भक्तपुरलाई धरान जस्तो बनाउने सोचेको थिएँं ः विजुक्छें
बैशाख २८, २०८२, आइतबार | दिउँसो ०३:२५ बजे | 75
सुनसरी, २८ बैशाख । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं साहित्यकार नारायणमान बिजुक्छेँले धरानका अनाम नाट्य रङ्गमञ्चका पदाधिकारीहरुसँग आइतबार भेटघाट गर्नुभयो ।
भेटघाट कार्यक्रमा अध्यक्ष बिजुक्छेँले मानव सभ्यताको विकासक्रमको सिलसिलमा संस्कृतिको विकास हुँदै जाँदा समाजमा नयाँनयाँ कुराको खोज अनुसन्धान हुने भएकोले संसारमा मानव बस्तीको विकाससँगै नाटकको पनि विकास भएको बताउनुभयो । उहाँले काठमाडौं उपत्यकामा पनि विभिन्न ठाउँमा डबुहरुको निर्माण भएको बताउनुहुँदै समाजको राम्रोकुरा अगाडि बढाउन र जनतालाई सरल ढङ्गबाट सिकोस् भन्ने हिसाबले नाटक मञ्चन गरेको हो, भन्नुभयो । उहाँले भन्नुभयो, २०२२ सालमा पहिलो पटक धरान आउँदा नै धरानलाई हिन्दुस्तानको केरलाको जस्तै कम्युनिस्टको बहुुसंख्यक रहेको सहर थियो । त्यसबेला भक्तपुरलाई पनि धरान सहर जस्तो बनाउने सोच्नुभएको उहाँले स्मरण गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले पञ्चायतको बेला आर्थिक स्थिति कमजोरका कारण नाट्यशाला एकदमै कम रहेको अवस्थामा पनि वर्ग परिचय बोकेको र जनताको दुख, समस्या देखाउने विषयबस्तुको नाटक मञ्चन हुने बताउनुभयो । उहाँले भाषा, कला, संस्कृति र साहित्यको विकास र संरक्षणका लागि स्थानिय निकायले पहल गर्नुपर्ने बताउँदै स्थानिय निकायलाई अधिकार सम्पन्न बनाएको खण्डमा प्रदेशको आवश्यकता नपर्ने बताउनुभयो ।
उहाँले भाषाको विकास हुन हजारौं वर्ष लाग्ने भएकोले भाषा आफैमा हाम्रो ठूलो सम्पत्ति हो भन्दै त्यसका लागि कम्तीमा हरेक प्रदशमा प्रदेशस्तरीय भाषा, साहित्य, कला र साहित्यको एकेडेमी स्थापना गर्नुपर्ने औल्याउनुभयो । उहाँले आनम नाट्य रङ्गमञ्चले मञ्चन गरेका नाटकहरुको लिपीबद्ध गर्नुपर्ने बताउँदै संसारको जुन नगरमा नाट्यशाला हुँदैन त्यस सहरको नहर्ने भन्नुभयो । कार्यक्रममा अनाम नाट्य रङ्गमञ्चका अध्यक्ष विजय सुब्बाले स्वागत गर्नुभयो भने सुरेन्द्र राज भुजेल, विनोद श्रेष्ठ, बादल भट्टराई, शारदा शाक्य र सुनिल शाक्यले पनि बोल्नुभएको थियो