चाँगुका वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण
चैत २७, २०८१, बिहीबार | विहान ०२:४३ बजे | 50
दुवाकोट । चाँगुनारायण नगरपालिकाले जुद्ध बारुणयन्त्र कार्यालय भक्तपुरको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्य र वडास्तरीय विपद् व्यवस्थापन समितिको समन्वयमा चाँगुनारायण नगरपालिकाका वडाहरुमा आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास प्रदर्शन कार्यक्रमको शूरुवात गरेकोेछ ।
सुक्खा मौसम तथा गर्मीका कारण समुदायमा दिनानुदिन आगलागीका घटनाहरु भइरहेको अवस्थामा आगलागी रोकथाम तथा न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि आगलागी सुरक्षा सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको कुरा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले बताउनुभयो । उहाँले सम्भावित विपद्को रोकथाम र जोखिम न्यूनीकरणका लागि नगरपालिकाले यस प्रकारको सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको बताउनुभयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवप्रसाद हुँमेगाईले चाँगुनारायण नगरपालिकाले अघिल्लो वर्ष तयार गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरी मनसुनजन्य विपद्बाट नगरबासीलाई सुरक्षित बनाउन प्रभावकारी प्रतिकार्य योजना बनाई लागू गर्ने बताउनुभयो ।
वडास्तरमा सञ्चालन भएको अभिमुखिकरण वडा नं ४ मा वडाध्यक्ष रोज बहादुर तामांग, वडा नं ५ मा वडाध्यक्ष जयन्द्र खड्का, वडा नं ७ मा वडाध्यक्ष श्यामकृष्ण नयाँजु श्रेष्ठ, वडा नं ८ मा का.वा वडाध्यक्ष अनिता परियार र वडा नं १ मा वडाध्यक्ष सिजन कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो । उहाँहरुले समुदायस्तरमा आगलगी रोकथाम तथा नियन्त्रणका लागि यस प्रकारको अभिमुखिकरण कार्यक्रमले जनचेतना फैलाउनको लागि सहयोग पुग्ने बताउनुभएको थियोे । अभिमुखिकरण तथा प्रदर्शनमा वडा सदस्यहरु, समुदायका ज्येष्ठ नागरिक, युवा, महिला, स्वयंसेवक तथा वडाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सहभागिहरुले घरमा खाना पकाउन प्रयोग हुने ग्यास सिलिन्डरमा चुहावट भै हुने आगलागीले ठुलो धनजनको क्षति हुनेगरेको हुँदा अभिमुखिकरण तथा नमुना अभ्यास कार्यक्रमले समुदायमा आगलागी रोकथाम तथा न्यूनीकरण गर्न सहज हुने बताउनु भएको थियो । सहभागिहरुले समुदायमा सचेतना अभिबृद्धिका लागि विभिन्न सञ्चार माध्यमबाट आगलागी, चटयाङ, सडक दुर्घटना, महामारी, भूकम्प लगायतका विपद्बाट बच्ने उपायहरुबा बारेमा जारी गरेका सन्देश र सामाजिक सञ्जालबाट पनि जनचेतनामूलक सन्देश प्रशारण गरेकामा चाँगुनारायण नगरपालिकालाई धन्यवाद दिनुभएको थियो ।
चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक सोम प्रधानले चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण कार्यमा सरकारी तथा गैह्र सरकारी संस्थाहरुसंग सहकार्य र समन्वय गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो । उहाँले समुदायमा विपद् पर्दा तत्काल प्रतिकार्यको लागि नगरपालिकाले प्राथमिक उपचार र खोज उद्धारको शिप प्राप्त विपद् व्यवस्थापन स्वयंसेवक तयार गरेको जानकारी दिनुभयो ।
चैत्र २४ गतेबाट शुरु भएको अभिमुखिकरण र प्रदर्शन क्रमशः सबै वडाहरुमा सञ्चालन गरिने जानकारी योजना शाखा प्रमुख तथा विपद् सम्पर्क व्यक्ति अनुप लामिछानेले जानकारी दिनुभयो ।
आगलागी, यसका कारणहरु, नियन्त्रणका उपायहरुका बारेमा सैद्धान्तिक तथा व्यवहारीक ज्ञान दिइएको अभिमुखिकरण तथा अभ्यास प्रदर्शनमा आगलागी भएको अवस्थामा स्थानीय साधन श्रोतको प्रयोग गरी आगलागी नियन्त्रण गर्ने उपायका साथै फाइर एक्सटिंगुसरको प्रयोगका बारेमा पनि अभ्यास गराइएको थियो ।
वडा नं ७ को वडा कार्यालयमा सञ्चालन गरिएको अभिमुखिकरण तथा प्रदर्शन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाका कोषाध्यक्ष प्रदिप कुमार के.सीले नगरपालिकासंंगको सहकार्यमा नेपाल रेडक्रस सोसाइटीले विपद् जोखिम न्यूनीकरणका गतिविधिहरु सञ्चालन गर्दै आएको कुरा बताउनु भयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापान इकाई प्रमुख दिनेश थापाले चाँगुनारायण नगरपालिकाले एक समुदाय एक प्रथम उद्धारकर्ता टोली तयार गर्नुका साथै विद्यालय र समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धि सचेतना अभिबृद्धिका विभिन्न कार्यक्रम तथा गतिविधिहरु संचालन गरीरहेको बताउनुभयो ।
अभिमुखिकरण कार्यक्रममा दिनेश थापा, राजकुमार लम्साल, दिवाकर पौडेल, सञ्जय अवाल भक्तपुर रेडक्रसबाट ऋषि खड्का जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरबाट सानुराम दाहाल, अनिल कपाली, मुनाल ढकाल, अमन सिंख्वाल लगायत टोलीले सैद्धान्तिक र प्रयोगात्मक अभ्यास प्रदर्शन गर्नुभएको थियो ।