विश्व जल सप्ताह अन्तर्गत एभरेष्ट इन्जिनियरिङ कलेजमा सोहमको हेकरास तालिम सम्पन्न


2025-03-19 05:54:47

नेपाल राष्ट्रिय विश्व हिमनदी, जल तथा मौसम सप्ताह २०२५ अन्तर्गत आज ललितपुरको सानेपा स्थित एभरेष्ट इन्जिनियरिङ कलेजमा दुई दिने हेकरास तालिम  समपन्न भएको छ।

नदीमा पानीको बहाब कुन तह सम्म पुग्दछ, नदीको पानीमा बालुवा कति मिसिएको हुन्छ र अचानक बाँध भत्कियो भने तल्लो भेगमा कत्रो बाढी आउँछ भन्ने पूर्वानुमान लगाउन अति उपयोगी हेकरास सफ्टवेयर विश्वका धेरै देशहरूमा प्रयोग भइरहेका छन्।

विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ)को आह्वानमा हरेक वर्ष मे महिनाको तेस्रो हप्तामा उक्त संगठनका सबै सदस्य राष्ट्रहरूमा विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइने सप्ताह यस वर्ष नेपालमा चैत्र ४ देखि १० गते सम्म परेको छ। नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार जल तथा उर्जा आयोगको सचिवालयको नेतृत्वमा नेपालका सरकारी तथा गै.स.स.हरूले उक्त सप्ताहमा विभिन्न कार्यक्रमहरू आयोजना गर्ने गर्दछन्।

यसै अन्तर्गत जल तथा मौसमविद् समाज-नेपाल (सोहम)ले एभरेष्ट इन्जिनियरिङ कलेज, अन्तरराष्ट्रिय जल व्यवस्थापन संस्थान (इमि), द स्मल अर्थ नेपाल (सेन) र युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेजको सहकार्यमा जल विज्ञान विधामा संलग्न नेपाली प्राविधिकहरूलाई बाढी भविष्यवाणी गर्न र जल उत्पन्न विपद्हरूबाट समुदायलाई जोगाउन काम लाग्ने हेकरास सफ्टवेयरको तालिम कार्यक्रम सञ्चालन गरेको हो। दुई दिने तालिमबाट सरकारी, गै.स.स., निजी कम्पनी तथा विश्वविद्यालयका विद्यार्थी गरी अट्ठाइस जना प्रशिक्षार्थीहरूले लाभान्वित भएका छन्।

कार्यक्रमको समापन सत्रमा जल तथा मौसमविद् समाज-नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठ, सोहि समाजका सदस्य सचिव डा. खडानन्द दुलाल तथा द स्मल अर्थ नेपालका अध्यक्ष डा. धिरज प्रधानाङ्गले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

जल तथा मौसमविद् समाज-नेपालका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठले हेकरास सफ्टवेयर तालिमबाट प्राप्त ज्ञान तथा सीपको प्रयोगबाट नदीनाला सम्बन्धी अनुसन्धान गर्न र विश्वका कुनै पनि देशमा सेवा प्रदान गर्ने सक्षम हुने जानकारी दिए। प्रशिक्षार्थीहरूले आफुले आर्जन गरेको सीप नेपालकै आयोजना विकासमा प्रयोग गरी यो देशमै अवसर भएको पुष्टि गर्न एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकृत अरुण कुमार भण्डारीले सुझाब दिए। डा. प्रधानाङ्गले हेकरास मार्फत गर्न सकिने अनुसन्धान बारे तथा डा. दुलालले हेकरासको व्यवहारिक प्रयोग बारे प्रकाश पारेका थिए।

आफुले आर्जन गरेको सीप पुल डिजाइन गर्न, खानेपानीको आयोजनाको मुयाङ्कन गर्न र आफ्नो शोध र थेसिस लेखनमा प्रयोग गर्न सकिने अभिव्यक्ति प्रशिक्षार्थीहरूले दिएका थिए। कार्यक्रमका मूल स्रोत व्यक्ति इन्जिनियर विनय शाक्यले तालिमबाट प्राप्त सीपको निरन्तर प्रयोगबाट प्रशिक्षार्थीहरूको क्षमता थप अभिवृद्धि हुने जनाए।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *