विद्यार्थीहरूको गहना भनेकै अनुशासन
फाल्गुन १५, २०८१, बिहीबार | साँझ ०४:०२ बजे | 135
राजु तामाङ, शिक्षक
विद्यार्थी जीवन,विद्यार्थी र जीवन गरि दुई शब्द मिलेर बनेको हुन्छ। विद्यार्थी भनेको शैक्षिक संस्थाहरूमा गएर शिक्षा प्राप्त गर्ने व्यक्ति हो भने जीवन भनेको शिक्षा प्राप्त गर्न उसले खर्चेको निश्चित समय हो। यस अवस्थामा मानिसले आफ्नो जीवनलाई ज्ञान आर्जनमा समर्पित गरेको हुन्छ। विद्यार्थी जीवन उषाकाल एवं सुनौलो बिहानी हो। अहिलेको अवस्थामा भन्ने हो भने विद्यालय वा महाविद्यालयमा गई औपचारिक शिक्षा आर्जन गर्ने समय वा अवस्था भन्ने बुझिन्छ। विद्यार्थी जीवन कोमल हुन्छ। त्यसैले भनिन्छ -विद्यार्थी भनेको काँचो फलाम हो,त्यसैले त्यो फलामलाई जस्तो रुपमा ढाल्न चाह्यो त्यस्तै रूपमा ढाल्न सकिन्छ,र विद्यालय भनेको त्यही काँचो फलामलाई हानेर,गालेर,पगालेर समाजलाई समय र बदलिँदो परिस्थिति अनुरुपको आवश्यक र उपयुक्त हातहतियार उत्पादन गर्ने ठाउँ हो। यद्यपि फरक फरक ठाउँको फरक फरक परिवेश अनुसार त्यहाँको नीति,नियम र मर्यादाको पालना गर्दै अगाडि बढ्नु वा सोही अनुसारको आचरण प्रदर्शन गर्नु नै अनुशासन हो।
विद्यार्थी जीवनमा अनुशासनको धेरै महत्त्व हुन्छ। विद्यार्थीहरूको गहना भनेकै अनुशासन हो। अनुशासित विद्यार्थीले नै समाज तथा देशको शोभा बढाएको हुन्छ।
हरेक विद्यार्थीहरू परिवारको,समाजको र देशको ढुकढुकी हो,देशको मेरुदण्ड हो,परिवर्तनको हुतहुती हो,देशको भविष्यको कर्णधार हो र परिवर्तनको सम्भावित नेतृत्वकर्ता हो। अहिलेको कलिलो मनमस्तिष्क बोकेका विद्यार्थी भोलिको सम्भावित नेतृत्व परिवारको,समाजको,र देशको शिक्षक हो। त्यसैले परिवार,समाज र देशलाई नै भविष्यमा अनुशासित बनाई सभ्य र सुसंस्कृत बनाउनको लागि,निश्चित गन्तव्यमा डोहोर्याउनको लागी, उन्नति र प्रगतिको सुमार्गमा हिड्न र हिडाउनको लागि र हरेक संघर्षलाई सफलताको शिखरमा पुर्याउनको लागि विद्यार्थी आफैं अनुशासित बन्नुपर्छ र अनुशासित विद्यार्थी बन्न विद्यार्थी जीवनमा अनुशासनको महत्त्व हुन्छ। विद्यार्थी पनि सामाजिक प्राणी भएको हुनाले एउटा विद्यार्थीको व्यवहारले घरपरिवार,छरछिमेक र समाजलाई समेत प्रभाव पारिरहेको हुन्छ। अत:अनुशासित विद्यार्थीले नै जीवनको हरेक संघर्षको मोडमा सफलता हासिल गर्न सक्छ। जीवनमा सफलताको लागि अनुशासनको पालना गर्नु अत्यावश्यक हुन्छ। त्यसैले जीवन र अनुशासन बीच घनिष्ठ सम्बन्ध कायम गर्न सकेमा मात्र विद्यार्थीको भविष्य सुन्दर ,सफल र पूर्ण बन्दै जान सक्छ। तसर्थ अनुशासनले नै विद्यार्थीको सच्चा चारित्रिक गुणको निर्माण गर्छ। अनुशासनबिनाको विद्यार्थी लगामबिनाको घोडा जस्तै हुने गर्छ। अनुशासन र कर्तव्य एकाअर्कामा परिपुरक हुन्छ।
यसको सम्बन्ध ढुङ्गा र माटोको झैँ हुन्छ। जसरी एउटा घरलाई सिमेन्ट प्लास्टर गरेर घरको भित्ताहरूमा अनेक डिजाइनको फुलबुट्टाहरू भरेर सुहाउँदो रङ्गरोगनहरू गरेपछि सुन्दर र मनमोहक हुन्छ,त्यसरी नै शिष्ट र सभ्य व्यवहार,नम्र बोली,आदरभाव र सहयोगी भावनाले युक्त अनुशासनले विद्यार्थीलाई आकर्षक र सुन्दर बनाउछ। अनुशासित विद्यार्थी मिहिनेती,लगनशील,सहयोगी,सदाचारी र परिश्रमी बन्नुपर्छ। त्यस्तो विद्यार्थी विशेषगरी समाजको एक उदाहरणीय व्यक्तित्त्वको रूपमा अरुको निम्ति प्रेरणाको श्रोत बन्न पुग्छ। अनुशासनहीन मान्छे र विद्यार्थी भने अरूको नजरमा नअट्ने,अरुले मन नपराउने र अरुको नजरमा घृणा र खिसीको पात्र बन्न पुग्छ। हरेक विद्यार्थीलाई असल,ईमानदार,सत्यनिष्ठ,देशभक्त,कर्मभक्त र कर्तव्यनिष्ठ बनाउन अनुशासनले मलजल गरिरहेको हुन्छ।
अनुशासन मान्छेलाई मानव बन्न सिकाउने तत्त्व वा मानवीय गुणको रूपमा लिइन्छ। आफ्नो लक्ष्य र जीवनमा गतिशील भैरहनको लागि अनुशासनको महत्त्व हुन्छ। यसले मान्छेलाई गन्तव्यमा अगाडि बढ्न आत्मविश्वास जगाउँछ,प्रेरणा र उत्साह प्रदान गर्छ। त्यसैले अनुशासन र कर्तव्य भनेको विद्यार्थीको अत्यावश्यक सच्चा गुण हो। कर्तव्यले व्यक्ति स्वयं,परिवार,समाज र देशप्रतिको अभिभारा ईमानदारीपूर्वक निर्वाह गर्न सिकाउँछ भने सादा जीवन उच्च विचार,उच्च आदरभाव,आदर्श व्यक्ति र व्यक्तित्त्व निर्माण गर्न अनुशासनले सिकाउँछ। अर्थात अनुशासनबिना विद्यार्थीले कक्षा उतिर्ण गर्नु भनेको उसले कागजी कोरा प्रमाणपत्र मात्रै लिनु हो। अहिलेको एक्काइसौं शताब्दीमा ज्ञान र विज्ञानको क्षेत्र ज्यादै फराकिलो हुँदै गएको हुनाले विद्यार्थीले जीवनमा समयको सही सदुपयोग अनुशासित भएर गर्नुपर्छ।
अनुशासित विद्यार्थी र मान्छेको जीवन जहिल्यै सुन्दर,उज्ज्वल र शान्तिमय हुन्छ भने अनुशासनहीन विद्यार्थी र मान्छेको भविष्य अराजक र उच्छृङ्खल हुन्छ। जसरी देश चलाउने नेताहरूमा अनुशासन र आत्मानुशासन भएन भने देश राम्रोसँग शान्तिपूर्वक चलाउन सक्दैन र देशलाई असल मार्गतिर अथवा उन्नति र प्रगतिको गन्तव्यतिर डोहोर्याउनुको सट्टा दिशाहीन,अराजक र उच्छृङ्खल बनाइराख्छ। अर्थात राजनीति गर्ने नेता अनुशासित नभए राजनीतिक कार्यकर्ताहरू पनि अनुशासित बन्न र बनाउन सक्दैनन्। यसरी राजनीतिक दलको नीति तथा कार्यक्रमहरूलाई जनताको बीचमा पुर्याउनुपर्ने नेता र जनताबीचको सेतुको रूपमा काम गर्ने कार्यकर्ताहरू अनुशासित नभए उनीहरूले जनतालाई अनुशासन र आत्मानुशासनको पाठ सिकाउन सक्दैनन्।परिणाम स्वरूप जनतालाई पनि अनुशासनहीन,अराजक र उच्छृङ्खल बनाउँछ र जनतामाथी उच्छृङ्खल ढंगले शासन गरिरहन्छ। ती नेता कार्यकर्ताहरूले समाज र सिङ्गो देशलाई अनुशासित,सभ्य र सुसंस्कृत पनि बनाउन सक्दैनन्। त्यसरी नै परिवारको नेतृत्व गर्ने मुख्यमुख्य अभिभावकहरूसङ्ग पनि अनुशासन र आत्मानुशासन भएन भने अनुशासनको पाठ सिकाउँदै सिङ्गो परिवारलाई नै अनुशासित बनाउन नसकेमा नयाँ पुस्ताको सन्तानहरूलाई एकताबद्ध गर्दै परिवारको भविष्यको सामूहिक र व्यक्तिगत उदेश्य पूरा गर्नको निम्ति असल गोरेटो पहिल्याउन सक्दैन र परिवारलाई उन्नति र प्रगतिको सदमार्गमा हिडाउन सक्दैन। फलस्वरूप परिवारमा अराजक र उच्छृङ्खता उत्पन्न भई पारस्परिक सम्मान,आदरभाव र आपसी मेलमिलापमा खलल पुग्न गई परिवारसमेत फुट्न सक्छ। त्यसैले परिवारलाई सभ्य र सुसंस्कृत बनाउन, संघर्षहरूमा सफलता प्राप्त गर्नको लागि पनि अभिभावकहरू असल,ईमानदार बनेर आफ्नो नयाँ पिढीको पुस्ताहरूलाई अनुशासनको महत्त्व सिकाएर अनुशासित बनाउनु जरुरी हुन्छ। त्यस्तै विद्यालयमा पनि अध्ययन गर्ने विद्यार्थी र अध्यापन गर्ने शिक्षक,शिक्षिकाहरूमा अनुशासन र आत्मानुशासन भएन भने विद्यालयमा अराजकता र उच्छृङ्खलता उत्पन्न हुन्छ। शिक्षक र विद्यार्थीहरूमा पारस्परिक प्रेम
आदरभाव,पारस्परिक सम्मान,सहयोगी भावना,आपसी सदभाव,सभ्य र शिष्ट आचरण तथा नम्र बोली वचन, असल बानीबेहोरा जस्ता अनुशासन नभएको खण्डमा अथवा यी यावत कुराहरू सिक्न र सिकाउन नसकेको खण्डमा विद्यालयको शान,स्वाभिमान र पहिचान समेत समाजमा गिर्ने र बदनाम हुने गर्छ। विद्यालय कागजी कोरा प्रमाणपत्र मात्र बिक्रीवितरण गर्ने थलोको रूपमा रुपान्तरण हुन्छ। त्यसैले विद्यालयमा विद्यार्थीहरूलाई शिक्षकहरू आफै अनुशासित भएर किताबी ज्ञानसङ्ग सङ्गै अनुशासन र आत्मानुशासनको ज्ञानहरू दिई सभ्य र सुसंस्कृत बनाउनु जरुरी हुन्छ। विद्यार्थी जीवन भनेको मानव जीवनको आधारशिला पनि हो। त्यसैले मानव जीवनलाई सभ्य,सुसंस्कृत बनाई जीवनमा हुने हरेक संघर्षको मोडमा सफलता प्राप्त गर्नको लागि विद्यार्थी जीवनदेखि नै मानिसहरू अनुशासित र आत्मानुशासित बनेर अगाडि बढ्नुपर्छ।