कला संस्कृति भजन महागुठी भक्तपुरका संस्थापक अध्यक्ष डा. के.सी. माथि केही चर्चा
फाल्गुन १९, २०८१, सोमबार | विहान १०:३१ बजे | 205
पुण्यराम सुवाल
उपाध्यक्ष ः कला, संस्कृति भजन महागुठी
भक्तपुर
९८४९१७९९४३
सर्वप्रथम डा.इन्दुल के.सी. यही २०८१ साल मङ्गसिर १० गते ८४ वर्षमा प्रवेश हुनु भएकोमा हार्दिक मङ्गलमय, दिर्घायु, सुस्वास्थ्यको शुभकामना छ । साथै वहाँमा भइरहेको लेखन, गायन, सामाजिक सेवा, उदारता आदिमा अझ प्रभावकारी उर्जा रहोस् भनी कामना व्यक्त गर्दछु । हामी दुवै विभिन्न विषयका सहयात्री हौं ।
वहाँको सामिप्यमा रही २५ औं वर्ष विभिन्न क्षेत्र र विषयमा सेवा गर्ने मौका पाइरहेको छ । शैक्षिक क्षेत्र, गायन, सामाजिक सेवा, पत्रपत्रिका, विभिन्न रंगमञ्चमा बसि सेवा गर्ने, ज्ञान प्राप्त गर्ने शुवर्ण मौका पाइरहेको छु । भक्तपुरमा चलिरहेको कला संस्कृति, भजन आदिको जीवन्त राख्ने उद्देश्य लिई वहाँले २०६० साल देखिनै भक्तपुरका पुजनिय ब्यक्तिहरुसंग मिली सर सल्लाह गरी वहाँकै संयोजकत्वमा भजन महा गुठीको एक तदर्थ समिति बनाई सेवा गर्दै आउनु भएको र मिति २०६५ साल कार्तिक २५ गते महाकाली स्थान भक्तपुरमा प्रथम साधाराण सभा गरीयो । उक्त साधारण सभाको समुद्घाटन शताब्दी पुरुष, लोक संस्कृतिविद् एवं साहित्यकार स्व.सत्य मोहन जोशी ज्यूले गर्नुभएको थियो । सो साधारण सभाबाट अध्यक्षमा डा.इन्दुल के.सी., उपाध्यक्षमा स्व. जननी प्रसाद मूल र सचिवमा म पुण्यराम सुवाल सहित ११ जनाको कार्य समिति बनाई विधिवत रुपमा कला संस्कृति भजन महा गुठीको संस्थापक अध्यक्ष भई उहाँले २०६८ साल सम्म सेवा गर्दै आउनु भएको थियो । मैले २०६५ साल देखि २०७३ सालसम्म यस संस्थामा सचिवको रुपमा रही २०७३ साल पछि उपाध्यक्षमा रही सेवा गर्ने शुवर्ण मौका पाएको छु ।
अर्को पक्ष डा. इन्दुल के.सी. ज्यूले प्रकाशित गुर्न भएको लेखन तथा कृतिहरु ः भूइचालो (कविता संग्रह), इन्दुल के.सी. व्यक्ति एक दृष्टि अनेक, श्याम सुन्दर रास भजन माला, शब्द सागरका मोती (समिक्षा संग्रह), भक्तपुरमा प्रचलित २९ वटा भजन तथा ७ वटा ज्ञानमाला भजनको अध्ययन प्रतिवेदन एक अर्काको दृष्टि त्यस्तै सम्बन्धित कृति डा. इन्दुल के.सी. चौथो आयाम, अरुका आँखामा डा. इन्दुल के.सी. र दुई थुंगा फुल मैले अध्ययन गर्ने मौका पाएँ । मैले, ती कृतिहरुको अध्ययनबाट धेरै ज्ञान प्राप्त गर्ने मौका पाएँ । त्यसमध्ये एउटा महत्वपूर्ण काम के लाग्यो भने वहाँको विषयमा स्व. डा. सत्यमोहन जोशीज्यूबाट लिखित ‘दुई थुंगा फुल’ कवितालाई विश्वका विभिन्न ३० वटा भाषाहरुमा अनुवाद गरिएको एउटा कविता पुस्तक अध्ययनबाट मलाई अति खुसी लाग्यो । पुनः वहाँ ८४ वसन्त पार गर्नुभएको शुवर्ण अवसरमा हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।
पुण्यराम सुवाल
सुन्दर बस्ती–६, सु.न.पा., भक्तपुर
भू.पु. प्रधानाध्यापक सरस्वती विद्यागृह मा.वि.
कमलबिनायक – ९, भक्तपुर
साभार ः मिति २०८१÷११÷०७ गतेका दिन भजन–रचना तथा संगीतकला विषयमा भक्तपुर बाराही स्थानमा भएको विशेष गोष्ठीमा लेखक स्वयमले वाचन गर्नुभएको पत्र ।