समाजसेवी मोतिशान्ति शाक्यलाई बोधिचर्या सम्मान
फाल्गुन २१, २०८१, बुधबार | विहान १०:३४ बजे | 375
ललितपुर । २५ वर्षदेखि समाजसेवामा निरन्तर क्रियाशील मोतिशान्ति शाक्यलाई यस वर्षको बोधिचर्या सम्मान प्रदान गरेको छ ।
१ सय १५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोधिचर्या नेपालले ललितपुरमा एक समारोहको आयोजना गरी सो सम्मान प्रदान गरिएको हो।सो अवसरमा समाजसेवी शाक्यलाई बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले फुलमाला लगाई, ललितपुर महानगरपालिका– २१ का वडाअध्यक्ष रविन्द्र महर्जनले दोसल्ला ओढाई र वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री हरिप्रभा श्रेष्ठ खड्गीले सम्मानपत्र प्रदान गर्नुभयो ।
विशेषतः अपांगता भएका बालबालिकाको स्वास्थ्य सेवा, शिक्षा, ज्येष्ठ नागरिक सम्बन्धी कार्य र निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा पु¥याउनुभएको योगदानलाई सराहना गरी सम्मानपत्र प्रदान गरिएको बोधिचर्या नेपालका अध्यक्ष अनिल शाक्यले जानकारी दिनुभयो। आर्थिकस्तर कमजोर भएका वर्ग स्वास्थ्य सेवामा पहुँच पु¥याउन शाक्यको भूमिका उल्लेखनीय रहेको पनि सम्मानपत्रमा भनिएको छ । यस अघि सो सम्मान संस्कृति शिरोमणी हरिराम जोशी, नेवाः आईडल– ११४३ का विजेता मञ्जित शाक्यलाई प्रदान गरिएको थियो ।
फरक क्षमता भएकाहरुलाई समाज र परिवारले हेर्ने दृष्टि परिर्वतनको लागि शाक्यले उनीहरुको दिगो विकास र विस्तार र अपांग मैत्री भवनको अवधारणालाई व्यावहारिक कार्यान्वयन गर्दै आउनुभएको छ । विभिन्न सामाजिक संघसस्थामा क्रियाशील शाक्यकै अगुवाईमा हालसम्म ५१ भन्दा बढी निशुल्क स्वास्थ्य शिविर, कमजोर आर्थिकस्तर भएका १ हजार ३ सय भन्दा बढी जेष्ठ नागरिक, अपांगता भएका व्यक्तिको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गराइसक्नुभएको छ । यसका साथै भूकम्प लडेका सम्पदाको पुनःनिर्माणमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।
‘ सम्मानले समाजसेवामा लाग्न अझै जाँगर थपिदिएको छ । सामाजिक रुपमा कमजोर वर्गको सेवाको गर्न मनोबल बढाईदिनुभएको छ । समाजसेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछु । ’ सम्मान ग्रहण गर्र्दै शाक्यले भन्नुभयो ‘ समाजसेवामा लाग्ने भाव मात्र भएर पुग्दैन । पैसा पनि चाहिन्छ । तर, पैसा पनि सबथोक होइन।दुवैको सम्श्रिणसंगै आफ्नो कार्यमा पारदर्शी हुनुपर्दछ । त्यसमा समाजको अपनत्व पनि चाहिन्छ ।अनि मात्र आत्मविश्वासपूर्वक समाजसेवामा लाग्न सकिन्छ ।’