जेठ दोश्रो हप्ताभित्र राजा फर्किसक्छः जगमान
जेठ दोश्रो हप्ताभित्र राजा फर्किसक्छः जगमान
राजसंस्था पुनस्र्थापना संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले जेठको दोस्रो हप्तासम्म आफूहरूको आन्दोलन सफल हुने र राजा फर्किसक्ने दावी गरेका छन् ।
बिहीबार राजधानीमा राजावादी युवाको प्रतिबद्धता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
’श्रीमान् ज्ञानेन्द्रले जनताको नासो जनतालाई सुम्पेँ भनिबक्सेको हो । यो राज्य दलको रहेछ त ? यो त जनताको रहेछ । यो दलको होइन, जनताको नासो हो । जनतालाई नै सुम्पेको हो । राजा र जनताको बीचमा कुनै निकाय छैन, दल छैन । अब हाम्रो आन्दोलन धेरै टाढा जाँदैन । जेठको तेस्रो हप्तासम्म धैर्य गर्नुस्, हाम्रो आन्दोलन सफल हुन्छ,’ उनले भने । उनले थपे, ’मञ्चमा भाषण गरेर मात्रै हुँदैन । मुहर्त आउनुपर्छ, जेठको दोस्रो हप्ता हाम्रो अभिष्ट सिद्धी हुन्छ । अभियान सफल हुन्छ । जनताको नासो जनतालाई सुम्पिबक्सेको छ । अब जनताले रक्षा गरेर बस महाराज भनेर फेरि सुम्पिने हो ।’ कार्यक्रममा राष्टिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एव प्रवक्ता सगुन लोहनीलगायतका विभिन्न वक्ताहरुले आआफनो धारणा राखेका थिए ।