भक्तपुर मालपोतः सेवाग्राहीसँंग ढुक्कैसँंग घूस ?
जेठ १३, २०८२, मङ्गलबार | विहान ०५:५५ बजे
भक्तपुर । मालपोत कार्यालय भक्तपुरका एक नायव सुब्बाको अचाक्लीबारे भुक्तभोगीहरुले पीडा पोखेका छन् । नासु डम्बरबहादुर कार्कीले सेवाग्राहीसँग ढुक्कैले घूस मागेको घटना त्यहाँका एकजना लेखापढी व्यवसायीले जनआस्थालाई बताए ।
कार्यालयको मुद्दा शाखामा अड्डा जमाउँदै आएका उनले छुट जग्गा दर्ता तथा नामसारीको लागि आउने सेवाग्राहीसँग मोलमोलाई गर्ने गरेको आरोप छ । एक जना भोक्तभोगीका अनुसार कार्कीले सोझा सेवाग्राहीलाई बढी पेल्ने गरेका छन् । मागेको रकम नदिए फाइल लुकाइदिने, हरायो भन्ने जवाफ दिनेसम्मको हर्कत गर्दै आएको बताइन्छ ।
उनका अगाडि कार्यालय प्रमुख कुमार आचार्य पनि निरीह देखिन्छन् । माथिसम्म नै पहुँच भएको प्रचार गरेका उनले आफू अनुकूल कमर्चारीको टिम बनाउन भूमि सुधार मन्त्रालय र विभागसम्मै सेटिङ मिलाएको धेरैको आरोप छ । त्यसैको आडमा उनले कतिपय सहकर्मीलाई ‘सरुवा गराइदिएको छु, चिठ्ठी बुझेर हाजिर हुन जाउ’ भनेर तर्साउने गरेको बताइन्छ ।
‘चर्चित बिचौलिया’ को उपाधि पाएका प्रमोद खड्कासँग मिलेर मन्त्रालय तथा विभागका कर्मचारीलाई आफू अनुकूल चलाउँदै आएका कार्कीले हालै भक्तपुर सुडालस्थित २४ रोपनी सरकारी जग्गा लेनदेनको आधारमा ढकनकुमारी कार्कीको नाममा दर्ता तथा नामसारी गरिदिएको चर्चा धेरै अगाडिदेखि थियो । अदालतबाट जितेर आएको तर्कका आधारमा उनले नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा आफ्नै थरसँग मिल्ने व्यक्तिको नाममा गरिदिएका हुन् । यसमा करौडौंको चलखेल भएको आशंकामा अख्तियारमा उजुरी परेको थियो । अख्तियारले छानविनपश्चात् फाइल तामेलीमा राखिदिएको बताइन्छ ।
कार्यालयका चिठ्ठी तथा फाइलहरु समेत आफ्नो व्यक्तिगत झोलामा बोकेर घरसम्म लैजाने उनी हर्ताकर्ता रहेको मुद्दा शाखामा अझै २० वटा फाइल विचाराधीन अवस्थामा देखिन्छ । हरेक सेवाग्राहीसँगको बार्गेनिङपछि प्राप्त रकम कार्कीले जग्गा कारोबारीहरुसँग मिलेर रियल स्टेटमा लगानी गरेको जानकारहरु बताउँछन् । (जनआस्थाबाट)