राम्रा र जायेज मागहरु राखी शिक्षा समितिमा छलफल गर्ने
भक्तपुर, २० चैत । अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्य समितिले नयाँ शैक्षिक सत्र सुरु हुन लागेकोले शुल्क निर्धारण लगायत शिक्षासंग सरोकार राख्न पाउने गरी शिक्षा समिति वा शुल्क निर्धारण समितिमा सहभागी हुनुपर्नेबारे ज्ञानपपत्र मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठलाई वहाँको कार्यकक्षामा बुधबार हस्तातरण गर्नुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख सुरेन्द्र श्रेष्ठले राम्रा र जायेज मागहरु राखी शिक्षा समितिमा छलफल गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालयले संस्थागत विद्यालयसंग प्रतिस्पर्धा गर्न सक्ने गरी भौतिक पूर्वाधार निर्माणको लागि सरकारले दिएको एक करोडमा थपेर १५ करोड रुपैंया विनियोजन गरी विद्यालय भवन निर्माण गरिरहेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालय गुणस्तर राम्रो भएकैले यस बर्षमात्र ३४०० विद्यार्थी बढेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयका शिक्षाहरु पुरानै मोडेलबाट अध्यापन गर्दा नयाँ प्रविधिको लागि काठमाण्डौं युनिभर्सिटिका प्राध्यापकहरुबाट तालिम दिएको बताउनुभयो । उहाँले अभिभावकहरुमा पनि सामुदायक विद्यालय भन्ने वित्तिकै नाक खुम्चाउने गरेको बताउँदै शिक्षक समायोजन गर्न खोज्दा ठूलै दबावका बावजुद पनि विद्यालयमा एकजना शिक्षक कुहेको आलु जस्तो भए सबै कुहिने भएकोले त्यस्ता शिक्षकहरुलाई सचेत गराउन शिक्षक समायोजनको लागि निष्पक्षताको लागि कमिति बनाएर त्यसबाट आएको निष्कर्ष अनुसार हुने बताउनुभयो । उहाँले निजि विद्यालयले पौडि पोखरी बनाएको रकम समेत विद्यार्थीसंग असुलेको बताउँदै भोलि विद्यालयका मालिकहरुले हेलिक्याप्टर किनेमा विद्यार्थीहरुसंग नै रकम असुल्ने होकि भनि प्रतिप्रश्न गर्नुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले नयाँ शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र बाकी भएकोले नयाँ भर्ना अभियान, शुल्क निर्धारण, पाठ्यपुस्तक, विद्यालय पोशाक लगायतको विषयमा स्थानीय सरकारले टुङ्गो लगाउन अभिभावकको प्रतिनिधि राखेर मात्र निर्णय गर्नुपर्ने बताउँदै शुल्क निर्धारण लगायत विषयमा प्रत्यक्ष सरोकार राख्ने ८० लाख विद्यार्थीका अभिभावकहरुको सहभागितामा अनिवार्य हुनुपर्ने बताउनुभयो । उहाँले अभिभावकहरुलाई स्थानीय तहको शिक्षा समिति वा शुल्क निर्धारण समिति बाहिर राखेर शिक्षालाई अगाडि बढाउन खोज्नु हातखुट्टा बाँधेर दौडाउनु वा लंगडो घोडालाई दौडाएर प्रतिस्पर्धामा सफल हुने दिवास्वप्न जस्तै हुने बताउनुभयो ।
भक्तपुरका अध्यक्ष राकृष्ण प्रजापतिले हस्ताक्षरित ज्ञापनपत्रमा नयाँ शैक्षिक सत्र सुरु हुन केहि दिनमात्र बाँकी छन् । नयाँ भर्ना अभियान, शुल्क निर्धारण, पाठ्यपुस्तक, विद्यालय पोशाक लगायतको विषयमा स्थानीय सरकारले टुङ्गो लगाएर २०८२ सालको शैक्षिक सत्र सुरु हुनेछ । शुल्क निर्धारण लगायत विषयमा प्रत्यक्ष सरोकार राख्ने ८० लाख विद्यार्थीका अभिभावकहरुको सहभागितामा निर्णय गर्नुपर्ने देखिन्छ । २०५५ शिक्षा नियमावलीमा शुल्क निर्धारण समितिमा अभिभावक संघको प्रतिनिधि रहने गरी ऐन मै व्यवस्था भएतापनि सबै स्थानीय तहमा आ–आप्mनै तरिकाले शिक्षा ऐन बनाउँदा शिक्षा समिति र शुल्क निर्धारण समितिमा अभिभावकहरुको प्रतिनिधित्व नहुँदा शुल्क निर्धारण, छात्रबृति वितरण, विद्यालय निरिक्षण, विद्यालय पोशाक र पाठ्यपुस्तक विद्यालयले भनेकै पसलमा नै किन्नु पर्ने गरि सिण्डिकेट गरेको विरुद्ध आवाज राख्ने अवसर समेत गुमेको छ । साथै छात्रावासमा भएको बालबालिका प्रतिको हिंसा होस् वा विद्यार्थी बोक्ने विद्यालयको गाडीमा कोचि कोचि ल्याउने साथै पछाडि फर्काएर राख्दा रिंगटा लाग्ने र त्यसले कक्षा कोठामा ध्यान केन्द्रिकृत गर्न नसक्दा शिक्षा ग्रहणमा पछाडि परेको समस्या बारे बोल्न अभिभावकहरुको शिक्षा समिति वा शुल्क निर्धारण समितिमा अनिवार्य रुपमा सहभागी गराउनु पर्नेमा ध्यानाकर्षण भएकोले यो ज्ञापन–पत्र पेश गरेका छौं ।
नेपालको संविधान २०७२ मा शिक्षालाई मौलिक हकको रुपमा माध्यामिक विद्यालयसम्मको शिक्षा निःशुल्क र स्थानीय तहमा राखेको छ । त्यसैले शिक्षा राज्यको दायित्व हो । शिक्षा ऐन अहिलेसम्म नबन्दा शिक्षा पूर्ण रुपमा निःशुल्क हुन सकेको छैन् । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय नहुँदा अभिभावकहरु आप्mनो छाक काटेर भएपनि बालबालिकाहरुको गुणस्तरीय शिक्षाका लागि संस्थागत विद्यालय तर्फ आकर्षित हुँदा संस्थागत विद्यालयको प्रादुभाव भएको देखिन्छ । त्यस्ता विद्यालयमा नाफाको निम्ति अभिभावकको ढाड सेक्ने गरी शुल्क निर्धारण गर्दा तल्लो वर्गका जनताले गुणस्तरीय शिक्षाको पहुँचबाट टाढा हुँदै गएको देखिन्छ । देश र जनताको सेवा गर्ने हेतुले देश विकासको लागि आवश्यक जनशक्ति तयार गर्न शान्ति, सदाचार र शिष्टाचार सहितको नैतिक एवं व्यवहारिक शिक्षा आवश्यक छन् । शिक्षा जस्तो अपरिहार्य आवश्यकतालाई सस्तो, शुलभ, गुणात्मक र बैज्ञानिक शिक्षा बनाई राष्ट्र विकासको लागि आवश्यक जनशक्ति तयार गर्न तथा शिक्षा क्षेत्रमा भईरहेको विकृति, विसंगति, मनपरितन्त्र, व्यापारिकरण, चर्को शुल्क बृद्धि, महंगी, बालबालिका माथि यातना, शैक्षिक संस्था बन्दको विरोध तथा भौतिक पूर्वाधार, सुबिधा र गुणस्तर युक्त शिक्षाको लागि अभिभावकहरु संगठित रुपमा अगाडि बढ्ने प्रणका साथ कार्य गरिरहेका छौं ।
कार्यक्रममा अभिभावक संघ नेपाल भक्तपुरका पूर्व अध्यक्ष मणिरत्न बज्राचार्यले शिक्षामा भई रहेको चर्को शुल्क बृद्धि भएकोले शुल्क निर्धारण समितिका अभिभावक संघको प्रतिनिधि हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख अभिभावक संघ नेपाल भक्तपुरका बरिष्ठ उपाध्यक्ष राम सुवाल, सचिव आशराम सुवाल, कोषाध्यक्ष कृष्ण प्रसाद दुमरु, सदस्यहरु सन्तराम दुलाल, राजाराम दाहाल, कन्यामन्दिर प्रजापति, पद्मा श्रेष्ठा र राजकुमार लघुको उपस्थिति रहेको थियो ।