पत्रकारिताको संस्थागत विकासमा श्रेष्ठको उच्च योगदानः सञ्चारमन्त्री गुरुङ
पुष १३, २०७७, सोमबार | दिउँसो १२:३३ बजे | 35
भक्तपुर । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षको पहिचानको मागसहित सोमबार सत्यनारायण बहादुर श्रेष्ठको १०५ औँ जन्मजयन्ती मनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आदर्श विद्या मन्दिर (एभिएम)मा अवस्थित श्रेष्ठका प्रतिमामा माल्यार्पण गरी उहाँलाई स्मरण गर्नुभयो । सञ्चार मन्त्री गुरुङसँगै नेवाः पत्रकार राष्ट्रिय दबुका पदाधिकारी तथा अन्य अतिथिले पनि श्रेष्ठको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो ।
सञ्चार मन्त्री गुरुङले पत्रकार महासंघको अध्यक्ष विवाद बारेमा आप्mनो ध्यानाकर्षण भएको बताउनुहुँदै सबै सरोकारवालासँग छलफल गरी यो विवादको टुङ्गो लगाउने प्रयास गर्नेछु, भन्नुभयो । ‘२००७ सालमा देशमा प्रजातन्त्र आयो । २००८ सालमा नै श्रेष्ठले पत्रकारहरुका संगठन गठन गर्नुभयो । यो उहाँको दुरदर्शीताको प्रमाण हो । यसका साथै २००७ सालमा प्रजातन्त्र आउनुमा पत्रकारहरुको भूमिका र योगदानबारे पनि थाहा पाउन सकिन्छ’ सञ्चार मन्त्री गुरुङले थप्नुभयो ।
नेवार पत्रकारहरुको संस्था नेवाः पत्रकार राष्ट्रिय दबूदारा आयोजित कार्यक्रममा अध्यक्ष सुरजवीर वज्राचार्यले यो न्यायको लडाई हो भन्दै यसका लागि आप्mनो संस्थाले आवाज उठाइरहने जानकारी गराउनुभयो । अब यो विषयलाई कार्यान्वयनको पाटोमा लानेबारे आवश्यक छलफल गरी अगाडि बढ्न आवश्यक भइसकेको छ– उहाँको भनाई छ ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले दस्तावेज, प्रमाणहरु जुट्न सकेको खण्डमा नेपाल पत्रकार महासंघले पनि श्रेष्ठको योगदानको कदर गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिहंले यो विषयबारे सत्यतथ्य सबैलाई थाहा भएपनि कसैले सम्बोधन गरिरहेको छैन, भन्नुभयो । उहाँका अनुसार देशकै गौरवशाली व्यक्तित्व अगाडि भएको हुनाले सत्यनारायण बहादुर श्रेष्ठको कार्य ओझेलमा पारिएको छ ।
यसैगरी, नेवाः पत्रकार राष्ट्रिय दबू, यलका कोषाध्यक्ष सुनील वज्राचार्यले धन्यवाद मन्तव्य दिनुभएको थियो ।