काक्राबारीमा निजी प्लटिंगले बन अतिक्रमण गरेको होः सरोकारवाला
बैशाख २०, २०८२, शनिबार | विहान ०२:२८ बजे | 145
भक्तपुर । सरोकारवालाहरुले भक्तपुरको काक्राबारीमा सार्वजनिक वन अतिक्रमण भएको स्वीकारेका छन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालको अध्यक्षता तथा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा जिल्ला प्रशासन कार्यालयको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सह–आयोजनामा चाँगुनारायण नगरपालिका वडा नं.७ स्थित त.पो.दम्फा सभाहलमा सार्वजनिक सेवा प्रवाह सम्बन्धी एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।
सहायक प्रमुख जिल्ला अधिकारीबाट सञ्चालनमा भएको सो कार्याक्रममा जिल्ला सुरक्षा निकायका प्रमुखहरु, चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, सडक डिभिजन, यातायात व्यवस्था सवारी चालक अनुमति पत्र, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनस्वास्थ्य कार्यालय, नेपाल टेलिकम, विद्युत प्राधिकरण, काठमाडौ उपत्यका खानेपानी लिमिटेडका कार्यालय प्रमुखहरु, वडा अध्यक्ष तथा वडा सदस्यहरु, पत्रकार महासंघ, गैरसरकारी महासंघ र सर्वसाधरणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा खानेपानी, सरकारी जग्गा अतिक्रमण, ट्राफिक व्यवस्थापन, बालुवा चोरी निकासी, टेलिफोन नेटवर्किङ्गमा समस्या, विद्युत तार तथा पोल सम्बन्धी जोखिम, वन अतिक्रमण तथा नगरपालिकाभित्र स्थानीय पूर्वाधार निर्माणमा अपर्याप्तता लगायतका विषयमा गुनासो तथा सुझाव प्राप्त भएका थिए ।
सम्बन्धित कार्यालयका प्रमुख तथा नगर प्रमुखबाट कार्यालय गत रुपमा गुनासो सम्वोधन भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीबाट सर्वसाधारणको गुनासोहरुलाई सम्वोधन गदै सम्बन्धित कार्यालयबाट गुनासो सम्वोधन भएनभएको विषयमा प्रभावकारी रुपमा अनुगमन गरिने र तत्काल गर्न लगाउने प्रतिवद्धता व्यक्त गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।