महाकविको समालोचना विमोचित
पुष ९, २०७७, बिहीबार | विहान ०२:२८ बजे | 20
नेपालभाषाका महाकवि गिरिजा प्रसाद जोशीद्धारा लिखित गिरिजाप्रसादया समालोचना नामक कृति सार्वजनिक गरिएको छ । स्व. महाकवि जोशीको ८२ औं जन्मजयन्तीको अवसरमा आयोजित विशेष समारोहमा प्राज्ञसभा सदस्य तथा साहित्यकार धु्रव मधिकर्मीले सो कृतिको विमोचन गर्नुभयो ।
कृतिको विमोचन गर्दै साहित्यकार मधिकर्मीले नेपालभाषा साहित्यको विकासको लागि गिरिजाप्रसादले विविध विधामा कलम चलाएर महत्वपूर्ण योगदान गरेको बताउँदै त्यस्ता उल्लेखनीय स्रष्टालाई निरन्तर स्मरण गर्दै तिनका लेखनका बारेमा चर्चापरिचर्चा गरिरहनुपर्ने बताउनुभयो ।
भाषासेवी राजदास श्रेष्ठले साहित्यकार जोशी बहुमुखी प्रतिभाका धनी भएकाले साहित्यका अलावा नृत्य गायन र संगीतको विकासमा पनि पुर्याएको योगदानलाई बिर्सन मिल्दैन भन्नुभयो ।
कुतः पिकाक र सक्व कृषि फर्मको संयुक्त आयोजनामा साँखुमा भएको सो कार्यक्रममा प्रकाशकका तर्फबाट साहित्यकार विमल ताम्राकारले महाकवि गिरिजाप्रसाद तथा उनका बारेमा लेखिएका कृतिहरु क्रमशः प्रकाशित गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा स्रष्टाहरु नरेशबीर शाक्य, सुरेन्द्रलाल भुजू , नारद बज्राचार्य, ज्ञानीराजा मानन्धरले मन्तब्य राख्नुभएको थियो भने कविहरु धर्मराज राजकर्णिकार, रामेश श्रेष्ठ, प्रकाशमान सक्व र लक्ष्मीप्रसाद शाहीलगायतले पनि कविता तथा गायन प्रस्तुत गर्नुभएको थियो ।
गिरिजाप्रसादया समालोचना पुस्तकमा कथा, कविता र उपन्यास आदि विविध विधामाथि लेखिएका बीस वटा समीक्षात्मक लेख समावेश छन् ।