साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा कर्तव्यपथ तालिम सुरु
कठमाडौृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृृ । राजधानीको बसुन्धरास्थित साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीमा बुधबारदेखि सात दिने मिसन कर्तव्यवोध तालिम सुरु भएको छ । ईगल थिंक ट्याङ्कको सहकार्यमा साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी र युनिभर्सिटी अफ थ्री जेनेरेसनको संयुक्त आयोजनामा तालिम सुरु भएको हो । विद्यार्थीहरुमा राष्टियता र नैतिकताको बोध गराउन सहयोग गर्ने उद्देश्यका साथ तालिम सुरु भएको हो ।
युवाहरुमा मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न दूरगामी प्रयासस्वरुप एक राष्ट्रिय अभियानको थालनीको क्रममा तालिम सुरु गरेको जनाइएको छ । कर्तव्यपथ नामाकरण गरी नेपाली युवाहरूलाई राष्ट्र निर्माणको मार्गमा अग्रसर गराउने उद्देश्यका साथ अभियान थालनी गरिएको हो ।
युवाहरूलाई सक्षम, जिम्मेवार र देशभक्त नागरिकको रूपमा विकासित गरी समृद्ध र शान्त नेपाल निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षाका साथ पहिलो पटक विद्यार्थी समूहमा तालिम थालिएको जनाइएको छ । नैतिकवान नेतृत्व, अनुशासित जीवनशैली, प्रगाढ राष्ट्रिय चेतना, जिम्मेवार नागरिकता र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्नसक्ने क्षमताले सुसज्जित गर्ने पवित्र उद्देश्यका साथ “कर्तव्यपथ“ नामक एक सात दिने विशेष तालिम कार्यक्रमको थालनी गरिएको जनाइएको हो ।
तालिम कार्यक्रमले सहभागीहरूको शारीरिक, मानसिक, नैतिक र नेतृत्व क्षमताको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य लिएको छ । प्रशिक्षणको क्रममा सहभागीहरूले अनुभवी सुरक्षा विज्ञहरू, वरिष्ठ कूटनीतिज्ञहरू, प्रतिष्ठित प्राध्यापकहरू र संयुक्त राष्ट्रसंघीय पूर्व शान्ति सैनिक तथा प्रहरी अधिकारीहरूबाट प्रत्यक्ष ज्ञान र अनुभव प्राप्त गर्ने अवसर पाउने जनाइएको छ ।
तालिमको संयोजन ईगल थिंक ट्याङ्क नामक नेपाली सेनाबाट सेवानिबृत उच्चस्तरीय सैनिकहरुको संगठनले गरेको छ । तालिममा विज्ञ प्रशिक्षकको व्यवस्था ईगल थिंकले नै मिलाएको छ ।
ईगल थिंक ट्याङ्कका प्रबन्ध निर्देशक तथा पूर्व सैनिक कूटनीतिज्ञ ब्रिगेडियर जनरल रामचन्द्र खत्री (अवकाशप्राप्त) ले आजको जटिल सुरक्षा, कूटनीति र विश्व शान्ति व्यवस्थामा नेपालले अनुशासित, जानकार र नैतिक प्रतिबद्धतायुक्त नयाँ पुस्ताका नेतृत्वहरू तयार गर्नु अपरिहार्य भएकोले यस्तो अभियानको थालनी गरेको जनाए । “कर्तव्यपथ“ केवल एक तालिम मात्र नभई यो एक राष्ट्रिय अभियान हो, जसले हाम्रा विद्यार्थीहरूमा राष्ट्रिय गौरव, अनुशासन, नैतिकता र सेवा भावलाई जागृत गर्नेछ, उदघाटन कार्यक्रममा उनले भने ।
उदघाटन कार्यक्रममा युनिभर्सिटी अफ थ्री जेनेरेशनका अध्यक्ष डा राजेन्द्र केसीले यो तालिममाले विद्यार्थीमा अनुशाशण, समयको व्यवस्थापन, टिम व्यवस्थापनबारे राम्रो ज्ञान हुने विश्वास व्यक्त गरे । साथै यसले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा पनि उल्लेखनीय भूमिका खेल्ने विश्वास उनले लिए । आयोजक साउथ वेस्टर्न स्कूल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीका प्राचार्य इन्जिनियर दीपक धामीले तालिमले विद्यार्थीको चातर्फी विकासमा सहयोग गर्ने गहिरो विश्वास व्यक्त गरे । उनले सहयोगीहरुप्रति पनि विशेष धन्यवाद व्यक्त गरे । तालिममा कुल ४० जना विद्यार्थीहरु सहभागी भएको र उनीहरु कलेजमा बीबीए र बीएचएम अध्ययनरत विद्यार्थी रहेको जानकारी उनले गराए ।
कर्तव्यपथ राष्ट्र निर्माणको सारथी बन्ने युवाहरूको लागि एक विशेष तालिम भएको कार्यक्रममा बताइयो । यो तालिम विशेषगरी मुलुक र समाज सेवामा समर्पित भावना भएका, भविष्यमा सुरक्षा निकाय, कूटनीतिक क्षेत्र, नागरिक प्रशासन र संयुक्त राष्ट्रसंघीय शान्ति मिसनहरूमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने युवाहरूलाई लक्षित गरिएको जनाइएको छ ।
तालिम निःशुल्क रहेको छ । तालिमले युवाहरूलाई आफ्नो मातृभूमिप्रतिको दायित्वबोध गराउँदै विदेश पलायनको बढ्दो प्रवृत्तिलाई सन्तुलन गर्न एक दूरगामी प्रयास हुने विश्वास गरिएको छ ।
“कर्तव्यपथ“ ले युवाहरूलाई अनुशासनको महत्त्व, नैतिक मूल्यमान्यताको पहिचान, शारीरिक सहनशीलताको विकास, दूरदर्शी नेतृत्व क्षमताको अभिवृद्धि र अन्तर्राष्ट्रिय शान्ति कार्यको सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरी उनीहरूको व्यक्तित्व विकासलाई नयाँ दिशा दिने लक्ष्य राखेको छ ।
तालिमलाई अझ प्रभावकारी बनाउन सुरक्षा अध्ययन भ्रमणलाई पनि कार्यक्रमको अभिन्न अङ्ग बनाइएको छ । यस अन्तर्गत सहभागीहरूलाई नेपाली सैनिक तालिम प्रतिष्ठान खरिपाटी, भक्तपुर; गरुड सेक्युरिटी प्रा.लि. महाराजगञ्ज, काठमाडौं र अल्टिमेट भेन्यु नेपाल, कपन, काठमाडौंको अवलोकन गराइने योजना राखिएको छ ।
आर्थिक अभावका कारण कुनै पनि इच्छुक विद्यार्थी यो महत्त्वपूर्ण अवसरबाट वञ्चित नहोस् भन्ने उदात्त उद्देश्यले यो तालिम पूर्ण रूपमा निःशुल्क प्रदान गरिनेछ । यस कार्यक्रममा संलग्न सबै स्रोत व्यक्ति तथा विज्ञहरूले आफ्नो अमूल्य समय र ज्ञान निःस्वार्थ रूपमा प्रदान गर्ने जनाइएको छ ।
तालिमको समापनमा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ । यसले उनीहरूको व्यक्तिगत विवरण (सीभी) लाई थप आकर्षक बनाउने छ । यसका साथै, तालिम अवधिमा ईगल आइ अनलाइन क्विज कन्टेष्ट पनि आयोजना गरिने जनाइएको छ । यसमा उत्कृष्ट प्रदर्शन गर्ने प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने युवाहरूलाई उचित पुरस्कार प्रदान गरिने जनाइएको छ । इच्छुक प्रायोजक वा दाताहरूले यस प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गर्न सक्ने जनाइएको छ ।
आयोजकहरूले स्थानीय निकाय, महानगरपालिका, नगरपालिका, गाउँपालिका तथा विभिन्न शैक्षिक संस्थाहरूलाई यस्ता युवा सशक्तिकरण, नागरिक शिक्षा र नेतृत्व विकास कार्यक्रमलाई आफ्नो नीति तथा कार्यक्रमको अभिन्न अङ्ग बनाउन आग्रह गरेका छन् । नव स्थापित ईगल थिंक ट्याङ्क यस प्रकारको तालिम सञ्चालन गर्न प्रतिबद्ध रहेको र आवश्यक सहयोग गर्न तयार रहेको पनि जानकारी गराइएको छ ।
यो कार्यक्रम चार मुख्य आधारस्तम्भहरूमा आधारित हुने जनाइएको छ ।
पहिलो
सुरक्षा सचेतना ः यस अन्तर्गत सहभागीहरूलाई नेपालको राष्ट्रिय सुरक्षा संरचना, दैनिक जीवनमा आवश्यक प्रयोगात्मक सुरक्षा सीपहरू, शारीरिक तन्दुरुस्ती र अनुशासनको महत्त्वबारे विस्तृत जानकारी प्रदान गरिनेछ ।
दोस्रो
मानव संसाधन तथा नैतिक नेतृत्वः यस खण्डमा युवाहरूलाई नागरिकको रूपमा आफ्नो कर्तव्यबोध, सामूहिक कार्यमा नेतृत्व गर्ने क्षमता, उच्च नैतिक आचरण र इमानदार नेतृत्व विकास जस्ता विषयमा गहन प्रशिक्षण दिइनेछ ।
तेस्रो
कूटनीति तथा संयुक्त राष्ट्र संघीय शान्ति मिसन ः यस स्तम्भमा सहभागीहरूले कूटनीतिक मर्यादा, अन्तर्राष्ट्रिय वार्ता प्रक्रिया, संयुक्त राष्ट्र संघीय शान्ति मिसनको संरचना र बहुसांस्कृतिक वातावरणमा नेतृत्व गर्ने कला जस्ता विषयमा ज्ञान हासिल गर्नेछन् ।
चौथो
साहसिक, जीवन रक्षा सीप तथा सहनशीलता निर्माणः यस खण्डमा युवाहरूलाई विभिन्न साहसिक गतिविधिहरूमा सहभागी गराई मानसिक दृढता, जुनै परिस्थितिमा बाँच्न सक्ने सीप र समस्या समाधान गर्ने क्षमता विकास गराइनेछ ।