सन्त ज्ञानदिलदासका बारेमा नयाँ तथ्य प्रस्तुत


2025-05-14 01:52:28

News Image

जोशमुनि सन्त परम्पराका विद्रोही कवि सन्त ज्ञानदिलदासका बारेमा नयाँ तथ्य प्रस्तुत गरिएको छ । अस्ति वैशाख २९ गते शब्दयात्रा प्रकाशनको आयोजनामा आयोजित कार्यक्रममा सन्त ज्ञानदिलदासको जन्मजयन्ती मनाउने क्रममा साहित्यकार हरि मञ्जुश्रीले जोशमुनि सन्त परम्पराका विद्रोही कवि सन्त ज्ञानदिलदासका बारेमा नयाँ तथ्य प्रस्तुत गर्नुभएको हो । सन्त ज्ञानदिलदासको जन्ममिति, जन्मस्थान, मृत्युमिति र मृत्युस्थानका विषयमा विभिन्न पुस्तकमा, उनको चित्र अङ्कित हुलाक टिकटमा र नेपाल प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित परिचयकोशमा फरक–फरक मिति र स्थान उल्लेख गरिएको भए पनि उनको जन्म इलामको आमचोकमा १८९२ साल वैशाख २९ गते भएको रहेछ र निधन सिक्किमको गेलिङमा १९५४ सालको माघे सङ्क्रान्तिमा भएको रहेछ भन्ने जानकारी शब्दयात्रा प्रकाशनमा प्राप्त भएको हुनाले त्यसैका आधारमा जन्मजयन्ती मनाइएको जानकारी त्यस कार्यक्रममा हरि मञ्जुश्रीले गराउनुभयो । उहाँले सन्त ज्ञानदिलदासको जीवनयात्रा नै प्रस्तुत गर्दै सरोज ओलीले उनका बारेमा लेखेको लेखले धेरै जानकारी दिने कुरा पनि बताउनुभयो । स्मरणीय छ — उनको जन्म १८७९ सालमा ओखलढुङ्गाको रुम्जाटारमा र निधन १९४० सालमा इलामको आमचोकमा भएको कुरा नेपाल प्रज्ञाप्रतिष्ठानले उल्लेख गरेको छ भने हुलाक टिकटमा १८७८ सालमा जन्म र १९४० सालमा निधन भएको लेखिएको छ, अन्य पुस्तकहरूमा पनि यसै गरी फरक–फरक मिति लेखिएको छ । त्यस कार्यक्रममा त्रिचन्द्र क्याम्पस नेपाली विभाग प्रमुख उषा अधिकारीले सन्त ज्ञानदिलदासका विषयमा आधिकारिक जानकारी प्राप्त नभइरहेको अवस्थामा हरि मञ्जुश्रीले दिनुभएको विस्तृत जानकारीबाट नेपाली साहित्य धेरै लाभान्वित हुने र अनुसन्धाता तथा विद्यार्थीहरूलाई आधिकारिक जानकारी दिन अब सजिलो भएको कुरा बताउनुभयो । कार्यक्रममा जोशमुनि परम्पराका सन्त तथा चतराधामको जोशमुनि पीठका पीठाधीश सन्त भक्तिदिलले जोसमनी, जोसमुनि, यशोमणि, जोसमणि जस्ता शब्दहरू लेखिएको देखिए पनि शुद्ध नाउँ ‘जोशमुनि’ रहेको जानकारी गराउनुभयो । कार्यक्रममा स्वामी कल्याणमित्र, कृष्णविनोद लम्साल, ब्रह्मप्रिय प्रेमस्वरूप, हरि कोर्काली, मच्छेश्वर सापकोटा, पदम दाहाल, डा. इन्दुल केसी, चेवनचन्द्र बस्नेत, मुरहरि रायमाझी, नवराज दाहाल ‘उत्साही’ लगायतका विभिन्न बौद्धिक व्यक्तिहरूको उपस्थिति थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *