राजमार्ग विस्तारको नाममा हाम्रो उठिबास नहोस्


बैशाख १०, २०८२, बुधबार | दिउँसो ०२:५० बजे | 95


राजमार्ग विस्तारको नाममा हाम्रो उठिबास नहोस्

भक्तपुर । भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मका ६ लेन सडक विस्तारको क्रममा सूर्यविनायकदेखि साँंगासम्मको भक्तपुर खण्डमा मात्रै झण्डै ४५ घरटहराहरु भत्काउनुपर्ने देखिएको छ । सडकभित्र परेको घरटहरा नभत्केपछि जिल्ला प्रशाशन कार्यालय भक्तपुरले बुधबार सरोकारवालाहरुसँंग यस विषयमा छलफल गरेको थियो । सडक विस्तार आयोजनाको काम समयमै सम्पन्न गर्न सहयोग गर्ने उद्देश्यले प्रशाशनले सरोकारवालाहरुसँंग छलफल गरेको थियो । त्यस क्रममा सडक मापदण्डभित्र परेका घरटहराहरु हटाउन प्रशाशनले सरोकारवालाहरुसँंग आग्रह गरेको थियो । 
भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गोपालप्रसाद अर्यालले मापदण्डभित्र परेका आआफना घरटहराहरु आफैँं हटाएर सडक विस्तार आयोजनालाई सघाउन सरोकारवालाहरुसँंग अनुरोध गरे । तर सरोकारवालाहरुले मुआव्जा नपाई घरटहरा नहटाउने अडान कसे । 
नेपाल सरकारका पूर्व कर्मचारीसमेत रहेका एकजना पीडित प्रदीपजंग केसीले आफूहरु विकास विरोधी नभएको तर विकासका नाममा आफूहरुलाई अन्यायमा पार्न नहुने तर्क राखे । अर्का एकजना पीडितले प्रश्न गरे, मेरो दुई रोपनी १३ आना कुल जग्गामध्ये सडकलाई दिएर अहिले सात आना मात्रै बाँंकी छ । यस्तो अवस्थामा हामीले क्षतिपूर्ति वा मुआव्जा पाउने कि नपाउने ? 
सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाले ५० प्रतिशत जग्गा सडकमा परे त्यस्तालाई मुआव्जा दिनुपर्ने प्रावधान अनुसार मुआव्जा दिने बताए । उनका अनुसार सूर्यविनायक–साँगा (७.५ किमि) र साँगा–धुलिखेल (८.३ किमि) दुई खण्ड छुट्याएर अहिले धमाधम काम भइरहेको छ । हालसम्म ४० प्रतिशत प्रगति भएको उनले बताए ।  
सडकखण्ड ६ लेनमा विस्तार गर्न थालेको डेढ वर्ष भएको छ । ०७९ मंसिरमा निर्माण सुरु भएको आयोजना ३६ महिनामा अर्थात् आगामी चैतसम्म सक्नुपर्ने सम्झौता छ । तर, आधा समय घर्किँदासम्म भौतिक प्रगति भने ४० प्रतिशत मात्रै हुँदा समयमै आयोजना नसकिने निश्चितप्रायः भएको छ । 
आठ अर्ब ५२ करोड लागतमा सुरु भएको आयोजनामा दुई अर्ब ४० करोडभन्दा धेरै खर्च भइसकेको जनाइएको छ । सूर्यविनायकदेखि धुलिखेलसम्म १५.८ किलोमिटर सडकखण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । 
यो आयोजनामा सडकको काम भगवती जेभी लामा कन्स्ट्रक्सनले गरिरहेको छ भने पुल निर्माणका लागि हिम्दुङ एन्ड थोकर निर्माण कम्पनीलाई ठेक्का लगाइएको छ । सडक विभागका अनुसार सूर्यविनायक–साँगासम्मको ठेक्का ०७९ मंसिर, साँगा–धुलिखेलसम्मको ठेक्का ०७९ पुस र पुल निर्माणको ठेक्का ०७९ चैतमा लगाइएको थियो । हाल सूर्यविनायक–साँगा खण्डमा ३५ प्रतिशत, साँगा–धुलिखेल खण्डमा ४५ प्रतिशत काम भएको छ भने पुल निर्माणतर्फ भौतिक प्रगति शून्य अवस्थामा देखिन्छ  ।  
बिपी राजमार्ग र अरनिको राजमार्गमा गुड्ने लामा तथा छोटा दूरीका सवारीसाधनसहित बनेपा, धुलिखेल, भक्तपुर र आसपासका स्थानीय सवारीसाधनलाई लक्षित गरी यो सडक विस्तार गर्न थालिएको हो । तर, सडक विस्तारमा देखिएको सुस्तताले दैनिक हजारौँ मानिसले सास्ती पाइरहेका छन् । 
बैठकमा भक्तपुरको सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भटराई, भक्तपुर नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बसन्त भटराई, भक्तपुर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष उपेन्द्र सुवाल, ७ का अध्यक्ष उकेश कवां, ८ का अध्यक्ष कष्णप्रसाद कोजू, भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष पुप्पराज वस्नेत, वडा नं ९ का वडा अध्यक्ष भगवान खत्रीलगायतका जनप्रतिनिधिहरु उपस्थित थिए । 
बैठकमा झण्डै चार दर्जन पीडितहरुको पनि सहभागिता थियो । वैठकले सरोकारवालाहरुकोतर्फबाट पाँंच सदस्यीय समन्वय समिति गठन गरी सोही समितिसँंग छलफल गरेर आयोजनाको कामलाई अगाडि वढाउने निर्णय गरेको थियो ।
 

Comments