आयोडिनयुक्त नूनको कारोवारमा चलखेल
बैशाख १६, २०८२, मङ्गलबार | दिउँसो ०३:५५ बजे | 140
काठमाडौं । राष्टिय उपभोक्ता मञ्चले आयोडिनयुक्त नूनको कारोवारमा चलखेल गर्न खोजिएको आरोप लगाएको छ । मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मंगलबार विज्ञप्ति प्रकाशित गरी यसको कडा रुपमा आपति जनाएको छ ।
प्रेस बिज्ञप्ती
आयोडिनयुक्त नूनको कारोवारमा चलखेल गर्न खोजेकोमा कडा आपति जनाएको बारे
मानव जीवनको लागी अत्यावश्यक वस्तुको रुपमा रहेको र नेपाल सरकारले मानवहितको लागी नियन्त्रित रुपमा आपूर्ति, भण्डारण तथा बिक्रि बितरण गर्दै आएको आयोडिनयुक्त नूनको कारोवार सम्बन्धमा बजारमा अनेक थरीका हल्लाहरु, कृयाकलापहरु र चलखेलका बारेमा यस मन्चको गम्भिररुपमा ध्यान आकृष्ट भएकोछ ।
नेपाल सरकारले २०२० साल देखि नूनको कारोवार र गुणस्तरलाइ व्यवस्थित र नियमित गर्दै आएको सर्वबिदित नै छ । नेपाल सरकारले तोकेको गुणस्तरीय मापदण्ड र परिधि भित्र रही शाल्ट ट््रेडिङ कर्पोरेशन लि. मार्फत बिक्रि बितरण हुंदै आएको आयोडिनयुक्त नूनको उपभोगकै कारण आज नेपालबाट गलगांड, कण्ठरोग तथा आयोडिनको कमीले हुने रोगहरु करिव करिव निर्मूल हुने चरणमा पुगेको छ ।
यद्यपी केही व्यापारिक स्वार्थ बोकेको व्यवसायिक प्रतिष्ठान वा व्यापारीहरुले नेपाल र नेपाली जनताको स्वास्थ्य माथी नै खेलवाड गर्दै आयोडिनयुक्त नूनको बारेमा गलत र भ्रामक प्रचार गर्ने, शाल्ट ट््रेडिङ कर्पोरेशन लि. मार्फत बिक्रि बितरण गर्दै आएको आयोडिनयुक्त नूनको कारोवार खुला बजारको नाममा निजी क्षेत्रलाई खुला गर्ने प्रपन्च गरी सुव्यवस्थित बितरण प्रणाली नै ध्वस्त गर्ने प्रयास हुंदै आएकोछ । यसै शिलशिलामा आगामी बजेटमा समावेश गर्ने गरी निजी क्षेत्रलाई पनि आयात, आपूर्ति, भण्डारण र बिक्रि बितरण प्रणालीमा भिœयाउने प्रयास स्वयं सरकारमा रहेका राजनैतिक दल र नेताहरुबाट हुन थालेको र यस्तो कार्य गर्नेमा बिगतमा नूनकै अबैध व्यापार गर्ने, कालोबजारी गर्ने व्यवसायीहरुको दवावमा हुन थालेको भन्ने कुरा बिश्वस्त शुत्रबाट जानकारी प्राप्त हुन आएको हुंदा यस्तो कार्य प्रति नेपाल सरकार, सरकारमा आबध्द राजनैतिक दल, माननीय सांसद तथा नेतृत्व प्रति यस मन्च हार्दिक रुपमा ध्यानाकर्षण गराउन चाहन्छौं ।
२०५१ सालमा केही निहित स्वार्थ भएका व्यापारीक समूहले सरकारमा रहेका नेताहरुलाई गुमराहमा पारी नूनको कारोवार निजी क्षेत्रलाई खुला गर्दा आयोडिनयुक्त नूनको गुणस्तर, मूल्य र उपलव्धतामा ठूलो समस्या पैदा भएको र दुर्गम तथा सुगम जिल्लाहरुमा समेत नूनको अभाव भएको कुरालाई मनन गर्दै उत्कृष्ट बितरण प्रणाली रहेको र एशिया भरमा अति गुणस्तरीय आयोडिनयुक्त नून खान पाएका नेपाली जनतालाई बिगतका दिन र बर्षहरुमा जस्तै निरन्तर सहज, सुलभ र सस्तो मूल्यमा आपूर्ति गर्ने शाल्ट ट््रेडिंङ कर्पोरेशन लि. मार्फत नै बिक्रि बितरण गर्न गराउनका लागी नेपाल सरकार समक्ष जोडदार मांग गर्दछौं ।
अत्यावश्यक वस्तुमा सरकारको बर्चस्व अनिवार्य आवश्यक भएकैले पेट््रोलियम पदार्थ, मलखाद र नूनको कारोवारमा एकव्दार प्रणाली अपनाइएको हो र सोही कारणले उपरोक्त वस्तुहरुको मूल्य, गुणस्तर, बितरण प्रंणाली र आपूर्ति व्यवस्थापन सहज हुंदै आएकोछ । निजी क्षेत्रलाई नूनको कारोवार खुला गर्दा हुन सक्ने मानव स्वास्थ्यको जोखिम र आपूर्ति व्यवस्थापनमा हुन सक्ने असहजता समेतलाई ध्यानमा राखी नूनको कारोवार निजी क्षेत्र दिन नहुने तर्फ नेपाल सरकारको ध्यानाकर्षण गराउदछौं ।
(प्रेमलाल महर्जन)
अध्यक्ष