श्रमिक सहकारीमा शुभकामना आदानप्रदान
भक्तपुर, चैत्र ३० । भक्तपुर जगातिस्थित श्रमिक सहकारीमा विस्का जात्रा तथा नयाँ वर्ष २०८२ को अवसारमा शुभकामना आदान प्रदान र शिक्षा शिविर सम्पन्न भयो । संस्थाका शिक्षा उपसमितिको आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोंजूले सहकारीले प्रत्येक सदस्यलाई कुनै न कुनै शिपमूलक तालिम दिनुका साथै सुलभ तथा सहुलियत रुपमा ऋण प्रवाह गरी उद्यमशिल बनाउनु पर्नेमा जोड दिनुभयो । मौसमी तथा बेमौसमी तरकारी खेती, पुष्प खेती, फ्रिज, मोबाईल,कम्प्युटर, पम्प आदि मर्मत, धारा जडान, विद्युत जडान, कम्प्युटर तालिम दिन पाए स्वदेशमै स्वरोजगारी दिन सकिने उहाँले बताउनुभयो । उहाँले अन्धविश्वासबारे, साइवर क्राइमबारे, खानपान तथा खाद्य सम्बन्धी पनि शिक्षा शिविर गर्न तथा समय समयमा स्वास्थ्य शिविर गर्न सके आफ्ना सदस्यहरुलाई लाभ हुने बताउनुभयो ।
कार्यक्रममा कानूनी सल्लाहकार विकल प्रजापतिले विस्का जात्राको इतिहास तथा साँस्कृतिक महत्वबारे प्रष्ट पार्दे नयाँ वर्षमा प्रत्येकले नयाँ ढंगले काम गर्न सुझाव दिनुभयो । सहकारी ऐनमा संशोधन तथा राष्ट्र बैंकबाट जारी निर्देशिकाबारे चर्चा गर्दै उहाँले भविष्यमा आइपर्न सक्ने संकटलाई सम्बोधन गर्न आजैदेखि योजना, जिम्मेवारी र जवाफदेहितासहित कार्यतालिका बनाई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संस्थापक सल्लाहकार गणेशराम सुवालले संस्था स्थापनाको परिस्थितिबारे चर्चा गर्दै प्रत्येक पदाधिकारीले आ–आप्mनो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।
संस्थाका शिक्षा उपसमितिका संयोजक रोशन मचामसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष कृष्ण नारायण मचामसी प्रवन्धक दिनेश ग्वाछा, संस्थाका सचिव श्रीप्रसाद तुइतुई, उपसमितिका सदस्य रमेश ग्वाछा, जोशन मचामसीलगायतले संस्थाका विभिन्न नीति, कार्यक्रम र चनौतिबारे प्रस्तुति गरिएको थियो ।