दुई थुँगा फूलमा मेरो दृष्टि


फाल्गुन १२, २०८१, सोमबार | विहान ०९:०१ बजे | 120


दुई थुँगा फूलमा मेरो दृष्टि

प्रकाशप्रसाद उपाध्याय,
लेखक तथा वरिष्ठ सञ्चारकर्मी
पृष्ठभूमि
श्रद्धा, सम्मान एवम् प्रेमलाई अभिव्यक्त गर्नको निम्ति उपहारको वस्तुको रूपमा प्रयोगदेखि विभिन्न प्रकारका सामाजिक, राजनीतिक एवम् धार्मिक अनुष्ठानस्थललाई अलौकिक सुन्दरता प्रदान गर्नको निम्ति सजावट गर्ने र वरिपरिको वातावरणमा सुवास छर्ने रङमय माध्यम हो – पूmल । यो पुष्पगुच्छको रूपमा होस् कि थुँगाको रूपमा थैलाभित्र खुल्ला रहोस्, पूmलका थुँगाले सर्वत्र सबै किसिमको परिवेशमा हर्षमय वातावरणको सिर्जना गरिरहेको हुन्छ । यसो हुँदा फूल कसैको निमित्त पूजा–अर्चनाको, कसैको निमित्त श्रृँगार वा उपहारको वस्तु हुन्छ त साहित्यकार, कवि एवम् लेखकको निम्ति आफ्नो रचनालाई विषयको रूप दिने सामाग्री पनि हुने गर्दछ । हिन्दी फिलिम जगतका एकजना गीतकारले पूmलको तुलना मुटु अर्थात दिलसित गर्दै ‘पूmल तुम्हें भेजा है खत में पूmल नही मेरा दिल है’ भनी रचेका छन् भने अर्काले भनेका छन् – ‘बहारों फूल बर्साओ मेरा महबूब आया है........।’ यस किसिमले हिन्दीका विभिन्न गीतकार एवम्  कविहरूले पूmलको महिमागान गर्दै अनेक किसिमका गीत र कविता लेखेका छन् । हाम्रा कवि एवम् गीतकारहरूले पनि फूललाई आफ्नो रचनाको विषय बनाएका छन् । जस्तै, पूmलको आँखामा फूलै संसार....।  यसै सन्दर्भमा लोकसंस्कृतिविद् डा. सत्यमोहन जोशीले आफ्ना निकटतम मित्र डा. इन्दुल केसीको नाममा ‘दुई थुँगा पूmल’ शीर्षकले रच्नुभएको एउटा कविता अहिले यस लेखको विषय भएको छ । डा. इन्दुल केसीले पनि आफ्ना मित्रको यस भावनाको कदर गर्दै उपहारस्वरूप पाइएको यस रचनालाई अमर बनाउन पुस्तिकाको आकार प्रदान गर्ने काम मात्र गर्नुभएन, त्यसलाई विश्वका ३० वटा विभिन्न भाषामा अनुवादसमेत गराउनुभएको छ ।
कविता
१४ हरफको यस कविताले दुई साहित्यकारहरूमाझ रहेको निकटता र घनिष्ठताको बोध त गराउँछ नै, डा. केसीको व्यक्तित्वका विभिन्न आयामलाई कवितामार्फत प्रकाशमा ल्याउने शताब्दीपुरुष डा. जोशीको सिर्जनात्मक क्षमतालाई पनि प्रष्ट गर्दछ ।
दुई थुगा पूmल
विविध भाषाका ज्ञाता
मातृभाषाका पुजारी
विविध उपचारका ज्ञाता
विकल्पका प्रयोगवादी
सच्चा समाजसेवी
बहुमुखी प्रतिभाका धनी
डाक्टर इन्दुल केसी ।१।

भजन–कीर्तनका गायक
कविता आदिका लेखक
कलाकृति र संस्कृतिका अनन्य भक्त साधक
सरल स्वभावका मृदुभाषी
क्रियाकर्ममा परोपकारी
व्यक्ति एक प्रतिभा अनेक
डाक्टर इन्दुल केसी ।२।
०००

डा. इन्दुल केसीको साहित्यिक पाइला
८४ वर्षीय डा. इन्दुल केसी भक्तपुरे साहित्यिक समाजका एक यस्ता नक्षत्र हुन् जुन रात परेपछि बेलाबखत एकान्तकुनामा अस्ताउँछ र झिसमिसे उज्यालोमा उदाउँदै चराहरूलाई चिरबिराउन प्रेरित गर्दछ र सूर्यका न्यानो किरणका साथ कहिले उ भक्तपुर पुग्दछ त त्यहाँबाट विचरण गर्दै बनेपा पुग्दछ त कहिले त्यहाँबाट चलायमान हुँदै प्रज्ञा प्रतिष्ठान, कमलादि, काठमाडौंको सभाकक्षमा आसीन भई कविता वाचन गरिरहेको हुन्छ । कहिले कुनै साहित्यिक मञ्चमा सम्मानित पनि भइरहेको त कतै कुनै मन्दिरमा हारर्मोनियम बजाउँदै भजन गाइरहेको पाइन्छ ।
पत्नीवियोगको वेदना सहेर पनि अथक रूपमा अविरल साहित्य यात्रा गर्दै हिँडने इन्दुल दिवंगत पत्नीप्रति ‘स्मृति पुष्प’ अर्पित गर्न चुक्दैनन् र ‘स्मृति पुष्पका पराग’ छर्दै पत्नीप्रतिको प्रेमलाई साहित्यिक एवम् काव्यात्मक रूप दिई अमरत्व प्रदान गर्न पनि अग्रसर रहेको देखिन्छन् । (उल्लिखित दुबै पुष्प पुस्तिकाको आकारमा उपलब्ध रहेर ओइलाउन पाएका छैनन् ।)
अन्तमा
डा. सत्यमोहन जोशीद्वारा डा. इन्दुल केसीका विषयमा रचिएको र देशभित्र एवम् देशबाहिरका  लगायत ३० वटा विभिन्न भाषामा अनुवाद गरिएको यो कृति (‘दुई थुँगा पूmल’) नेपालको साहित्य जगतमा एउटा अनौठो प्रयोगको रूपमा पाठकमाझ आएको छ भनेमा अत्युक्ति नहोला । शब्दयात्रा प्रकाशन, बनेपाद्वारा प्रकाशित यस कृतिद्वारा डा. इन्दुल के. सी. ले शताब्दीपुरुष सत्यमोहन जोशीप्रति आभार व्यक्त गर्नाको साथै मित्रताको बन्धनलाई पनि अन्तर्राष्ट्रिय स्वरूप दिने जुन जमर्को गरेका छन् त्यो प्रशंसायोग्य त छ नै,  स्वयम् डा. के. सी. पनि स्वदेश र विदेशका विभिन्न देशहरूका भाषा–भाषीमाझ परिचित हुन पुगेका छन् ।
        यस शानदार सोच र प्रकाशनको जमर्कोका लागि प्रकाशक शब्दयात्रा प्रकाशन डा. इन्दुल केसीलाई सुगन्धित दुई थुँगा फुल पाठकहरुको बीचमा प्रस्तुत गरिएकोले सम्बन्धित सबै महानुभावहरुलाई हार्दिक बधाई छ । 
 

Comments