमा बदलिएको छ ।
श्रीमान्,
हामीले कर तिर्छौँ, पालना गर्छौँ, सहभागिता जनाउँछौँ –
तर जब जीवन रक्षा र घर जोगाउने कुरा आउँछ,
त्यतिबेला हाम्रो अस्तित्व नै नदेखिएको जस्तो हुन्छ ।
अब यो हामी सहन सक्ने अवस्थामा छैन ।
यसैले, हाम्रो आग्रह – अपिल – अनि हार्दिक अनुरोध यही हो कि,
अब पनि ढिलाइ भयो भने हामीलाई यो माटोमा बाँच्ने अधिकार रहने छैन ।
हामी पहिरोसहित विस्थापित भइदिनेछौँ, अनि त्यो बेला “के ग¥यो?“ भन्ने प्रश्न गर्नु व्यर्थ हुनेछ ।
हाम्रो मागः
जोखिमयुक्त स्थानको तत्काल निरीक्षण गरी स्थायी समाधानका काम सुरु गरियोस् ।
सुरक्षित स्थानमा पुनस्र्थापना वा आवश्यक संरचना निर्माण गरियोस् ।
आवश्यक राहत, सुरक्षा र समर्थन प्रदान गरियोस् ।
हामी सरकारप्रति सम्मानजनक अपेक्षा राख्छौँ ।
तर अब काम देखिनुपर्छ – आश्वासन होइन ।
हाम्रो बचाइ तपाईंहरूको दायित्व हो ।
हामी पिडित हौँ, तर मौन छैनौ ।
हामी गुनासो गरिरहेका छैनौँ, हामी न्याय खोजिरहेका छौँ ।
सधन्यवाद ।
मितिः२०८२।०२।१८
निवेदकः कुमार लामा
धोङ्गडॉडा साबिक 
सूर्यविनायक नगपालिका गुण्डू

Comments