धरानमा बिजुक्छेंसँंग समसामयिक विषयमा अन्तरक्रिया


बैशाख २८, २०८२, आइतबार | दिउँसो ०२:३४ बजे | 45


धरानमा बिजुक्छेंसँंग समसामयिक विषयमा अन्तरक्रिया

सुनसरी, २८ वैशाख । नेपाल खड्गी सेवा समिति धरानको आयोजनामा आइतबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँको प्रमुख आतिथ्यतामा समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले समाजमा बसोबास गर्ने मानिसहरुको प्रगति के कति भयो भन्ने कुरा त्यहाँको संस्कृतिको विकासले झल्काउने विचार व्यक्त गर्नुभयो । 
उहाँले नेवाहरु एउटा निश्चित जाती नभई समुदाय रहेको बताउँदै हरेक जातिजातिका मानिसले समाजको निम्ति केही न केही योगदान गरेको हुन्छ भन्नुभयो । जसरी शरिरका अङ्गहरुले काम गरेको हुन्छ त्यसरी नै समाजमा विभिन्न जातजाति, भाषा र संस्कृतिकले जीवन राख्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, हामीले आफ्नो पेशा सँगसँग नयाँ पुस्तालाई देश विदेशको अवस्था बारे जानकारी दिनुपर्ने बताउनुभयो । उहाँले सम्रग देश विकास गर्नको सबै जातिको उत्तिकै भूमिका रहने हुँदा राजनीतिक रुपमा सचेत हुनुपर्नेमा जोडदिनुभयो ।
त्यस्तै कार्यक्रममा नेमकिपाका केन्द्रय सदस्य सृजना सैंजूले नेपाल मजदुर किसान पार्टीले जातीय रुपमा कहिल्यै पनि नलिएको कुरा बताउँदै पार्टीले वर्गीय आन्दोलनलाई अगाडि बढाईरहेको बताउनुभयो । उहाँले नयाँ पुस्तालाई आफ्नो संस्कृति हस्तान्तरण गर्ने कार्यको प्रशंसा गर्दै निरन्तरताको लागि शुभकामना व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेमकिपा कोशी प्रदेशका सदस्य सुनिल शाक्यले पार्टीको निर्देशनअनुसार विभिन्न जिल्लामा जनतासँग पार्टी कार्यक्रम र देशको राजनीतिक अवस्थाबारे अन्तरक्रिया गर्ने निर्णय भए अनुसार नै धरानमा पुगेको बताउनुभयो । कार्यक्रममा खड्गी समाजका पूर्व अध्यक्ष हरि शाहीले समाजको तर्फबाट स्वागत गर्नुभयो भने समाजका अध्यक्ष मनिष खड्गीले कार्यक्रम सञ्चालन गर्नभएको थियो ।
 

Comments