ठूलो पार्टीले गल्ती गरे देशले ठूलै क्षति व्यहोर्नुपर्ने


बैशाख २८, २०८२, आइतबार | दिउँसो ०३:०५ बजे | 25


ठूलो पार्टीले गल्ती गरे देशले ठूलै क्षति व्यहोर्नुपर्ने

सुनसरी, २८ वैशाख । साना दलले गल्ती गरे केही क्षेत्रमा मात्र समस्या हुने तर देशका शासक दल भनाउँदा ठूलो पार्टीले गुल्ती गरे देशले ठूलै क्षति व्यहोर्नुपर्ने हुँदा शासक दलहरु सर्तक हुनुपर्ने विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ आइतबार धरानमा आयोजित अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
उहाँले चुनावका बेला शासक दलहरुले घोषणा पत्र भन्दा पनि विभिन्न लोभ लालच देखाएर निर्वाचन जितेको कुरा उल्लेख गर्दै देशमा भ्रष्टाचार बढ्नुका कारण ठूला पार्टीहरुका नेताहरु रहेको आरोप लगाउनुभयो । 
उहाँले प्रजातान्त्रिक समाजवादका वकालत गर्ने नेपाली काङ्ग्रेसले आफ्नो पार्टी सिद्धान्तअनुसार काम नगरेको र एमाले पनि सोही बाटोमा लागेको हुनाले नेमकिपाले त्यस विरोधमा जनतालाई सचेत पार्न संसदमा प्रखर प्रतिपक्षको भूमिका निभाउँदै आउको बताउनुभयो । उहाँले सानो उमेरदेखि देश र विदेशको विषयमा विद्यालयमै जानकारी दिनुपर्ने धारणा व्यक्त गर्दै राजनीतिक ज्ञान नदिए नयाँ पुस्ता तयार नहुने बताउनुभयो ।
उहाँले भारतको गुप्तचर विभाग ‘रअ’ को मुख्य मान्छे नै अमेरिकी गुप्तचर विभाग ‘सीआइए’ मान्छे रहेको बताउँदै भारतले विगतमा चीनविरुद्धको लडाईमा उस्काउने काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा कोशी प्रदेशका संयोजक उकेश कवांले निर्वाचनमा पार्टीको घोषणापत्रअनुसार भक्तपुर नगरपालिकामा काम गरिरहेको बताउनुभयो । उहाँले पार्टी आफैमा स्कूल भएकोले विविध विषयमा प्रशिक्षण, अन्तरक्रिया र छलफल कार्यक्रम जनताको बीचमा गएको गर्दै आएको हो, भन्नुभयो ।
त्यस्तै पार्टी केन्द्रीय सदस्य सृजना सैंजूले भक्तपुर नगरपालिकालाई नेमकिपाले टेस्टट्युवको रुपमा उपयोग गर्दै समाजवादी व्यवस्थाको निम्ति अघि बढेको बताउनुभयो । 
उहाँले देश आर्थिक रुपमा आत्मनिर्भर नभएरसम्म पुँजीवादी देशले उपनिवेश सरह नै व्यवहार गर्ने हुँदा राष्टिय उत्पादन वृद्धिमा जोड दिनुपर्ने औल्याउनुभयो । 
पुँजीवादी देशले सय वर्षमा गर्न नसकेको आर्थिक विकास समाजवादी देशले बीस तीस वर्षमै गरेको उदाहरण दिँदै अमेरिकाले मिश्रित अर्थ व्यवस्था ल्याएर संसारमा आफ्नो प्रभुत्वकायमै राख्न खोजेको बताउनुभयो ।
कार्यक्रममा नेवा एकता समाजका महेश श्रेष्ठ, पत्रकार राजेश (विद्रोही), नेवा देया दबुका मनोज शाक्यले समय र विचार, हिमाली महाभूल पुस्तककोबारेमा बोल्नुभयो भने सुनिल शाक्यले स्वागत एवं विनोद श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Comments