काक्राबारी प्लटिंगः यस्ता निर्णय भए सिडिओ अफिसको छलफलबाट
निर्णयहरु
१. सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काक्राबारीमा निक भुजिकिक हाउजिङ्ग प्रा.लि. नामक निजी फर्मले जग्गा प्लटिङ्गको कार्य गर्दा सम्बन्धित निकायबाट कानून बमोजिम प्राप्त गर्नुपर्ने स्वीकृति प्राप्त नगरेको तथा सरकारी वन तथा सार्वजनिक जग्गा समेतमा डोजर लगाई अतिक्रमण गरेको भन्ने समेतको विषयमा प्राप्त गुनासो तथा सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरु तथा सम्बन्धित विषयगत निकायका जिल्लास्थित कार्यालय प्रमुखको संयुक्त टोलीले मिति २०८२÷०१÷२१ मा सो कार्यको स्थलगत अनुगमन गरी तत्कालको लागि सो कार्य स्थगित गर्न निर्देशन दिई नापी कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौँ उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय र सूर्यविनायक नगरपालिका, डिभिजन वन कार्यालयलाई उक्त विना स्वीकृति जग्गा प्लटिङ्ग गरेको तथा वन तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा तथ्यगत विवरण उपलब्ध गराउन, प्रचलित कानून विपरित भएगरेका सम्बन्धमा कानून बमोजिम कारवाही प्रक्रिया अगाडि बढाई ७ दिनभित्र सोको जानकारी जिल्ला प्रशासन कार्यालय, भक्तपुरलाई उपलब्ध गराउन मिति २०८२÷०१÷२४ मा पत्राचार गरिएकोमा देहायको विवरण तथा जानकारी प्राप्त हुन आएकोः–
क. कुलो, पर्ति, बाटो समेतका ६–७–०–० रोपनी सरकारी एवम् सार्वजनिक प्रकृतिको जग्गा, २२–५–०–० रोपनी क्षेत्रफल सामुदायिक वन अतिक्रमण गरी डोजर लगाएको देखिएको व्यहोरा नापी कार्यालय र डिभिजन वन कार्यालय, भक्तपुरबाट प्रतिवेदन प्राप्त भएको ।
ख. उक्त आयोजना÷कम्पनीले जग्गा प्लटिङ्गको कार्य गर्दा काठमाडौँ उपत्यका विकास प्राधिकरण, अनामनगरबाट स्वीकृति लिनुपर्ने र त्यस्तो स्वीकृति प्राप्त गरी नसकेको व्यहोरा जिल्ला आयुक्तको कार्यालय, भक्तपुरबाट प्रतिवेदन प्राप्त भएको ।
यस विषयमा उक्त जग्गा प्लटिङ्गको कार्य भएको स्थलको ठीक तलपट्टि रहेको बस्तिको ६० जना व्यक्तिहरुको हस्ताक्षर सहितको श्री गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई लेखी जिल्ला प्रशासन कार्यालय, भक्तपुर समेतलाई बोधार्थ दिएको मिति २०८२÷०२÷०२ को ज्ञापन पत्रमा उक्त पत्रानुसार जिल्ला प्रशासन कार्यालयबाट काम रोक्का राख्दा प्लटिङ्गको सिलसिलामा सो कम्पनीले हालसम्म गरेको जथाभावी जमिन कटिङ्गकका कारण सो प्लटिङ्गको कार्य भएको स्थानको तल्लो भागमा रहेका वस्तीमा लेदो सहितको बाढी तथा पहिरोको उच्च जोखिम रहकोले विपद् जोखिम न्यूनीकरणको लागि सम्बन्धित कम्पनीलाई वस्ती संरक्षणको कार्य गराउने व्यवस्थाको लागि अनुरोध भई आएको छ । अतः सरकारी सामुदायिक वन क्षेत्रमा निक भुजिकिक हाउजिङ्ग प्रा.लि.बाट माथि उल्लेख भए बमोजिम भएको अनधिकृत अतिक्रमण नियन्त्रण गरी प्रचलित कानून बमोजिमको कारवाही गर्ने÷गराउने, एकीकृत जग्गा विकासको लागि प्रचलित कानून बमोजिम सम्बन्धित निकायबाट लिनु पर्ने स्वीकृति लिएपछि मात्र जग्गा विकासको कार्य गराउने तथा सो जग्गा प्लटिङ्ग सम्बन्धी अनधिकृत कार्यको कारण सो स्थानमा रहेको वस्तीमा सृजना हुन गएको मनसुनजन्य विपद् जोखिम न्यूनीकरण गराउने प्रयोजनको लागि देहाय बमोजिम गर्ने निर्णय गरियो ।
१. वन क्षेत्रमा भएको अतिक्रमण मुक्त गर्नको लागि सम्बन्धित नापी कार्यालयबाट निर्धारण भए बमोजिमको सीमाक्कनमा पुनः अतिक्रमण हुन नसक्ने गरी सूर्यविनायक नगरपालिकाको रेखदेख तथा प्राविधिक सल्लाहमा मजबुत खालको घेराबार÷पर्खाल प्राविधिक हिसाबले जे उपयुक्त हुन्छ सो व्यवस्था निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल गर्ने ।
२. उक्त जग्गा प्लटिङ्गको कार्य भएको तल्लोपट्टि रहेको वस्ती समेतको क्षेत्रमा सो अनधिकृत प्लटिङ्गको कारण सिर्जित प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि मात्र मजबुत खालको पर्खाल समेतको उपयुक्त संरक्षण संरचना निक भुजिकिक हाउजिङ्ग प्रा.लि.ले तत्काल निर्माण गरी तल्लो क्षेत्रमा बस्ने स्थानीय बासिन्दालाई आश्वत पार्ने कार्य गर्ने। यस प्रयोजनको लागि सूर्यविनायक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा देहायको अनुगमन टोलीले उक्त संरक्षण कार्यको नियमित अनुगमन गरी जिल्ला प्रशासन कार्यालय समेत सम्बद्ध निकायलाई प्रतिवेदन गर्ने ।
अनुगमन समिति
क. प्रमुख प्रशासकीय अधिकृत
सूर्यविनायक नगरपालिका
संयोजक
ख. वडा अध्यक्ष
सूर्यविनायक नगरपालिका वडा नं. ९
सदस्य
ग. इन्जिनियर
जिल्ला आयुक्तको कार्यालय
सदस्य
घ. प्रतिनिधि
डिभिजन वन कार्यालय
सदस्य
ङ. प्रतिनिधि
–काक्राबारी भित्रि सामुदायिक वन उपभोक्ता समुह
सदस्य
च. प्रतिनिधि
स्थानीय बासिन्दा
सदस्य