यस्तो छ नेमकिपा महाधिवेशनको तयारी (महाधिवेशनको इतिहाससमेत)


फाल्गुन १४, २०८१, बुधबार | दिउँसो ०१:३२ बजे | 35


यस्तो छ नेमकिपा महाधिवेशनको तयारी (महाधिवेशनको इतिहाससमेत)

भक्तपुर । यतिखेर नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  महाधिवेशनको चटारोमा परेको छ । पार्टीको आठौं महाधिवेशन यही फागुन १६, १७, १८ र १९ गते भक्तपुरमा हुँंदैछ । 
पार्टीको महाधिवेशनको उदघाटन कार्यक्रम फागुन १६ गते सल्लाघारी भक्तपुरस्थित एक सय आठ रोपनीको खुल्ला क्षेत्रमा दिउँंसो १ बजे हुने कार्यक्रम तालिका छ । यसअघि विभिन्न ठाउँंहरुबाट जुलुश निकालेर उदघाटनस्थल सल्लाघारी पुग्नेछ । काठमाडौंको कोटेश्वर, भक्तपुरको लान्चाफल्चा कमलविनायक, मध्यपुर थिमिको बोडे, सूर्यविनायकको सूर्यविनायक वस स्टप, ताथली लगायतका ठाउँंहरुमा विहान १० बजे भेला भई जुलुश गरेर कार्यक्रम उदघाटनस्थल सल्लाघारीमा दिउँंसो १ बजे पुग्ने तालिका सार्वजनिक गरिएको छ । 
पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद् प्रेम सुवालले महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाए । महाधिवेशनका लागि काठमाडौं, भक्तपुर, ललितपुरसहित सातै प्रदेशका विभिन्न जिल्लाहरुबाट जनताको सहभागिता हुने उनले जनाए । 
‘देश र जनताको निःस्वार्थरुपमा सेवा गरौं । 
समाजवादी आचरणलाई व्यवहारमा लागु गरौं । 
संसारका सवै क्रान्तिकारीहरुबाट सिकौं । 
नेपाल मजदुर किसान पार्टीको आठौ महाधिवेशन सफल पारौं । 
नाराका साथ महाअधिवेशन हुन लागेको हो । 
पार्टी केन्द्रिय सदस्य सुनिल प्रजापतिले महाधिवेशन भव्य रुपमा सम्पन्न हुने बताए । यसका लागि आवश्यक तयारी महिनौंदेखि चल्दै आएको उनले जनाए ।
अध्यक्ष नारायणमान विजुक्छें रोहितको नेतृत्वमा विक्रम संवत् २०३१ साल माघ १० गते नेपाल मजदुर किसान पार्टीको स्थापना भएको हो । पार्टीको पहिलो महाधिवेशन २०४७ सालमा रुपन्देही जिल्लाको भैरहवामा भएको थियो ।  
पार्टीको सातौ महाधिवेशनसम्ममा पार्टी संस्थापक अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)लाई नै सर्वसम्मत अध्यक्ष चुन्दै आएको छ । यसअघिको सातौ महाधविशेनले बिजुक्छेको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो, जसमा २३ केन्द्रीय र २ जना बैकल्पिक केन्द्रीय सदस्य रहेका थिए । सातौ महाधिवेशनबाट निर्वाचित अन्य सदस्यहरुमा कार्यसमितिमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहनप्रसाद प्रजापति, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही रहेका थिए । त्यसैगरी सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह पनि सदस्यमा निर्वाचित भएका थिए । बैकल्पिक केन्द्रीय सदस्यमा कृष्णबहादुर तामाङ र मुक्ति यादव निर्वाचित भएका थिए । निर्वाचित कार्यसमितिबाट प्रेम सुवाललाई सचिव र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षको जिम्मेबारी दिइएको थियो । बाँंकी सवै केन्द्रिय सदस्य रहेका थिए । 
१९९६ मा भक्तपुरमा जन्मिएका बिजुक्छे ८५ बर्षका भए । २०३१ सालमा स्थापना भएको पार्टीमा लगातार अध्यक्ष चुनिदै आएका उनी आठौं महाधिवेशनबाट पनि अध्यक्षमा नै चुनिने हुन् कि त्यो भने हेर्न बाँंकी नै छ ।
महाधिवेशनको इतिहास 
नेमकिपाको पार्टी सम्मेलन र महाधिवेशनको इतिहास
स्थापना २०३१ माघ १० (२३ जनवरी, १९७५)
१) प्रथम सम्मेलन २०४७ पौष २८,२९ र ३० भैरहवा
२) दोश्रो सम्मेलन (जरुरी) २०५१ असोज ३ र ४ भक्तपुर
३) तेश्रो सम्मेलन २०५५ माघ १२,१४ र १५ भक्तपुर
४) चौथो महाधिवशेन २०६० भदौ ११, १२ र १३ भक्तपुर
५) पाँचौ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौं
६) छैटौं महाधिवेशन २०७० चैत २१,२२,२३ र २४ काठमाडौं
७) सातौ महाधिवेशन २०७६ असोज ३,४ र ५ भक्तपुर
८) आठौं महाधिवेशन २०८१ फागुन १६, १७, १८ र १९ ।
 

Comments