शुभदीप बचतको १३ औं साधारणसभा सम्पन्न
पुष २६, २०७७, आइतबार | दिउँसो ०१:०९ बजे | 60
भक्तपुर । भक्तपुर देगइनास्थित शुभदीप बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि वागीश्वरी मा.वि.का पूर्व प्रधानाध्यापक एवम् समाजसेवी मोहन प्रसाद प्रजापतिले वागीश्वरीको प्रगति कार्यरत शिक्षक कर्मचारी र समाजसेवीहरुको अटूट संघर्षको परिणाम भएको बताउँदै सहकारी संस्थाको प्रगति पनि संस्थाका पदाधिकारी र कर्मचारीको योगदानमा भर पर्ने बताउनु भएको छ । उहाँले भक्तपुर अवलोकन गर्ने जो कोहीले वागीश्वरीको कार्यशैली हेरेर जाने र सबैको नमूना बनाउन सफल भएको बताउनुभयो । त्यसरी नै सहकारीलाई चिनाउन सहकारीले गर्ने व्यवहार र त्यहाँको गतिविधि आवश्यक भएको उहाँको भनाइ छ ।
भक्तपुर नगरपालिकाका ९ नं. वडाध्यक्ष रवीन्द्र ज्याख्वले बचतकर्ताको रकम सुरक्षा गर्न नसक्ने सहकारीले जनताको जीवमा प्रत्यक्ष असर गरेको बताउनुभयो । उहाँले भक्तपुर नगरभित्रका सहकारी संस्थाको ५ अर्ब ११ करोड बचत रकमले यहाँकै जनताको जीवनस्तर वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले कम जोखिम हुने उद्यमशील एवम् जनताको आर्थिक स्तर वृद्धि गर्ने कार्यमा ऋण लगानी गर्नुपर्ने बताउनुभयो । नगरपालिकाबाट भैरहेको गतिविधिबारे स्पष्ट पार्दै उहाँले कोरोना भाइरस अहिले जनजीवन सामान्य र जोखिम बढी भैरहेको स्पष्ट पार्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका व्यवस्थापक बालकृष्ण ्रध्वोंजूले भक्तपुर एउटा डिपोजिट भल्भ भएको बताउनुभएको छ । उहाँले बचतकर्ताले जम्मा गरेको रकमलाई यहाँकै जनताको सिपमूलक र रोजगारमूलक तालिम तथा उद्योगमा सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले समुदायमा आधारित ८२ वटा सहकारी संस्था संघमा आवद्ध भएको र संघले ती समुदायकै आर्थिक सामाजिक र सांस्कृतिक स्तर वृद्धि गर्नकै लागि प्रयोग गरिरहेको बताउनुभयो । सहकारी संस्थाको योजना अन्योलरहित रुपमा बनाउनुपर्ने सुझाव दिँदै उहाँले सदस्यह्ररुमा वित्तीय साक्षरताको अभियान चलाउनुपर्ने बताउनुभयो ।
संस्थाका कानूनी सल्लाहकार प्रेम प्रजापतिले सदस्य शिक्षा शिविरलाई निरन्तरता दिनुपर्ने बताउँदै सदस्यकेन्द्रित व्यवसाय प्रवद्र्धन तालिमहरु दिनुपर्नेमा जोड दिनुभयो । कर्मचारी व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउन सके सदस्यको विश्वास बढ्ने बताउँदै पदाधिकारीहरुको निगरानीमा निरन्तरता दिनुपर्ने उहाँको भनाइ छ ।
संस्थाका अध्यक्ष श्यामकृष्ण प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा सचिव विजयप्रसाद प्रजापतिद्वारा प्रस्तुत सञ्चालक समितिको प्रतिवेदन, केषाध्यक्ष ज्ञानेन्द्र प्रसाद मगजुद्वारा प्रस्तुत कोषाध्यक्षको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका कृष्ण भक्त कोण्डाद्वारा प्रस्तुत लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनलगायतका प्रस्तावहरु पारित भएको थियो । उपाध्यक्ष राजकुमार प्रजापतिले स्वागत गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्य श्रीजना प्रजापतिले पनि बोल्नुभएको थियो ।
उक्त साधारणसभाबट चार वर्षको कार्यकालका लागि श्यामकृष्ण प्रजापतिको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति र राजकृमार प्रजापतिको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध निर्वाचित भएको थियो ।