नेपालभाषाका ३० हजार शब्द समेटिएको अनलाइन शब्दकोष सार्वजनिक


पुष २०, २०७७, सोमबार | विहान ०३:२८ बजे | 45


काठमाडौं ः नेपालभाषाको बृहत अनलाइन शब्दकोश सार्वजनिक भएको छ । नेपाल भाषाका ३० हजार शब्द र तिनका आर्थ समेटिएको शब्दकोशको पुस १८ गते शनिबार भर्चुअल रुपमा सार्वजनिक गरिएको हो । दबुलि नामक संस्थाबाट निर्माण भएको यस शब्दकोश ‘नेपालभाषा डट कम ओआरजी’ मा क्लीक गरेपछि खुल्नेछ ।
नेपालभाषामा प्रकाशित विभिन्न शब्दकोशहरु संकलन गरी यस शव्दकोष तयार भएको अस्मित मल्लले बताए । उनका अनुसार हालसम्म १० पुस्तकहरु डिजिटलीकरण गरी तयार गरिएका छन् । त्यस्तै वेबसाइटमा नेपालभाषाका उखान, नेपालभाषाका नामहरु, जानकारीमूलक गेम आदि रहेका छन् । ‘यो नेपालभाषाको डिलिटल शब्दकोश नेवारले मात्रै नभई गैर नेवारले पनि प्रयोग गर्न सक्छन्,,’ उनी भन्छन्, ‘यसमा शब्दको अर्थ मात्रै नभई, उक्त शब्दको प्रत्यय र उपसर्ग आदि पनि समावेश छ । शव्दहरु उच्चारण गर्न नआएको खण्डमा शब्दको उच्चारण समेत सुन्न पाउने व्यवस्था गरिएको छ । यसले गर्दा यो नेपाल भाषा सिक्ने र सिकाउने थलोको रुपमा पनि प्रयोग हुन सक्छ ।’ यस शब्दकोशमा हरेक दिन ‘वान वर्ड पर डे’ भनेर एक शब्दको बारेमा जानकारी दिने गरेको छ ।
नेपालभाषा केन्द्रीय विभागका पूर्व प्रमुख एवं नेपाल भाषाका क्षेत्रमा योगदान दिएका काशिनाथ तमोटका अनुसार नेपालभाषा एसिया कै साहित्य सम्पन्न एक महत्वपूर्ण भाषा हो । यसमा पुरानो पूर्वीय सभ्यताको लेख्य भण्डार छ । उनी भन्छन्, ‘यो भाषा जीवन्त छ,’ उनी भन्छन्, ‘तर मर्ने हो कि भन्ने चिन्ता लागिरहन्छ । यस्तो बेलामा यो अनलाइन शब्दकोशले नेपालभाषाको ढुकुटी बलियो बनाएको छ ।’त्यस्तै सफ्टवेयर चेतना शाक्य र सुजन जोशीले डेभलप गरेका हुन् । कार्यक्रममा यस परियोजनाका निर्देशक डा. सुभाषराम प्रजापतिका अनुसार यस शव्दकोष नेपालभाषाको डिजिटलीकरणको पहिलो कोशेढुंगा हो र यस समूहले डिजिटलीकरणका विभिन्न कार्यक्रमहरु क्रमशः गर्दै जानेछ । जस अन्तर्गन दोश्रो चरणमा दोलखा भाषिकाको शब्दकोश, वनस्पति सम्बन्धी नेपालभाषा कोष, नेपालभाषा अंग्रेजी शब्दकोश र नेपाल लिपि सम्बन्धी टुल उपलव्ध हुनेछ ।

Comments