मित्रकुञ्जबाट “अन्तरिक्षमा मानव अन्वेषण” संवाद


2025-04-12 14:56:19

News Image

१२ अप्रील १९६१ का दिन मानव इतिहास मै पहिलो पटक सोभियतसंघले  अन्तरिक्ष यात्राको इतिहास रचेको थियो र यो उडान गर्ने प्रथम यात्री रुसका युरी गागरिन थिए । विज्ञान र प्रविधि क्षेत्रको यो उपलब्धिले मानवजगतलाई तारा र ग्रहहरु तर्फ आगामी यात्राको लागि बाटो खोलीदियो । 
अन्तरिक्षमा मानव उडानको ६४ औं अन्तराष्ट्रिय वार्षिक दिवसको पूर्वसन्ध्यामा सोभियत रुसी अल्मुन्याइ हरुको संस्था मित्रकुञ्जको थिङक ट्यांक कमिटी द्वारा गत बिहिवार “अन्तरिक्षमा मानव अन्वेषण” सम्बन्धि संवाद कार्यक्रम आयोजन भयो । रुसी सदन काठमाण्डौमा भएको उक्त कार्यक्रमको संचालन मित्रकुञ्जका उपाध्यक्ष एवं थिङक ट्यांकको सदस्यसचिव ई. रामविन्दु श्रेष्ठ गरेका थिए । 
कार्यक्रम उदघोषणको क्रममा श्रेष्ठले हजारौ विज्ञहरुको पुञ्ज मित्रकुञ्ज आफैमा राष्ट्रको औटा थिङक ट्यांक भएको भन्दै कार्यक्रमको महत्व र प्रस्तुतकर्ताहरुको परिचय दिनु भयो । युरोप त्यतिकै युरोप बनेको हैन, कृषियुगमा रहेको सोभियतसंघले त्यतिकै अन्तरिक्षमा प्रथम पाइला टेकेको हैन भन्दै उनले यो सबै विज्ञान, प्रविधि, अध्ययन र अनुसन्धानको परिणाम हो भन्नु भयो । हामी कहाँ खोज र अन्वेषणको संस्कृतिको खडेरी छ, त्यसैले हाम्रो समाज पिछडा भएको हो कि उनको कथन थियो ।
रुसी भवनकी निमित्त निर्देशक साकानुश भन्यानले कार्यक्रम प्रस्तोताहरुलाई खादा लगाएर सम्मान गर्दै सबै सहभागीहरुलाई कार्यक्रममा स्वागत छ भन्नु भयो । उनले आफू कजाखस्तान स्थित सोभियत रुसको अन्तरिक्ष प्रक्षेपण केन्द्र बैकानुरमा जन्मेको र आफ्नो बुवाले त्यहीं काम गरेको भन्दै गौरव प्रकट गरिन् ।
कार्यक्रमका प्रमुख प्रस्तोता बेलोरुसबाट इन्जिनियरिङमा स्नातकोत्तर हासिल गर्नु भएका वरिष्ठ इन्जिनियर एवं बहुआयामिक विज्ञ राजेन्द्र राज शर्मा काफ्ले मानव सभ्यताको प्रारम्भ देखि नै अन्तरिक्ष, आकाश, तारामण्डल, ब्रम्हाण्ड, ग्रहादीका रहस्य र जानकारी सम्बन्धि   मानिसहरुमा व्याप्त जिज्ञासा, कौतूहलता र खोज अनुसन्धान बारे प्रकाश पार्नु भयो । वहाँले मानवको उड्ने परिकल्पना साकार पार्न सन् १९०३ मा विश्व अन्तरिक्ष उडानका पिता रुसका त्सिओल्कोभ्स्की ले प्रथम पटक रकेटको अवधारणा ल्याएका थिए भन्दै समग्र विश्व अन्तरिक्ष यात्राको इतिहास रोचक ढंगले प्रस्तुत गर्नुभयो ।  रुसमा अन्तरिक्ष सफलता पछि सन् १९५७ मा त्यहाँको पाठ्यक्रममा नयाँ गणित विषय शुरु गरिएको, प्रथम महिला अन्तरिक्षयात्री भ्याालेन्टिना तेरेस्कोभाको नेपाल भ्रमण प्रसंग पनि वहाँले सुनाउनु भयो ।  काफ्लेले नेपालको आकाश अन्तरिक्ष टेलिस्कोप राख्न अत्यन्त उपयुक्त रहेको , त्यसबाट मुलुकको पहिचान र पर्यटन संबृद्धिको संभावना रहेको तर सरकारहरुले त्यसको पर्याप्त लविङ गर्न नसक्दा हाल त्यो पेरुले आफ्नो पहाडमा राखेको उहाँको जिकिर थियो ।
कार्यक्रमको मुख्य प्रस्तुतिलाई वरिष्ठ एरोनोटिकल इन्जिनियर भोला कुमार मास्केले सारगर्भित  टिप्पणी गर्नु भएको थियो । आफ्नो समीक्षाको क्रममा वहाँले नेपालको अन्तरिक्ष कार्यक्रमलाई प्रबद्र्धन गर्न अन्य राष्ट्रसंग द्विपक्षिय संझौता भएको  र नेपाली युवा विद्यार्थीहरुले पनि अन्तरिक्ष अनुसन्धान सम्बधि चासो लिइरहेको बताउनु भयो ।
संवादको बीचमा प्रा. डा. रमेश कुमार मास्केले आफूले रचेको अन्तरिक्ष अभियान “सपना हेर्दै जानुपर्छ, कैल्यै हरेश खान हुँदैन, बाटो आफै खुल्छ” कवितालाई गीतको रुपमा गाएर सुनाउनु भयो ।
थिङक ट्यांक कमिटीका संयोजक काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा गजेन्द्र शर्मा ज्यूले दुवै विद्वत वर्गको भनाइ लाई संस्लेषण गर्दै निचोडात्मक प्रस्तुति संगै धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रमको अन्त्यमा मित्रकुञ्ज अध्यक्ष सुष्मा खत्री रन्जितले दुबै प्रस्तोतालाई मायाको चिनो प्रदान गर्नुभयो ।
 

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *