सियो खसेको देख्ने वडा अध्यक्षले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् ?


बैशाख १६, २०८२, मङ्गलबार | विहान ०९:४४ बजे | 105


सियो खसेको देख्ने वडा अध्यक्षले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् ?

भक्तपुर । ठूलोले जे गरे पनि हुने सानोलाई मात्रै कानुन लाग्ने भन्दै भक्तपुरको काक्राबारीका जनताले दुःखेसो पोखेका छन् । सियो खसेको देख्ने वडा अध्यक्ष अनि नगरपालिकाले तीस वढी डोजर दैनिक चलाउँंदा किन देखेनन् भनी स्थानीयले प्रश्न उठाएका छन् । 
भक्तपुरको रोल्पा रुकुम भनेर चिनिने जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ९ कांक्राबारीमा पूरै क्षेत्रमा झण्डै तीन दर्जन डोजरहरु दिनरात चले पनि उनीहरुमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् । 
यो ठाउँ सूर्यविनायक नगरपालिका वडा नं ९ साविक नंखेल गाविस वडा नं. ४ काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको छ । यो आयोजना निक भुजिकिक हाउजिङ् कम्पनीले सञ्चालन गरेको हो । 
टाढाबाट हेर्दा कमिला जत्रा देखिने डोजर तथ स्काईभेटर चलाएर सामुदायिक भित्री बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहे पनि कसैले वास्ता नगरेको भन्दै स्थानीयले दुःख व्यक्त गरेका हुन् । वन क्षेत्रमा रहेको स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेर, कोलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइन समेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरुले बताए । आयोजनाले जंगलबाट घासपात समेत ल्याउने बाटो समेत अवरोध भएको स्थानीयले बताएका छन् । 
उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सी समेत पुरिएर पानीको निकास समेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारी समेत बगाउने खतरा बढ्दो छ । घिसिङ् टोलमा आयोजना सञ्चलान गर्दा घिसिङ् टोलभन्दा मुनि रहेको लामाटोल अति जोखिममा पर्न गएको छ । आयोजनाले स्थानीय जनताको सहमति विना जबरजस्ती व्यक्तिको जग्गा समेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर ’निक भुजिकीक हाउजिङ् कम्पनी’ ले प्लटिङ्ग आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वन–जंगल र प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ् कम्पनीका डिल्ली बराइली, प्रविण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शंकर तामाङ र हाउजिङ्ग कम्पनीसँगको अवैध प्रतिवद्धतामा वन–जंगल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारवाही गर्न यहाँ जिल्ला प्रशामशन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाइसकेको तर कसैले पनि केही कदम नचालिदिएको स्थानीयले बताएका छन् । 
यसैका लागि स्थानीयले संघर्ष समिति पनि गठन गरेका छन् । गठित संघर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ रहेका छन् । उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ्ग रहेका छन् । सदस्यहरुमा बाबुराम लामा, बुद्ध लामा, शंकर लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ,  सानो तामाङलगायतका रहेका छन् । 
यो ठाउँं अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको साँंगा झोलुंगे पुलबाट सिधै पहाड माथिको जंगैलैजंगलको बाटो भएर दस १२ किलोमिटर माथि छ । यहाँंको पूरै क्षेत्र जंगलै जंगल रहेका छन् । साथै फाटफुट घरहरु पनि छन् ।
सरोकारवालाहरुले सरोकार नदेखाएपछि उनीहरु आफैं आन्दोलनको तयारीमा जुटेका छन् । यो पूरै वस्ती तामांग वस्ती रहेका छ । 

Comments