काक्राबारीको प्लटिंगः अनिश्चितकालिन रुपमा वन्द


जेठ ४, २०८२, आइतबार | दिउँसो ०३:३० बजे | 180


काक्राबारीको प्लटिंगः अनिश्चितकालिन रुपमा वन्द

भक्तपुर । भक्तपुरको काक्राबारीमा चलिरहेको अवैध प्लटिंग अनिश्चितकालिन रुपमा वन्द भएको छ । काक्रीबारीको चार सय ५० रोपनीको क्षत्रफलमा चलिरहेको प्लटिंग बन्द भएको हो । 
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को निर्देशनपछि प्लटिंग वन्द गरिएको बताइएको छ । स्थानीयले २५ रोपनी बन क्षेत्र मिचेर प्लटिंग भइरहेको भन्दै विरोध गरेपछि सिडिओ गोपालप्रसाद अर्याल सहितको टोली प्लटिंगस्थल पुगेर अनुगमन गरेको थियो । अनुगमनपछि तत्कालका लागि काम रोक्न निर्देशन दिइएको थियो । त्यसको केही हप्तापछिबाट प्लटिंगमा डोजर चल्न बन्द भएको जनाइएको छ ।
सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता तिमल्सिना भटराईले नगरपालिकामा प्लटिंग अनुमतिका लागि आएको तर आफूहरुले अनुमति नदिएको बताइन् । नगरपालिकाको सिफारिसपछि मात्रै काठमाडौं उपत्यका विकास प्राधीकरणले सवै बुझेर ठिक भए मात्रै अनुमति दिने व्यवस्था रहेको तर नगरपालिकाले नै सिफारिस नगरेपछि आयोजना सञ्चालनको स्वीकृति नपाएको र अहिले वन्द भएको उनले बताइन् । 
वन्द भएपछि डोजर चालक तथा अन्य मजदुरहरु पनि घर फर्कन थालेका छन् । मालिकहरुले अहिले अलिकति अप्ठेरो छ, एउटा कागज आएपछि चलाउनेछौं भनेका छन्, त्यसकारण म पनि गाउँं फर्किंदैछु, एकजना मजदुरले भने । उनका अनुसार एक हप्ता अघिबाट नै काम बन्द गरिएको थियो । 
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ (साविक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्राबारीको काक्राबनस्थित घिसिङ डाँडामा सामुदायिक भित्री वनको क्षेत्र मिचेर निजी प्लटिंग गरिरहेको भन्दै स्थानीयले रोक लगाउन माग राखेका थिए । एकैठाउँंमा ३० वटा भन्दा वढी डोजर दैनिक चलाउँंदा कुनै पनि चासो नदेखाएको भन्दै स्थानीय आक्रोशित पनि बनेका थिए । दैनिक डोजर तथा स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौ विते पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले विरोध जनाउँंदै आएका छन् । 
वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, खोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको आरोप स्थानीयको छ । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयको भनाई छ । त्यहाँं डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो रहेको भन्दै पीडित चिन्तित छन् ।
प्लटिंगस्थल भक्तपुर प्रशाशनबाट झण्डै तीस किलोमिटर टाढा छ । ग्रामीण बाटो भएकाले त्यहाँं पुग्न निजी सवारीसाधनबाट एक घण्टा भन्दा वढी लाग्छ । यहाँं पुग्न साँगाको झोलुंगे पुलबाट माथि उकालो जंगलैजंगलको बाटो भएर पुग्न सकिन्छ ।   
घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको भनाई स्थानीयको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको आरोप पीडितले लगाउँंदै आएका छन् ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ्ग आयोजना सञ्चालन गरिरहेको जनाइएको छ । आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न स्थानीयले माग राख्दै आएका छन् । 
उनीहरुले यसअघि नै यही मागका साथ जिल्ला प्रशाशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसकेका थिए ।  
प्लटिंगको विरोधकै लागि स्थानीय प्रेमबहादुर तामाङको अध्यक्षतामा संघर्ष समिति समेत गठन छ । स्थानीयका अनुसार प्लटिङ्ग सञ्चालनमा आएपछि ६०।६५ घरधुरीका लागि लगिएको खानेपानीको पाइपलाइन अवरुद्ध भएको छ, सिचाई गर्ने कुलो मासिएको छ, नियमित बाटोहरु पुरिएका छन्, २० रोप्नी भन्दा बढी बन तथा सार्वजनिक क्षेत्र अतिक्रमणमा परेको छ । उनीहरुका अनुसार जग्गा धनीहरुको खेत अनुमतिविना सम्याएको छ, बाली गर्न नमिल्ने गरी माटोले पुरिएको छ । सयौ रुखहरु अनुमतिबिना कातिएका छन् । पहिरोको जोखिम बढ्ने गरी डाँडा सम्याएको छ । प्राकृतिक स्वरुप नै बदलिने गरी दैनिक ३० वटाको हाराहारीमा डोजर तथा स्काईभेटर चलाएर बसोबास रहेको घर समेत स्थानान्तरण गर्न बाध्य पारिएको छ । सञ्चालकहरुले भने अनुमति लिने प्रक्रिया सुरु गरी काम थालेको जनाएका थिए ।
 

Comments