राजनीतिकपछि अब आर्थिक क्रान्तिः डा भटराई
बैशाख १३, २०८२, शनिबार | विहान ११:१६ बजे | 155
सागर गुरागाईं
मध्यपुर थिमि । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं बागमती प्रदेशका इञ्चार्ज डा.राजन भटराईले राजनीतिक हक अधिकार अनि स्वतन्त्रताको लागि राजनीतिक क्रान्ति अबको क्रान्ति आर्थिक विकास र समृद्धिका लागि भएको बताउनुभएको छ । नेकपा एमाले मध्यपुर थिमि नगर समितिद्धारा मध्यपुर थिमिको टिगनीमा भएको नयाँवर्ष वि.सं.२०८२ एवं बिस्का जात्राको शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रमलाई सम्बोधन गर्दै डा.भटराईले उक्त विचार व्यक्त गर्नुभएको छ ।
नेकपा एमाले मध्यपुर थिमि नगर समितिका अध्यक्ष सूर्यलाल श्रेष्ठको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि समेत रहेका डा.भटराईले मध्यपुर थिमि नगरपालिका लगायतका स्थानीय तहहरुमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुल विगतमा विकास र समृद्धिको लहर ल्याएको बताउनुभयो । डा.भटराईले पछिल्लो समयमा विकास र समृद्धि नचाहने केही समूहहरु असन्तुष्ट भएर अस्थिरता मचाउन खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य निर्मल भ¤राईले गणतन्त्रको संस्थागत विकासका लागि निरन्तर विकास र समृद्धि जरुरी रहेको बताउनु भयो । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य एवं मथिनपाका निवर्तमान नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आफू जनप्रतिनिधि हुँदा सम्पदा पूनर्निर्माणदेखि मध्यपुर थिमिको मूर्त, अमूर्त संस्कृतिको विकास र विस्तार गरेको जानकारी दिदैं त्यसैको प्रतिफल स्वरुप पछिल्लो समयमा मध्यपुर महोत्सव गरिएको र मध्यपुर थिमि नपालाई देशकै उत्कृष्ट नपाबाट सम्मान गरिएको बताउनु भयो । निवर्तमान नगरप्रमुख श्रेष्ठले उपत्यकाका चार बाराही मध्येको एक निलबाराही मन्दिर र निलबाराही क्षेत्रको करीब ३ सय ९९ रोपती जग्गा संरक्षणमा वर्तमान जनप्रतिनिधिले कुनै ठोस कार्य नगरेको आरोप लगाउनुभयो । श्रेष्ठले बोडेको ऐतिहासिक कमल पोखरीको पानी सुकाएर विरुप बनाएकोमा नेकपा एमाले र स्थानीय बासिन्दाले सशक्त विरोध गर्नुपर्ने धारणा राख्नुभयो । नेकपा एमाले मध्यपुर थिमि नगरसचिव रति थापा श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपाध्यक्ष दीपक श्रेष्ठले स्वागत मन्तव्य र एमाले नेता भाष्कर प्रधाना»्गले पार्टीको गतिविधि, भावी कार्यक्रम सहित शुभकामना मन्तव्य व्यक्त गर्नूभएको थियो । मध्यपुर थिमि नपा ९ टिगनीमा भएको उक्त कार्यक्रममा बागमती प्रदेशकी सांसद सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य सोम मिश्र, एमाले नेत्रीद्धय राधा हुमागाईं, उत्तरा नेपाल, एमाले जिल्ला नेताहरु चन्दनकृष्ण श्रेष्ठ, राष्ट्र शमशेर थापा, बालकृष्ण श्रेष्ठ, कृष्णकुमार प्रजापति, जिल्ला समन्वय समिति भक्तपुरका पूर्व सदस्य उमेश श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।