निरन्तर जनतासंग नङ्ग र मासुको जस्तो धनिष्ट सम्बन्ध हुनुपर्ने
भक्तपुर, ३० चैत । “समस्या समाधानको लागि निरन्तर जनतासंग नङ्ग र मासुको जस्तो धनिष्ट सम्बन्ध हुनुपर्ने र नगरपालिकाले अभिभाकीय भूमिका निर्वाह गर्नुपर्ने” भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले भनपा सभाकक्षामा शनिवार भएको विस्का जात्रा र नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा भक्तपुर नगरपालिकामा कार्यरत सफाईकर्मीहरु बीच शुभकामना आदानप्रदान कार्यक्रम बताउनुभयो ।
प्रमुख अतिथि सुनिल प्रजापतिले विस्का जात्रा र नयाँ बर्ष २०८२ सालको शुभकामना दिदैँ कर्मचारीहरुले समयमा काम नगर्दा रामशेखरहरुले नाटक मार्फत सचेत गराएको बताउनुभयो । उहाँले जनसंख्या बढेसंगै फोहरमैला बढ्नुका साथै खानेपानी अभाव, लुटपात बढ्ने बताउँदै त्यसको नियन्त्रण नगरपालिकाले गर्नुपर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार भनेको धुस लिने मात्र होइन समयमा काम नगर्नु पनि भ्रष्टाचार भएको बताउँदै समयमा नै अनियमित रोक्न सके नोक्सान नहुने र जथाभावी फोहर गरेमा दण्ड जरिवाना गर्नुपर्ने बताउनुभयो । उहाँले शाखा उपशाखाले पूर्व योजना बनाई काम गरे त्यसबाट आउने तरङ्गको जवाफदेहीता बहन गर्न सक्ने बताउनुभयो । उहाँले बाहिरबाट हेर्दा भक्तपुरमा राम्रो काम भई रहेको धारणा राख्ने गरेकोमा अझ त्यो भन्दा राम्रो बनाउन सक्ने बताउनुभयो । उहाँले कानुन आफै काम नगर्ने त्यसलाई परिपालन गर्ने दायित्व कर्मचारी भएकोले दत्तात्रय, टौमढी र दरवारस्क्वारमा छानामा रहेको पानीट्याङ्की हटाउने काम प्रभावकरी बनाउनुपर्ने बताउनुभयो । उहाँले बर्षा याम संगै ढलनिकास बन्द हुने, डेगु लाग्ने आदिको रोकथामको लागि अहिले नै बन्दोबस्त गर्नुपर्ने बताउनुभयो । उहाँले विस्का जात्रामा हजारौं बाह्य र अन्तरिक पर्यटकले जात्रा संगै सरसफाई र मठमन्दिरको समेत अवलोकन गर्ने भएकोले सफाई राम्रो नभए मठमन्दिरमा घाँस र बरपिपल उम्रेको र झलर च्याटेको नराम्रोको देखे त्यसले नकारात्मक संन्देश लिएर जाने भएकोले समय मै व्यवस्थापन गर्न निर्देशन दिनुभयो । उहाँले सफाइ मजदुरहरुले स्वास्थ्यलाई ख्याल गरी माक्स, पञ्जा, बुट र ड्रेस अनिवार्य लगाउनुपर्ने बताउँदै अनुशासित कर्मचारीहरुले जाँडरक्सी चुरोट खान नहुने बताउनुभयो । उहाँले अमेरिका र चीनको व्यापार युद्ध बारे बताउँदै चीन संयमित तरिकाले बार्ता भए बार्ता र बार्ताको ढोका खुल्ला नभए अन्तिम दमसम्म लड्ने बताउनुभयो ।
कार्यक्रममा भनपा ९ नं वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका संयोजक रविन्द्र ज्याख्वले जसरी शरीरलाई पुनताजगी आवश्यक छ त्यसरी नै दिमागलाई सुसजित गर्न र उत्साह थप्न यस्तो शुभकामना आदानप्रदान कार्यक्रम आवश्यक भएको बताउँदै कर्मचारीहरुले समय पालनलाई महत्व दिनुपर्ने बताउनुभयो । उहाँले पाक्षिक सरसफाई कार्यक्रममा सफाई मजदुरहरु सहभागी हुन निर्देशन दिदैँ जात्रामा अरु मोजमस्ती गरिरहने बेला हामी खटिएर काम गर्नु पर्ने अवस्थाले जनता खुशि भए हामी पनि खुशि हुने बताउनुभयो । उहाँले सफाई मजदुरहरुको कामको मुल्याङ्कन भई सामाजिक सञ्जालमा सलाम पठाएको र समाचार नै बन्ने गरेको बताउनुभयो । उहाँले बेलुका फोहर फाल्ने कार्यलाई निरुत्साहित गर्न सम्झाउनुपर्ने बताउँदै कुहिने र नकुहिने फोहर छुट्याउन बाल्टिन वितरण कार्यक्रम ल्याएको बताउनुभयो ।
कार्यक्रममा ४ नं वडाध्यक्ष एवम् वातावरण तथा पर्यटन समितिका उपेन्द्र सुवाल, वातावरण तथा पर्यटन समितिका सदस्य मञ्जु माया लाखाजु, श्यानिटेश उपशाखा प्रमुख दिलिप कुमार सुवाल र वडानिरिक्षक रामकृष्ण प्रजापतिले विस्का जात्रा र नयाँ बर्ष २०८२ को शुभकामना दिनुभएको थियो ।